दैलेखको भैरवी गाउँपालिका–१, जलजलेमा १ सय १२ अर्ब घनमिटर प्राकृतिक ग्यास पत्ता लागेको खबर राष्ट्रिय खुसीको विषय बनेको छ । खानी तथा भूगर्भ विभागका अनुसार चाइना जिओलोजिकल सर्भेले त्यहाँ ठूलो परिणाममा मिथेन ग्यास रहेको पत्ता लगाएको हो । प्रारम्भिक सर्वेले पत्ता लगाएको ग्यास नेपालले ५० वर्षसम्म उपभोग गर्न सकिने अनुमान समेत गरिएको छ । वर्षेनि ४० अर्ब बराबरको रसायनिक मल र ६० अर्व बढीको एलपी ग्यास खरीद गर्दै आएको नेपालको सन्दर्भमा यो खबर वास्तवमै यो राष्ट्रिय खुसीको विषय हो । आमरूपमै प्राकृतिक ग्यास पत्ता लाग्नुको खुसियाली मनाउने काम चलिरहेकै छ । प्रमुख तीन दलका शीर्ष नेताहरूले एकैठाउँ बसेरै चिनियाँ सर्वेले दिलाएको खुशी बाँडेका छन् ।
सँगै जस लिने होड पनि सुरु भएको छ । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ग्यास पत्ता लाग्नुलाई आफ्नो उपलब्धि जसरी प्रचार गरेका छन् । स्वयं प्रधानमन्त्री ओलीले नबोले पनि उनका सचिवालय र एमाले नेताहरुले ग्यास पत्ता लाग्नुको श्रेयमा दाबी गरेको देखिन्छ । एमालेसँगै नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका नेताहरुले पनि आफ्नो नेतृत्वको सरकारले पनि यसबारे काम गरेको भन्न थालेका छन् । २०७२ चैतमा चिनियाँ सरकारसँग अध्ययन सम्झौता भएको र २०८० वैशाखदेखि अनुसन्धान सुरू भएको थियो । यो अवधिमा यी तीन वटै पार्टी सरकारमा गएको छ, सरकारको नेतृत्व गरेका छन् ।
अर्थात् सर्वेको विस्तृत प्रतिवेदन नआउँदै दलहरुबीच जस लिने होड चलेको देखिन्छ । जबकि यो परियोजना जस लिने होडको विषय नभएर राष्ट्रिय प्राथमिकतामा पर्नुपर्छ । अनुसन्धानको अन्तिम प्रतिवेदन आउनै बाँकी छ । अन्तिम प्रतिवेदनपछि कुन प्रयोजनमा यो प्राकृतिक उपहारलाई अगाडि बढाउन सकिन्छ त्यसतर्फ ध्यान दिनुपर्छ । यो परियोजना स्वदेशी लगानीमै सम्भव हुन्छ भन्ने देखि विदेशी सहयोग चाहिन्छ जस्ता तर्क सुरु भइसकेका छन् । यसरी चलिरहेको छुताछुल्ल अनुमानलाई एकीकृत बनाउन जरुरी छ । फेरि पनि भनौं– यो राष्ट्रिय खुशीको कुरा त हुँदै हो, उत्तिकै ध्यान दिनुपर्ने विषय पनि हो । हामीले आफ्ना स्रोत साधनको सही उपयोग गर्न नसकेको उदाहरणबाट पनि सिक्नुपर्छ । ८३ हजार मेगावट भन्दा बढी जलविद्युतको सम्भावनालाई गर्वका साथ प्रस्तुत गरिदै आएपनि हामीले यसको समुचित उपयोग गर्न सकेका छैनौं । उल्टै भूराजनीति मिसिन पुग्दा जलविद्युतको क्षेत्र असाध्यै गिजोलिन पुगेको छ ।