पार्टी स्थापना दिवसको अवसर पारेर पूर्व गृहमन्त्री रवि लामिछानेको नाममा २० पृष्ठ लामो बक्तव्य जारी भयो । उनको सचिवालयबाट तयार बक्तव्यकै आधारमा रास्वपाले हस्ताक्षर अभियान थालेको छ । रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध साँधिएको हो भन्ने निष्कर्षमा सहमत हुनेहरुले यो अभियानमा हस्ताक्षर गर्न सक्नेछन् । रास्वपाले यो अभियान देशविदेशमा चलाउने तयारी गरेको छ । हस्ताक्षर संकलनको जनदबावको परिणाम के हुन्छ भन्ने भविष्यमा देखिएला । तर रवि लामिछानेको नाममा जारी बक्तव्यलाई विश्वास गर्ने हो भने राज्य संयन्त्र बेकामे बनिसकेको छ । राज्यका कुनैपनि संयन्त्रले ठीक ढंगले काम गर्न नसक्ने अवस्था छ । न्यायालय, व्यवस्थापिका, राजनीति, आमसञ्चार माध्यम, प्रहरी, संवैधानिक निकायहरु सबै बर्बाद बनिसकेको छ ।
न्यायालयले न्याय दिन नसक्ने, प्रहरीले अनुसन्धान र सुरक्षा दिन नसक्ने, मिडियाले सही सूचना नदिने, संविधानले भ्रष्ट राजनीतिलाई सहयोग गर्ने निष्कर्ष रवि लामिछानेले निकालेका छन् । आफूमाथि लागेको सहकारी ठगीको आरोप पनि राज्य संयन्त्र फेल हुनुकै प्रमाणका रुपमा रवि लामिछानेले प्रस्तुत गरेका छन् । त्यसैले संविधान पुनर्लेखनकै आवश्यकता परेकाले जनताको साथ चाहिने तर्क रवि लामिछानेले गरेका छन् । प्रदेश सभा खारेजी गर्नुपर्ने तर्क समेत गरिएको छ । उनले आफू जेलमै सड्न सक्ने अथवा बाँकी नेताहरुको जीवन जेलमा जाने विकल्पमा पनि सुनाएका छन् । राज्यका सम्पूर्ण संयन्त्रबारे यस्तो निष्कर्ष निकाल्ने रवि लामिछाने पहिलो व्यक्ति चाहिँ होइनन् । राप्रपाले सधैं यो व्यवस्था रहेसम्म संकट कायमै रहने बताइरहेकै छन् ।
रास्वपा र राप्रपाले मात्रै होइन, गत वर्ष विपक्षी भूमिकामा हुँदा नेकपा एमाले नेताहरुले पनि मुलुक बर्बादीको दिशामा रहेका निष्कर्ष निकाल्थे । प्रधानमन्त्री हुनुअघि एमाले अध्यक्ष केपी श्र्मा ओलीले अझैपनि २० प्रतिशत नेपाली निरपेक्ष गरिबीको रेखामुनि रहेको दुःख पोख्थे । राज्य संयन्त्रप्रति असहमति जनाएरै माओवादीले दश वर्ष सशस्त्र विद्रोह गर्यो । उस्तै समस्यामा मधेशवादीले आन्दोलन गर्यो । कांग्रेस र एमाले पनि विद्रोहबाटै आएको थियो । अहिले पनि अप्ठ्यारोमा पर्नासाथ नेताहरुले मुलुक बर्बाद भइरहेको, राज्य संयन्त्रले काम नगरेको निष्कर्ष सुनाउने गरेका छन् । सहकारी ठगी मुद्दामा थुनिएपछि रवि लामिछानेले अहिलेको संविधान पुनर्लेखनकै आवश्यकता औल्याए । पक्कैपनि राज्य संयन्त्रले जनताका समस्या हल गर्न नसकेको हो भने सच्चिन आवश्यक छ । होइन, सत्ता आफ्नो प्रतिकूल बनेकाले मात्रै यस्तो भ्रम जनतामा छरिएको हो भने यस्तो प्रवृत्ति सच्चिनुपर्छ । किनकि राज्यप्रति निरन्तर घृणा फैलाउने कार्यले व्यवस्थित प्रणाली निर्माणलाई अवरोध गर्छ ।