२०८२ असार १५ गते आइतवार / Jun 29 , 2025 , Sunday
२०८२ असार १५ गते आइतवार
Ads

विद्याको अतिरिक्त सक्रियता

shivam cement
२०८२ असार १५ गते ०६:४५
विद्याको अतिरिक्त सक्रियता

पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेको सक्रिय राजनीतिमा फर्किएको घोषणा गरेकी छन् । तत्कालीन महासचिव मदन भण्डारीको जन्मजयन्तीको अवसरमा शनिबार राजधानीमा आयोजित एक कार्यक्रम मार्फत भण्डारीले एमालेको राजनीतिमा फर्किएको घोषणा गरेकी हुन् । एमालेमै रहेर पार्टीको राजनीतिक यात्रालाई निरन्तरता दिने उद्देश्यका साथ आफूले पार्टी सदस्यता नवीकरण गरेको जानकारी दिँदै यसलाई एउटा गर्वको रूपमा लिएको बताएकी छन् । प्रत्येक नेपाली नागरिकलाई राजनीति गर्ने स्वतन्त्रता छ । जसको प्रयोग गरेरै भण्डारी राजनीतिमा स्थापित नेतृ हुन् । भण्डारीले पहिलो महिला राष्ट्रपति बनेर इतिहास रचिन् । राष्ट्रप्रमुख जस्तो संवैधानिक पदमा रहेर दुई कार्यकाल काम गरिन् । 

भण्डारी राजनीतिमा फर्कने घोषणालाई लिएर समाज विभाजित छ । एकथरी मत छ– राजनीतिक पृष्ठभूमिबाटै राष्ट्रपति भएकी भण्डारीले राजनीतिक आस्था राख्नु नौलो कुरा भएन । अर्कोथरी मत छ– पार्टी नेतृत्व र देशकै कार्यकारी जिम्मेवारी लिने तयारी सहित भण्डारीले अगाडि बढ्ने संकेत गर्नु अतिरिक्त सक्रियता हो । विभाजित समाजलाई प्रष्ट सन्देश दिनेगरी भण्डारीले मुलुककै नेतृत्वका लागि आफू सक्षम रहेको भनेर समेत प्रष्ट्याउने प्रयास गरेकी छन् । नेपाली समाजको समस्या पहिचान गरेर सुधारको सुझाव दिनु प्रत्येक सचेत नागरिकको कर्तव्य हो । यो कर्तव्य निर्वाहको हदसम्म भण्डारीको सक्रियता स्वागतयोग्य छ । तर राष्ट्राध्यक्ष भइसकेको व्यक्ति जीत–हारको राजनीतिमा आउँदा भावी पुस्तामा सही सन्देश नरहन पनि सक्छ । 

नेपालले अवलम्बन गरेको जुन शासन पद्धति र अभ्यास छ, यसले पूर्व राष्ट्रप्रमुख हार–जीतको राजनीतिमा आउने परिकल्पना गर्दैन । किनभने त्यो पदमा पुगेको व्यक्तिले निष्पक्षतापूर्वक सोच्ने र पक्ष÷विपक्षमा आफूलाई समाजमा प्रस्तुत नगर्ने अपेक्षा गर्दछ । राष्ट्राध्यक्ष भइसकेको व्यक्ति जीत–हारको राजनीतिमा आउने कल्पना गरेको भए, फर्किदा सेवा सुविधादेखि अन्य प्रावधान के हुने भनेर संविधान र कानुनमा लेखिन्थ्यो, जो लेखिएको छैन । संसदीय व्यवस्था अवलम्बन गरेको मुलुकहरूमा पनि राष्ट्राध्यक्ष भइसकेको व्यक्ति पार्टी अध्यक्ष हुने राष्ट्रको कार्यकारी पदमा रहने अभ्यास र प्रचलन छैन । 

संवैधानिक सर्वोच्चतामा पुगिसकेको व्यक्तिले राष्ट्रिय दृष्टिकोण कायम गर्न भूमिका खेल्न सक्नुपर्छ । या त राजनीति गर्ने व्यक्ति राष्ट्रपति हुँदैनन् । यदि राष्ट्रपति हुन्छ भने उसले सम्मानको जिन्दगी रोज्नुपर्दछ । राष्ट्रिय विषयवस्तुमा राष्ट्रिय दृष्टिकोण कायम गर्न बोल्न सक्नुपर्दछ । राजनीति गर्नु हुँदैन भन्नुको तात्पर्य राष्ट्रिय विषयवस्तुमा योगदान गर्नु हुँदैन भनेको होइन । यसकारण एमालेको राजनीतिमै फर्किएको पूर्वराष्ट्रपति भण्डारीको घोषणा अतिरिक्त सक्रियता हो । यसबारे पुनर्विचार गर्नु स्वयम् भण्डारीको बाँकी जीवन र मुलुकका लागि सकारात्मक अर्थ राख्न सक्दछ । 

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise