
काठमाडौं : पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको अवस्थाबारे अनुगमन गर्न काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय पुगेको राष्ट्रिय मानव अधिकार आयोगको टोली उनलाई भेट्न नपाएपछि फर्किएको छ ।
जबरालाई भेट्न र उनको अवस्थाबारे जानकारी लिन आयोगको टोली टेकु पुगेको थियो। तर प्रहरी कार्यालयले उनलाई भेट्न अनुमति नदिएपछि टोली त्यत्तिकै फर्किएको हो ।
जबरालाई शनिबार राति महाराजगञ्जस्थित निवासबाट प्रहरीले नियन्त्रणमा लिएर टेकुस्थित अपराध अनुसन्धान कार्यालयमा राखेको छ । प्रहरीले उनको सुरक्षामा खतरा रहेको कारण देखाउँदै कार्यालय ल्याइएको बताउँदै आए पनि सुरक्षा जोखिमको ठोस विवरण सार्वजनिक गरेको छैन ।
जबरालाई पक्राउ गर्दा पक्राउ पुर्जी नदिइएको भन्ने जानकारी पाएपछि आयोगको टोली उनको हिरासतसम्बन्धी अवस्थाको अनुगमन गर्न टेकु पुगेको थियो । तर प्रत्यक्ष भेट र अनुगमन गर्न नपाएपछि आयोगको टोली फर्किएको हो ।