२०८३ असोज ९ गते शुक्रवार / Sep 25 , 2026 , Friday
२०८३ असोज ९ गते शुक्रवार

सप्तकोशीमा पानीको बहाव बढेसँगै ३१ ढोका खोलिए

Nada
२०८३ असोज ९ गते १६:४२
Shares
सप्तकोशीमा पानीको बहाव बढेसँगै ३१ ढोका खोलिए

सुनसरी : बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण सप्तकोशी नदीमा जलसतह बढेपछि कोशी ब्यारेजका ३१ वटा ढोका खोलिएका छन् । आज बिहान १० बजे गरिएको जलसतह मापनअनुसार कोशी ब्यारेजमा प्रतिसेकेन्ड एक लाख ९८ हजार २२० क्युसेक पानीको बहाव हुँदा २५ वटा ढोका खोलिएका थिए । 

ncell

दिउँसो १ बजे पानीको बहाव प्रतिसेकेन्ड दुई लाख २९ हजार ९६० क्युसेक पुगेपछि ३० वटा ढोका खोलिएकामा दिउँसो २ बजे पानीको बहाव दुई लाख ४० हजार ५५५ क्युसेक पुगेपछि ३१ वटा ढोका खोलिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चन्द्रबहादुर खड्काले जानकारी दिए ।

उनका अनुसार कोशी ब्यारेजमा पानीको बहाव एक लाख ५० हजार क्युसेक नाघेपछि सर्वसाधारणलाई सचेत गराउन जोखिमको संकेतस्वरूप पश्चिमतर्फ रातो बत्ती बाल्ने गरिन्छ । जलसतह निरन्तर बढिरहेकाले सप्तकोशी आसपासका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन र जोखिमपूर्ण क्षेत्रमा नजान आग्रह गरिएको सूचना अधिकारी खड्काले बताए ।

त्यस्तै, तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सुरक्षित स्थानमा रहन तथा कोशी नदीमा माछा मार्ने र दाउरा संकलन नगर्न जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ । वर्षा हुने क्रम जारी रहेकाले नदीमा पानीको बहाव निरन्तर बढिरहेको सूचना अधिकारी खड्काले बताए । कोशी ब्यारेजमा ५२ वटा मूल ढोका र चारवटा नहर गरी जम्मा ५६ वटा ढोका छन् ।

ताजा खबर

सम्बन्धित खबर