२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

थामे डुबानको सिकाइ

ADV
२०८१ भदौ २ गते ०६:५०
थामे डुबानको सिकाइ

हिमताल फुट्दा सोलुखुम्बु थामे बस्ती डुबाउनेगरी बाढी गएको अवलोकनका क्रममा देखिएको छ । शुक्रबार गएको बाढीले पर्यटकीय थामे गाउँ डुबाएको थियो । डुबानमा २० वटा घर, दुई वटा होस्टेल, विद्यालय भवन र एउटा क्लिनिक परेको थियो । खुम्बु पासाङ ल्हामू गाउँपालिका–५ मा पर्ने थामे खोला किनारमै अवस्थित थियो । खोला किनारमा पर्यटकीय वस्ती निर्माणको अर्थ यहाँ हत्तपत्त बाढीको जोखिम थिएन । त्यसैले पर्यटकीय शोभा सहित बस्ती निर्माण गरिएको सहज अनुमान लगाउन सकिन्छ । तर अकस्मात् बाढी आएपछि सम्बन्धित उच्च अधिकारीहरुले हवाई अवलोकन गरेका थिए । अवलोकनका क्रममा दुई हिमताल फुटेकाले बाढी आएको देखिएको छ । थामे भन्दा माथि पाँच वटा हिमताल छन् । 

ती मध्ये दुई वटा हिमताल फुटेका छन् । अधिकारीहरुका अनुसार बाँकी तीन हिमताल मध्ये एउटा सुरक्षित छ भने बाँकी दुई वटा पनि जोखिममा छन् । जलवायु परिवर्तनका कारण बढ्दो तापक्रमले हिमताल बिस्फोट भएको अनुमान गरिएको छ । अस्वभाविक तापक्रम बृद्धिले हिउँ पग्लिने क्रम बढेर जाँदा हिमतालहरु जोखिममा छन् । जोखिममै रहेका मध्येका हिमताल फुटेकाले थामे वस्ती डुब्यो । अर्थात् यस्तो खतराको पूर्वानुमान पहिल्यै गरिएको थियो । जलवायु परिवर्तनको असर देखिनेगरी भइरहेकाले हिमताल फुट्ने भय लामो समयदेखि भइरहेको छ । तर जोखिमको समाधानबारे आवश्यक ध्यान दिइएको पाइएन । यदि जोखिम न्यूनिकरणबारे पूर्वतयारी हुन्थ्यो भने थामेको क्षति यो तहमा हुने थिएन । 

तर हिमबाढीको संकट पर्खिएर बसेको पुष्टि शुक्रबारको घटनाबाट भयो । अरु बाढी, पहिलो, डुबान, आगलागी, भूकम्प जस्ता प्रकोपमा पनि बिपत्ति पर्खिएर बस्ने रोग हामीसँग छ । संकट परेका बेला पूर्वतयारीबारे छलफल गर्ने, तर प्रकोपबाट जोगिने पूर्वतयारी नगर्ने प्रवृत्तिबाट हामी सबै परिचित छौं । शुक्रबार थामे बस्ती डुबानमा पर्नु पनि त्यसै मध्येको एउटा घटना हो । तर बस्ती डुबानमा परिसकेपछि अब हामीसँग पुनस्र्थापनाको निम्ति जुट्नुको विकल्प छैन । बरु जोखिममा रहेका अरु हिमतालबाट पुग्नसक्ने क्षति न्यूनिकरणको तयारी गरिनुपर्छ । हिमताल मुनिका बस्ती र खोला किनारका संरचनाहरु जोगाउने तयारी गर्नुपर्छ । 

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise