आइतबारको बैठकमा प्रतिनिधि सभा सदस्य अमरेशकुमार सिंहले बोलेको एक अभिव्यक्ति संसदको अभिलेखबाट हटाइयो । सभामुख देवराज घिमिरेको आदेशमा अभिलेखबाट हटाइएको हो । स्वतन्त्र सांसद सिंहले बजेट विनियोजनको प्रवृत्तिप्रति असन्तुष्टि जनाएका थिए । हैसियत भएका ठूला नेताहरुको जिल्लामा बजेट थुप्रिने र अरु जिल्ला कम प्राथमिकतामा पर्ने गरेको सन्दर्भलाई व्यंग्यात्मक रुपमा सांसद सिंहले प्रस्तुत गरेका थिए । तर प्रतीकात्मक रुपमा प्रयोग गरेकै शब्दलाई सत्तारुढ एमालेका प्रमुख सचेतक महेश बर्तौलाले बुझ्न सकेनन् । उनले नियमापत्ति गरे । बर्तौलाको नियमापत्तिलाई सभामुख घिमिरेले तत्कालै सुनुवाई गर्दै अभिलेखबाट हटाउन आदेश दिए । सँगै सांसद सिंहलाई विषायन्तर नगरी बोल्न र त्यस्तो नबोल्ने भए पोडियम छोड्न रूलिङ नै गरे । सांसद सिंहले केहीबेर अडान लिए, तर उनको माइक काटियो ।
यस क्रममा केहीबेर सभामुख घिमिरे र सांसद सिंहबीच सवाल–जवाफ पनि चल्यो । तर व्यवस्थापिकाका नेता घिमिरे नै हुन्, उनले भनेजसरी नै बैठक अगाडि बढ्यो । संसदलाई अनुशासित, मर्यादित र विधि बमोजिम अगाडि बढाउन सभामुखले केही कडाइ गर्न आवश्यक छ । सांसदहरुलाई नियम सम्झाउनु जरुरी छ । तर सांसद सिंह सहितका स्वतन्त्र र साना दलहरुप्रति जस्तो व्यवहार सभामुख घिमिरेले गरिरहेका छन्, त्यसबारे स्वयंले अध्ययन गर्न जरुरी छ । तीन ठूला दलबीच सहमति जुटे, बाँकी समस्यालाई कुल्चेर अगाडि बढ्ने नीति सभामुख घिमिरेले लिएको देखिन्छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अवरोधप्रति बेपरवाह देखिनु सभामुख घिमिरेको गल्ती हो । रास्वपाका सांसदहरुको नाराबाजी चलिरहँदा पनि सांसद घिमिरेले घण्टौं बैठक चलाइरहेका छन् । नाराबाजी गर्ने सांसदहरु थकित हुने, आवाज सुक्ने हुँदा पनि त्यसतर्फ सभामुख घिमिरेको ध्यान गएको देखिदैन । जबकि यी विपक्षीहरुले आफ्नो दायित्व निरन्तर निर्वाह गरिरहेका छन् । संवैधानिक संकट आउँछ भन्ने बुझाइका साथ १५ जेठमा बजेट प्रस्तुत हुन दिइएको छ । अरु कामहरुमा पनि सहजीकरण गरिरहेकै देखिन्छ । तर सभामुख घिमिरेले भने विपक्षी सांसदहरुको आरोप जस्तो प्रधानमन्त्रीको इसारामा चलिरहेको बुझ्न सकिन्छ । प्रधानमन्त्री केपी ओलीले संसद् अवरोध नसुनी अगाडि बढाउन आफ्ना सांसदहरुलाई निर्देशन दिएका थिए । त्यसको पालना सभामुख घिमिरेबाट भएको आभास भइरहेको छ । त्यसैले सभामुख पदको गरिमा र लोकतान्त्रिक प्रणालीलाई जोगाउन पनि देवराज घिमिरेले आफ्ना शैलीमा पुनरावलोकन गरून् ।