
दोहा, कतार : कतारमा स्थापित सामाजिक संस्थामध्ये जेठो संस्थाका रूपमा रहेको खोटाङ सेवा समाज कतारको १३औं अधिवेशन सम्पन्न भएको छ । अधिवेशनको बन्द सत्रबाट दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२, खोटाङका पर्शुराम श्रेष्ठ ‘पवन’को अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो ।
नवनिर्वाचित कार्यसमितिको प्रथम उपाध्यक्षमा रविन शेर्पा, द्वितीय उपाध्यक्षमा चूडामणि पुरी, तृतीय उपाध्यक्षमा श्यामबाबु आचार्य, महासचिवमा महेश दाहाल, सचिवमा सरोज काजी पाण्डे र शक्तिराज दाहाल, कोषाध्यक्षमा विश्वकला राई तथा सह कोषाध्यक्षमा मनोज बस्नेत चयन भएका छन् । सदस्यहरूमा नवीन माझी, होमराज दाहाल, बुद्ध माझी, पवन पाण्डे, अपिस राई, पदम श्रेष्ठ ‘पर्शुराम’ र रमना क्षेत्री रहेका छन् । निर्वाचन समितिका संयोजक प्रेमप्रसाद भट्टराईले नवनिर्वाचित पदाधिकारीलाई पद तथा गोपनीयताको शपथ गराएका थिए ।

समाजका कार्यवाहक अध्यक्ष पर्शुराम श्रेष्ठको अध्यक्षता तथा कोशी प्रदेश समन्वय परिषद् कतारका कार्यवाहक अध्यक्ष भीम बराइलीको प्रमुख आतिथ्यमा भएको अधिवेशनको खुला सत्रमा कलाकार वर्षा लोप्चन तामाङ र सज्नु बलले स्वागत नृत्य प्रस्तुत गरेका थिए । कतारमा रहेका स्थानीय कलाकारले साङ्गीतिक प्रस्तुति दिएका थिए भने अनेसास कतारका अध्यक्ष दिलीप पराजुलीले गजल प्रस्तुत गरेका थिए । सो अवसरमा समाजका सल्लाहकार, पत्रकार तथा कलाकारलाई नगदसहित सम्मान गरिएको थियो ।

कार्यक्रममा कतारमा स्थापित विभिन्न नेपाली सङ्घसंस्थाका प्रमुख तथा प्रतिनिधि, समाजसेवी तथा विभिन्न जातजाति र समुदायका नेपालीको सहभागिता रहेको थियो । वक्ताहरूले प्रवासी खोटाङ्गेलीलाई एकताबद्ध गर्दै सामाजिक, मानवीय, शैक्षिक तथा स्वास्थ्य क्षेत्रमा समाजले पुर्याउँदै आएको योगदानको प्रशंसा गर्दै संस्थाको गौरवपूर्ण इतिहासलाई कायम राख्दै नयाँ पुस्तालाई समेटेर थप व्यवस्थित र प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।

प्रमुख अतिथि बराइलीले संस्था व्यक्तिभन्दा ठुलो हुने भएकाले नेतृत्वमा आउनेले सबैलाई समेट्दै जिम्मेवारी र जबाफदेहीताका साथ अघि बढ्नुपर्ने बताए । प्रवासमा रहेका नेपाली सङ्घसंस्थाबिच सहकार्य, एकता र पारस्परिक सम्मान आवश्यक रहेको उल्लेख गर्दै उनले नयाँ नेतृत्वलाई सफल कार्यकालको शुभकामना दिए । सभाध्यक्ष श्रेष्ठले आगामी दिनमा संस्थाका कमी–कमजोरी सुधार गर्दै सामाजिक सेवाका गतिविधिलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरे ।
अधिवेशनमा उपाध्यक्ष रविन शेर्पाले कतारमा सामाजिक संस्थाका रूपमा खोटाङ सेवा समाज स्थापना हुनुको पृष्ठभूमिबारे जानकारी गराएका थिए । महासचिव महेश दाहालले समाजले कार्यकालभर गरेका सामाजिक तथा मानवीय गतिविधि र प्रगतिसम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए ।