
क्वालालम्पुर, मलेसिया : मलेसियामा रहेका नेपाली नागरिकलाई अनलाइन क्यासिनो तथा विभिन्न प्रकारका अनलाइन जुवा खेलमा सहभागी नहुन क्वालालम्पुरस्थित नेपाली दूतावासले आग्रह गरेको छ ।
दूतावासले आफ्नो साप्ताहिक फेसबुक लाइभ कार्यक्रममार्फत मलेसियामा रहेका नेपालीलाई अनलाइन क्यासिनो तथा जुवाजन्य गतिविधिबारे सचेत गराउँदै त्यस्ता गतिविधिमा सहभागी नहुन अनुरोध गरेको हो ।
दूतावासका अनुसार मलेसियाको कानुनअनुसार अनुमति नलिइ सञ्चालन गरिने विभिन्न प्रकारका जुवा तथा अनलाइन सट्टेबाजीसम्बन्धी गतिविधि गैरकानुनी हुन सक्छन् । त्यसैले नेपाली नागरिकले अनलाइन क्यासिनो खेल्ने मात्र नभई त्यस्ता गतिविधि सञ्चालन, प्रचारप्रसार वा अरुलाई खेलाउने कार्यबाट समेत टाढा रहनुपर्ने दूतावासले जनाएको छ ।
मलेसियामा अवैध अनलाइन जुवा तथा सट्टेबाजी नियन्त्रणका लागि प्रहरीले नियमित रूपमा कारबाही गर्दै आएको छ ।
दूतावासले मलेसियामा रोजगारी तथा अन्य प्रयोजनका लागि रहेका नेपालीले स्थानीय कानुनको पूर्ण पालना गर्नुपर्नेमा जोड दिँदै क्षणिक मनोरञ्जन वा आर्थिक लाभको लोभमा कानुनी समस्या निम्त्याउने गतिविधिमा संलग्न नहुन आग्रह गरेको छ ।
दूतावासले नेपाली नागरिकलाई कुनै पनि अनलाइन क्यासिनो, जुवा वा सट्टेबाजीसम्बन्धी गतिविधिमा संलग्न हुनुअघि त्यसको कानुनी अवस्था बुझ्न र शंकास्पद गतिविधिबाट टाढा रहनसमेत अनुरोध गरेको छ ।