२०८३ असोज ९ गते शुक्रवार / Sep 25 , 2026 , Friday
२०८३ असोज ९ गते शुक्रवार

चाप बढेपछि त्रिभुवन राजपथमा सवारी सञ्चालनको समय निर्धारण

Nada
२०८३ असोज ९ गते १३:३७
Shares
चाप बढेपछि त्रिभुवन राजपथमा सवारी सञ्चालनको समय निर्धारण

काठमाडौँ : भारी वर्षाका कारण अन्य सडक खण्डमा आवागमन प्रभावित भएपछि त्रिभुवन राजपथमा सवारीको चाप बढेको छ । सवारी व्यवस्थापनलाई सहज बनाउन जिल्ला प्रशासन कार्यालय मकवानपुरले उक्त सडक खण्डमा सवारी प्रवेशको समय निर्धारण गरेको छ ।

ncell

प्रशासनले शुक्रवार जारी गरेको सूचना अनुसार हेटौँडाबाट काठमाडौँ आउने सवारी साधनले शुक्रवार चौकी टोलाबाट बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म प्रवेश गरिसक्नुपर्ने छ ।

शनिवार भने चौकी टोलाबाट बिहान ४ बजेदेखि ८ बजेसम्म तथा राति ११ बजेदेखि बिहान २ बजेसम्म प्रवेश गरिसक्नुपर्ने व्यवस्था गरिएको छ ।

त्यसैगरी काठमाडौँबाट हेटौँडातर्फ जाने सवारीका लागि शुक्रवार साँझ ७ बजेदेखि राति ११ बजेसम्म सिमभञ्ज्याङ चौकीबाट प्रवेश गरिसक्नुपर्नेछ। शनिवार दिउँसो १ बजेदेखि साँझ ५ बजेसम्म र आइतबार बिहान ७ बजेदेखि ११ बजेसम्म उक्त चौकीबाट प्रवेश गरिसक्नुपर्ने प्रशासनले जनाएको छ ।

मालवाहक सवारी साधनतर्फ इन्धन तथा एलपी ग्यास बोकेका बाहेक १० चक्के लामा तथा १५ टनभन्दा बढी भार भएका सवारीलाई अर्को व्यवस्था नभएसम्म त्रिभुवन राजपथमा पूर्ण रूपमा रोक लगाइएको छ ।

यात्रुवाहक सवारी साधनको हकमा भने अधिकतम ११ मिटर लम्बाइसम्मका सवारीले मात्र उक्त राजपथ प्रयोग गर्न पाउने व्यवस्था गरिएको छ ।

भारी वर्षाका कारण सडकको अवस्था र सवारी चापलाई ध्यानमा राखेर आवागमन व्यवस्थापन गर्न समय निर्धारण गरिएको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ ।

ताजा खबर

सम्बन्धित खबर