२०८२ असार १७ गते मङ्गलवार / Jul 01 , 2025 , Tuesday
२०८२ असार १७ गते मङ्गलवार
Ads

माधव नेपालको अनुचित अडान

shivam cement
२०८२ असार १७ गते ०६:४०
माधव नेपालको अनुचित अडान

पूर्वमन्त्री रामकुमारी झाँक्रीको अभिव्यक्तिका कारण नेकपा एकीकृत समाजवादीभित्र अर्को हलचल आएको छ । युवा नेतृ झाँक्रीले शनिबार बुटवलमा आयोजित एक कार्यक्रममा पार्टी अध्यक्ष माधवकुमार नेपाल लक्षित अभिव्यक्ति दिएकी थिइन् । पतञ्जली जग्गा प्रकरणमा मुद्दा खेपिरहेका पूर्वप्रधानमन्त्री नेपालको नेतृत्वमा पार्टी चल्न नसक्ने झाँक्रीको निष्कर्ष थियो । पार्टीलाई पुनर्गठन गरेर जानुपर्ने तर्क गर्दा उनले चर्को उपमा दिन पुगेकी थिइन् । ‘सिनो बोकेर’ हिड्न नसकिने भन्दै झाँक्रीले अर्लि महाधिवेशनकै माग राखेकी छन् । झाँक्री उनै नेतृ हुन्, जसले नेकपा एमालेबाट अलग भएर एकीकृत समाजवादी बनाउन माधव नेपालको हात थामेकी थिइन् । निर्वाचन आयोग जाँदा माधव नेपालको हात तानेको तस्वीर त्यसबेला विम्व नै बन्न पुगेको थियो । 

अहिले उनै नेतृ झाँक्रीले माधव नेपाललाई हटाएर पार्टी पुनर्गठनको एजेण्डा अगाडि बढाइन् । र, उनको यिनै अभिव्यक्तिका कारण पार्टी–पंक्ति दुई खेमामा विभाजित हुन पुगेको छ । एउटै खेमाले झाँक्रीलाई साथ दिदै पार्टीलाई अगाडि बढाउन पुनर्गठनको तर्क गरिरहेका छन् भने अर्को खेमाले माधव नेपाललाई सिध्याउने षडयन्त्रविरुद्ध लड्नुपर्ने तर्क गरिरहेका छन् । माधव नेपाललाई पार्टी नेतृत्वबाट हटाउन पतञ्जली जग्गाको मुद्दा अगाडि बढाइएकाले उनीहरुको तर्क छ । रामकुमारी झाँक्रीले बोल्नु अगि एकीकृत समाजवादीको सिंगो पदाधिकारी पंक्ति माधव नेपालमाथि राजनीतिक प्रतिशोध साँधिएको निष्कर्षमा थियो । त्यसैले पार्टी अध्यक्ष र संसदीय दलको नेतामा माधव नेपाल कायमै रहने तर्क भइरहेको थियो । 

जबकि भ्रष्टाचार मुद्दा दर्ता हुनासाथ माधव नेपालको सांसद पद निलम्बन भइसकेको छ । तर निलम्बित सांसद नेपाल अहिले पनि संसदीय दलका नेता छन् । गत १३ असारमा विशेष अदालतले पनि माधव नेपालविरुद्धको मुद्दामा ३५ लाख धरौटी मागेको थियो भने तारेखमा छाड्न आदेश गरिएको थियो । तर एकीकृत समाजवादीका कतिपय नेताहरुले यो मुद्दामा कानुनी नभए राजनीतिक लडाइँ लड्ने समेत बताउन थालेका छन् । यस्तो बेलामा रामकुमारी झाँक्रीले चर्को शब्दमा पार्टी पुनर्गठनको एजेण्डा सार्वजनिक गरिन् । यसबारे राजनीतिक बहस अनेक दृष्टिकोणमा गर्न सकिएला । पुनर्गठनसम्म पार्टी पुग्लान् वा नपुग्लान् । तर चुनावी परिणाम पार्टीको पक्षमा नआएकै कारण २०६४ सालमा एमाले महासचिवबाट राजीनामा दिने माधव नेपालले यति गम्भीर मुद्दा चल्दा राजनीतिक भाषा बोलिरहनु राम्रो होइन । भोलि अदालतको फैसला आएपछि आवश्यक निर्णय लिनेगरी अहिलेलाई मार्ग प्रशस्त गर्दा माधव नेपालकै राजनीतिक व्यक्तित्व बढ्नेछ ।  

ADV

सम्बन्धित खबर

Advertise