
दोहा, कतार : बुद्धभूमि कपिलवस्तु सेवा समाज कतारको चौथो अधिवेशन सम्पन्न भएको छ । समाजका अध्यक्ष विवश बेल्वासेको अध्यक्षता तथा लुम्बिनी प्रदेश समन्वय परिषद् कतारका अध्यक्ष साजन लौडारीको प्रमुख आतिथ्यतामा अधिवेशन सम्पन्न भएको हो ।
अधिवेशनको बन्द सत्रबाट श्रीधर पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित भएको छ। अधिवेशनबाट निर्वाचित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा राजेन्द्र भुसाल, उपाध्यक्षमा यादव खनाल, महिला उपाध्यक्षमा सरस्वती भट्टराई, महासचिवमा सुधीर विक्रम जिसी, सचिवमा लक्ष्मण पोखरेल, सहसचिवमा देवबहादुर भर, कोषाध्यक्षमा परशुराम खनाल र सह कोषाध्यक्षमा रामचन्द्र पौडेल चयन भएका छन् ।

त्यस्तै सदस्यमा गीता खनाल, लक्ष्मी केसी, भेषराज बेल्वासे, विष्णु बेल्वासे, खुमानन्द बेल्वासे, छविलाल बेल्वासे, भीमार्जन पौडेल र प्रदीप भुसाल चयन भएका छन् । निर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यलाई कुलबहादुर केसीले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए ।
अधिवेशनमा समाजका सचिव सुधीर जिसीले ४२ महिनाको कार्य प्रगति विवरण प्रस्तुत गरेका थिए। कार्य प्रगति विवरणमा कतारमा रहेका कपिलवस्तुवासी तथा नेपाली समुदायले भोग्दै आएका विभिन्न समस्या समाधानमा समाजले गरेको पहल, कतारस्थित विभिन्न संघसंस्थासँगको सहकार्य तथा समन्वयका गतिविधि समेटिएका थिए ।
त्यस्तै कपिलवस्तु जिल्लामा शिक्षा तथा स्वास्थ्य क्षेत्रमा गरिएको सहयोग, विपद् तथा आपत्कालीन अवस्थामा प्रदान गरिएको सहयोगलगायत विभिन्न सामाजिक तथा मानवीय सेवाका गतिविधिको विवरणसमेत प्रस्तुत गरिएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि लौडारीले प्रवासमा रहेर पनि आफ्नो जन्मभूमि, समुदाय र समाजप्रतिको जिम्मेवारीलाई निरन्तरता दिनुपर्ने बताए । उनले कपिलवस्तुवासीबीचको एकता, सहकार्य र सामाजिक सेवामार्फत समुदायलाई थप मजबुत बनाउनुपर्नेमा जोड दिए ।
सामाजिक संस्था साझा उद्देश्यका लागि काम गर्ने माध्यम भएकाले व्यक्तिगत स्वार्थभन्दा संस्थाको हितलाई प्राथमिकता दिनुपर्ने बताउँदै लौडारीले प्रवासमा रहेका नेपालीले एक अर्काको सुख दुःखमा साथ दिँदै सामाजिक उत्तरदायित्वलाई निरन्तरता दिनुपर्ने धारणा राखे ।
सभाध्यक्ष बेल्वासेले समाजले स्थापना कालदेखि नै सामाजिक एकता, आपसी सहयोग र सेवामूलक गतिविधिलाई प्राथमिकता दिँदै आएको बताए । उनले आगामी दिनमा पनि समुदायको हित र सामाजिक सेवाका गतिविधिलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्दै त्यसका लागि सबैको साथ, सहयोग र सहकार्य आवश्यक रहेको बताए ।

कार्यक्रममा समाजका वरिष्ठ उपाध्यक्ष तथा कार्यक्रम संयोजक राजेन्द्र भुसालले शुभकामना मन्तव्य राखेका थिए । उनले संस्थालाई थप व्यवस्थित र प्रभावकारी बनाउँदै सामाजिक सेवाका गतिविधिलाई विस्तार गर्नुपर्नेमा जोड दिए । कार्यक्रमको सहजीकरण महासचिव श्रीधर पौडेलले गरेका थिए । अधिवेशनमा कतारमा रहेका कपिलवस्तुवासी, समाजका पदाधिकारी, सदस्य तथा विभिन्न सङ्घसंस्थाका प्रतिनिधिको सहभागिता सहित शुभकामना मन्तव्य रहेको थियो ।
अधिवेशनको खुला सत्रमा विभिन्न कलाकारको साङ्गीतिक प्रस्तुति दिएका थिए । नगद पारिश्रमिक सहित कलाकार र पत्रकारलाई सम्मान गरिएको थियो । निवर्तमान कार्यसमिति, समाजका संस्थापक समिति, लुम्बिनी प्रदेशअन्तर्गतका सम्पूर्ण जिल्ला संस्था तथा कतारमा रहेका सातै प्रदेशका परिषद्लाई सम्मान गरिएको थियो ।