आमचुनाव–२०७९ मा अप्रत्यासित मत पाएर वैकल्पिक शक्तिका रुपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) चौथो वर्ष प्रवेश गर्दैछ । तर यसअघिका वर्षहरू जस्तो उत्सवका साथ वार्षिकोत्सव नमनाउने निर्णय रास्वपाले गरेको छ । अघिल्ला वर्षहरुमा अरु राजनीतिक दलका शीर्ष नेताहरु, कुटनैतिक निकायका प्रतिनिधिहरु, राज्यका विशिष्ट भूमिकामा रहेका नेताहरु र पार्टी पंक्तिको उपस्थितिमा वार्षिकोत्सव मनाइएको थियो । तर यसपटक कसरी उत्सव मनाउने भन्नेमा अझै रास्वपा प्रष्ट छैन । संभवतः सामाजिक सञ्जालमा शुभकामना सन्देश दिएरै वार्षिकोत्सव सकिने सम्भावना रहेको नेताहरु बताउँछन् । प्रतिनिधि सभाकै चौथो ठूलो दल रास्वपामा यो तहको निराशा देखिनुमा सभापति रवी लामिछाने थुनामा रहनु कारण हो । गत वर्ष २ कात्तिकमा पक्राउ परेर ८४ दिनसम्म प्रहरी हिरासतमा बसेका लामिछाने गत २३ चैतदेखि फेरि भैरहवा कारागारमा छन् ।
सभापति रवीलाई सहकारी बचत रकम अपचलन मुद्दाको आरोप लागेको छ । गोरखा मिडिया नेटवर्क मार्फत् विभिन्न सहकारीको बचत रकम अपचन गरेको आरोपमा रवी थुनामा छन् । कास्की, काठमाडौं, रुपन्देही, चितवन र पर्सा जिल्ला अदालतले धरौटीमा छोड्ने आदेश दिएपनि उच्च अदालत तुलसीपुरले थुनामै राख्न आदेश दियो । उच्च अदालतको आदेशलाई सर्वोच्च अदालतले पनि सदर गरेको छ । त्यसैले रवी लामिछाने लामै समय थुनामा रहने लगभग पक्का छ । आफ्ना सभापतिलाई सहकारी ठगी आरोपमा थुनामा पठाइएकाले रास्वपा उत्सव मनाउने अवस्था देखिदैन । संसदमा समेत नाराबाजी र वेल घेराउ गरिरहेको रास्वपाले आफ्ना सभापति ठगी आरोपमा थुनामा पठाइनुलाई पनि राजनीतिक प्रतिशोध भनिरहेको छ ।
अहिले पनि थुनामा रहेका रवीबाटै रास्वपा चलिरहेकाले पनि वार्षिकोत्सव एकप्रकारले उत्सवहीन बनेको बुझ्न सकिन्छ । रास्वाको सभापति र संसदीय दलको नेता रवी लामिछाने नै हुन् । कार्यबाहक सभापति डीपी अर्याल र कार्यबाहक संसदीय दलको नेता विराजभक्त श्रेष्ठ छन् । कार्यबाहक महामन्त्री कविन्द्र बुर्लाकोटी र कार्यबाहक प्रवक्ता मनिष झा छन् । अर्थात् थुनामै रहेका रवी यो पार्टीका सर्वैसर्वा हुन् । जबकि रास्वपा सुशासन र न्यायको एजेण्डाबाट उदाएको शक्ति हो । तर अहिले आफ्नै सभापति जोगाउनमै यो पार्टीको सम्पूर्ण शक्ति खर्च भइरहेको छ । र यो पार्टीले जनताका आकांक्षा र सपना बिर्सिएको छ । यदि जनताको आकांक्षाबारे थोरै पनि ध्यान दिइएको हुन्थ्यो भने यो तहको एठेनमा रास्वपा हुने थिएन ।