
काठमाडौं : मेडिकल व्यवसायी तथा राजावादी अभियन्ता दुर्गा प्रसाईं पक्राउ परेका छन् । साइबर ब्यूरोबाट आएको प्रहरी टोलीले उनलाई भक्तपुरस्थित निवासबाटै नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद रचना खतिवडाविरुद्ध आपत्तिजनक अभिव्यक्ति दिएको आरोपमा प्रसाईंविरुद्ध साइबर ब्यूरोमा उजुरी परेको थियो ।
प्रसाईंले जेनजी आन्दोलनमा मृत्यु भएका रसिक खतिवडाकी आमा समेत रहेकी सांसद खतिवडालाई लक्षित गर्दै ‘छोराको लाशमा टेकेर संसद् बनेको’ आरोप लगाएका थिए । उक्त अभिव्यक्तिप्रति सांसद खतिवडाले संसद् बैठकमै आपत्ति जनाएकी थिइन् । त्यस क्रममा उनी भावुक हुँदै रोएकी थिइन् । उक्त अभिव्यक्तिविरुद्ध खतिवडाको परिवारबाट साइबर ब्यूरोमा उजुरी परेको बताइएको छ ।
प्रसाईंका छोरा निराजन प्रसाईंले साइबर ब्यूरोबाट पक्राउ पुर्जी लिएर आएको प्रहरी टोलीले आफ्ना बुबालाई नियन्त्रणमा लिएको पुष्टि गरेका छन् । प्रसाईंमाथि लागेको आरोपबारे प्रहरीले थप अनुसन्धान अघि बढाउने जनाएको छ ।