-द्वारिका छेत्री, खर्साङ्ग, भारत
विषम स्थितिको
चुनौतीपूर्ण परिवेशमा
रुङरुङ्ती पाठशालाहरुका
बन्द कोठाहरुमा थुनिएका
नितान्त एक्ला टेबल चौकी अनि
ब्ल्याक बोर्ड र सेता चकहरु,
लाइब्रेरीमा बन्द अनेकौं पुस्तक
ल्याब कोठामा थुनिएका परिक्षण र परिणामहरु
पाठ्यपुस्तकभित्र बन्द ज्ञानहरु
एकनासे प्रतिक्षामा छ
कहिले बज्लान् चेतनाको टङ् टङ् घण्टी
र उघ्रेला शिक्षाका बन्द दरवाजाहरु ।
फेरि खचाखच उभिएला एक नाशे गोडाहरु
गाँसिएका हातहरु
जुधाएर कुमहरु ।
फेरि दगुर्लान खुशीहरु खेल मैदानमा
फेरि इत्रिएलान् वैंशहरु कक्षाभित्र
फेरि उत्पात मचाउनु आउला उपद्रौहरु ।
फेरि जिवान्त होलान् स्तब्ध ढुकढुकी पाठशालाका ।
चाउरमा फेरि खोलिने छ
बन्द टिफिनका ढकनीहरु
आपस्तमा साटिने छ फेरि
चाना मटर आलु रोटी र चटनीहरु ।
फेरि फर्केर आउने छ हराएका स्वाद गाँस गाँसमा
मस्त गफिने छ गफहरु चाउरका हरिया घाँसमा ।
गुञ्जिने छन् फेरि खित्काहरु परिवेशमा
एकै उमेरका झुण्ड झुण्ड
बेग्लाबेग्लै अनुहार तर एकैखाले ड्रेसमा ।
आउनेछन् गुरुजन् विद्यार्थी र अनुशासन फेरि पाठशाला
फेरि फर्किनेछ उस्तै सौहार्द र गरिमा
तबसम्म सुरक्षित बस्नु घरभित्र
स्वच्छ राख्नु हात मुख र बिचारलाई
स्वस्थ्य राख्नु तन मन र मस्तिष्क सबै ।।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies