
काठमाडौं : रिडी राम्दी पाल्पाली समाज (रिरास)को १८औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
समाजका अध्यक्ष रामप्रसाद घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि तथा समाजका संस्थापक अध्यक्ष यज्ञप्रसाद बस्यालले पाल्पालीहरूबीच भ्रातृत्व र सद्भाव कायम गर्दै आपसी भाइचाराको प्रवर्द्धन तथा सामाजिक मूल्य–मान्यतामा आधारित समाज निर्माण गर्नुपर्नेमा जोड दिए ।
उनले काठमाडौंमा बसोबास गर्ने पाल्पालीहरूलाई समाजमा जोड्दै आफ्नो आम्दानीको १० प्रतिशत रकम सामाजिक कार्यमा छुट्याउन सुझाव दिए । समाजले पाल्पा जिल्लाको आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक, शैक्षिक, कृषि, वातावरण तथा पर्यटनलगायतका क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको उनले बताए ।
सभामा अध्यक्ष घिमिरेले आगामी फागुनमा पाल्पामा स्वास्थ्य शिविर, शैक्षिक कार्यक्रमलगायत विविध गतिविधिसहितको महोत्सव आयोजना गर्ने लक्ष्य रहेको जानकारी दिए । त्यसका लागि साधारण सभापछि सम्भाव्यता अध्ययन तथा छलफल गरी कार्यक्रमको रूपरेखा तयार गरिने उनले बताए ।

सभामा कोषाध्यक्ष शिवप्रसाद गैरेले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । सो अवसरमा एसईईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरूलाई सम्मान गरिएको थियो। साथै समाजको आजीवन सदस्यता लिएका सदस्यहरूलाई आजीवन सदस्यताको प्रमाणपत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा सुरेन्द्र ढकाल प्रतिष्ठानका सुरेन्द्र ढकाल, सहज फाउन्डेसनका अध्यक्ष हरिकृष्ण बास्कोटा, समाजका सल्लाहकार रुद्रनाथ बस्याल तथा निवर्तमान अध्यक्ष सेमन्तमणि खरालले मन्तव्य राखेका थिए । समाजकी उपाध्यक्ष शर्मिला बस्यालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव पीताम्बर बस्यालले गरेका थिए ।
विभिन्न पेसा तथा रोजगारीका सिलसिलामा पाल्पाबाट काठमाडौं आएर बसोबास गर्ने पाल्पालीहरूबीच आपसी सहयोग र भ्रातृत्वको विकास गर्ने उद्देश्यले २०६५ सालमा स्थापना भएको रिडी राम्दी पाल्पाली समाजले काठमाडौं तथा पाल्पामा छात्रवृत्ति, स्वास्थ्य शिविर, समाज कल्याणका विभिन्न कार्यक्रम तथा जनचेतनामूलक गतिविधि सञ्चालन गर्दै आएको छ ।