
काठमाडौं : बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको प्रभावले देशका अधिकांश भूभागमा वर्षा भइरहेको छ । काठमाडौं उपत्यकासहित देशका अधिकांश भूभागमा बिहीबारदेखि भइरहेको अविरल वर्षाका कारण जनजीवन प्रभावित भएको छ ।
उपत्यकाका मुख्य नदी तथा खोलाहरूमा पानीको सतह तीव्र गतिमा बढ्दै गएको छ भने प्रमुख स्थानहरूमा सतर्कता र खतराको सीमा पार भइसकेको जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । पछिल्ला दुई दिनदेखि विभिन्न स्थानमा लगातार वर्षा भइरहेको र कतिपय क्षेत्रमा भारीदेखि धेरै भारी वर्षा भएकाले बाढी तथा पहिरोको जोखिम बढेको छ ।
देशभरका स्थानीय तहहरूले बुधबारदेखि विद्यालय बन्द गरेका छन् । बाढी–पहिरोको क्षतिलाई कम गर्न अत्यावश्यकबाहेकका सवारी आवत–जावतमा रोक लगाइएको छ भने प्रहरीले नदी किनारमा रेकी गर्दै सर्तकर्ताका लागि सूचना प्रवाह गर्दै आएका छन् ।
वर्षाका कारण नारायणी नदीको बाढी पसेर सुस्ताका ७८ घर डुबानमा परेका छन् । स्थानीय रवीन्द्र जयसवालका अनुसार शुक्रबार साँझ ५ बजेतिर नारायणीको बाढी पसेर त्यहाँको थारुटोलाका सबै घर डुबेका हुन् । गत वर्ष नारायणीमा गरिएको तटबन्धनभन्दा पूर्वतर्फबाट नारायणी नदी थारुटोला गाउँमा पसेको हो । बाढी गाउँमा पसेपछि स्थानीय, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली उद्धारमा खटिएका छन् । सुस्तामा एक दशक अघि गैरसरकारी संस्थाले बनाएको आवास घरहरु डुबानमा परेका परिवारलाई सार्ने काम सुरु गरिएको छ ।
जलमापन केन्द्रका अनुसार यहाँ शुक्रबार साँझ ५ बजे नारायणी नदीमा पानीको सतह ५ दशमलव ७८ मिटरमाथिसम्म पुगेको छ । ७ मिटरभन्दा माथि पानीको सतह पुगे चेतावनी तह पार गरेको भन्ने संकेत गर्दछ । डुबानमा परेको परिवारलाई होल्डिङ सेन्टरमा सारिएको छ । सशस्त्र प्रहरी सीमा सुरक्षा बल सुस्ताका अनुसार २४ घर परिवारलाई बढकी टोलामा रहेको होल्डिङ सेन्टरमा सारिएको छ ।
गुल्मीको कालिगण्डकी गाउँपालिकाको पातिखोलामा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । त्यस्तै, वर्षाका कारण बागलुङ हुँदै बगेर आउने बडिगाड खोलामा पानीको सहत बढेको छ । त्यस्तै, पनौती नगरपालिका–८ बन्जारा गाउँमा दुई कच्ची घर भत्किएका छन् । उता, कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–३ पटेरा खल्लामा बाढीको जोखिममा रहेका १४ परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । जनप्रतिनिधि र सुरक्षाकर्मीको सहयोगमा उनीहरूसँगै खाद्यान्न, लुगा–कपडालगायत सामग्री सुरक्षित स्थानमा सारिएको दोधारा चाँदनी–३ का वडाध्यक्ष हरिसिंह धनाडीले जानकारी दिए ।
आइतबारसम्म देशभर वर्षा हुने, गण्डकी र लुम्बिनीका केही स्थानमा अति भारी वर्षा तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ । यसले पहिरो, आकस्मिक बाढी, डुबान र यातायातमा अवरोधको जोखिम बढाएको छ । छत्तीसगढ आसपास सक्रिय प्रणाली उत्तर–उत्तर–पश्चिमतर्फ सर्दै क्रमशः कमजोर हुने क्रममा छ । यसको प्रभाव आगामी दुई–तीन दिन रहने र त्यसपछि नेपालमा वर्षा क्रमशः घट्दै जाने अनुमान गरिएको छ ।
नेपाल मौसम विज्ञान विभागका मौसमविद् मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्याललका अनुसार पछिल्लो २४ घण्टामा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानमा भारी तथा केही स्थानमा भारी वर्षा भएको छ । हाल न्यूनचापीय प्रणाली भारतको छत्तीसगढ र आसपासको क्षेत्रमा अवस्थित रहेको र क्रमशः नेपालतर्फ सर्दै जाने र त्यसको प्रभाव पश्चिमी भूभागतर्फ सर्दै जानेछ । शुक्रबार र शनिबार विशेषगरी बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा वर्षाको गतिविधि बढी हुने देखिएको छ, पूर्वी क्षेत्रमा भने क्रमशः वर्षा घट्दै जाने र मौसममा सुधार आउने सम्भावना रहेको उनले बताए ।
शनिबारसम्म न्यूनचापीय प्रणालीको प्रभाव पश्चिमतर्फ सर्दै जाने र लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका क्षेत्रमा वर्षाको गतिविधि बढ्न सक्ने पूर्वानुमान रहेको उनले बताए । असोज ११ गते आइतबार पूर्वी क्षेत्रमा मौसममा सुधार आउने देखिए पनि पश्चिमी क्षेत्रमा प्रणालीको प्रभाव कायम रहनेछ । असोज १२ गतेदेखि देशभर मौसम क्रमशः सुधार हुने तथा असोज १३ गतेदेखि वर्षाको प्रभाव अझ कम हुने सम्भावना रहेको विभागको पूर्वानुमान छ । मौसम प्रणाली निरन्तर परिवर्तन हुनसक्ने भएकाले विभागले यसको निगरानी गरिरहेको र आवश्यकताअनुसार पूर्वानुमान तथा चेतावनी अद्यावधिक गर्दै जाने अर्यालको भनाइ छ । विपद् व्यवस्थापन विज्ञहरूले पहाडी भेगमा पहिरो र उपत्यका तथा तराईका होचा भू–भागमा आकस्मिक बाढी आउन सक्ने चेतावनी दिँदै यात्रा गर्दा विशेष सावधानी अपनाउन र आपत्कालीन सम्पर्क नम्बरहरू साथमा राख्न सुझाव दिएका छन् ।
सुदूरपश्चिममा लामो दूरीका बस सेवा बन्द
सुदूरपश्चिमका विभिन्न पहाडी जिल्लाबाट धनगढी आउने तथा धनगढी हुँदै अन्यत्र जाने लामो दूरीका सार्वजनिक बस सेवा प्रभावित भएका छन् । वर्षा, बाढी तथा पहिरोको जोखिमका कारण यातायात व्यवसायीले लामो दूरीका बस सञ्चालनमा रोक लगाएपछि यात्रु समस्यामा परेका छन् । शुक्रबारदेखि आइतबारसम्मका लागि विभिन्न यातायात समितिले लामो दूरीका बस सञ्चालन नगर्ने निर्णय गरेका हुन् । सुदूरपश्चिमका पहाडी क्षेत्रबाट काठमाडौं, पोखरा लगायत पूर्वतर्फ जाने लामो दूरीका बससमेत तत्काल सञ्चालन नगर्ने निर्णय गरिएको छ । लामो दूरीका बस सेवा बन्द भएपछि यात्रु छोटो दूरीमा सञ्चालन हुने सवारीसाधनमार्फत गन्तव्यतर्फ जानुपर्ने बाध्यतामा छन् । कतिपय रुटमा छोटो दूरीका सवारीसाधनसमेत पर्याप्त नहुँदा यात्रुले थप सास्ती खेप्नुपरेको बताएका छन् ।
कोशीमा ‘रेड अलर्ट’, ब्यारेजका ३१ ढोका खोलियो
कोशी ब्यारेजमा पानीको बहाब बढेसँगै ३१ वटा ढोका खोलिएको छ । अहिले ब्यारेज ‘रेड अलर्ट’को अवस्थामा रहेको प्रमुख जिल्ला अधिकारी (सिडिओ) ईश्वरीप्रसाद अर्यालले जानकारी दिए । उनका अनुसार, अहिले कोशी ब्यारेजमा २ लाख ४० हजार क्युसेक बाढी मापन भएको छ । यद्यपि अघिल्लो वर्ष कोशीमा ५ लाख क्युसेकमाथि बाढी मापन भएको थियो । कोशी ब्यारेजमा अहिले रेड अलर्टको अवस्था छ । अघिल्ला वर्षहरूमा ५ लाख क्युसेकसम्म बाढी मापन भएको थियो । बाढीको मापन बढ्यो भने आवश्यकताअनुसार निर्णय भने अर्यालले बताए । मौसम विज्ञान विभागले सप्तकोशीमा बाढी बढ्दो क्रममा रहेकाले तल्लो तटीय तथा डुबान भइरहने क्षेत्रहरूमा पर्सिसम्म उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ ।
नारायणगढ–मुग्लिन सडक र पृथ्वी राजमार्ग पूर्ण अवरुद्ध
अविरल वर्षाका कारण नारायणगढ–मुग्लिन सडक र पृथ्वी राजमार्गअन्तर्गत चितवन तथा धादिङका विभिन्न स्थानमा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगरका प्रमुख प्रहरी उपरीक्षक डिल्लीनारायण पाण्डेका अनुसार राजमार्गका विभिन्न स्थानमा लगातार साना–ठुला पहिरो खसिरहेकाले तत्काल सडक सञ्चालनमा ल्याउन सकिने अवस्था छैन । निरन्तर वर्षा भइरहेका कारण पहिरो झर्ने र ढुंगा खस्नेक्रम जारी रहेको उनले बताए ।
यस्तै, इच्छाकामना गाउँपालिका–५ सिमलधारामा माथिबाट पहिरो खस्दा दुवैतर्फको सडक अवरुद्ध भएको छ । इच्छाकामना–५ कै तुइनखोला र नाम्सीखोलामा माथिबाट ढंगा तथा पहिरो खसेपछि सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत तुइनखोला, नाम्से पुल, १५ किलो र १७ किलोमा पनि सामान्य ढुंगामाटो खसेको प्रहरीले जनाएको छ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको रोराङ गाउँपालिका–७ कृष्णभिर र ज्यामिरेघाटमा माथिबाट पहिरो खस्दा दुवैतर्फको सडक अवरुद्ध भएको छ । गजुरी गाउँपालिका–६ जरेखेत र थाक्रे गाउँपालिका–२ कमेरेभिरमा पनि पहिरोका कारण सडक प्रभावित भएका छन् । कृष्णभिर, सिमलधारा, धारापानी, नाम्सीखोला र तुइनखोलामा सडकमा खसेको पहिरो हटाउने काम जारी छ । तर निरन्तर वर्षा भइरहेकाले धेरै स्थानमा पहिरो खस्ने क्रम नरोकिएकाले तत्काल सडक सञ्चालनमा आउने अवस्था नरहेको प्रहरी उपरीक्षक पाण्डेको भनाइ छ ।
बिहीबारदेखि जोखिम बढेपछि नारायणगढ–मुग्लिन सडक र पृथ्वी राजमार्गमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । कृष्णभिरमा सडकको नदीतर्फको ग्याबिन झरेको छ । नागढुंगा–मुग्लिङ सडक योजना (पश्चिम खण्ड) प्रमुख सजना अधिकारीका अनुसार सडकको माथिल्लो भागमा खोलिएको नयाँ ट्र्याक हाल सञ्चालनमा रहेको सडकमा भने कुनै समस्या देखिएको छैन । लगातार वर्षा भइरहेकाले थप क्षति हुनसक्ने अवस्थालाई मध्यनजर यातायात सञ्चालनमा रोक लगाएको उनले बताए ।
कृष्णभिर क्षेत्रमा साना–साना पहिरो खस्ने क्रम रहेकाले अहिले सडकमा यातायात सञ्चालन गर्न सकिने अवस्था नरहेको उनले बताए । वर्षाका कारण सडकको अवस्थाबारे प्राविधिक टोलीले निरन्तर अनुगमन गरिएको छ ।