२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

सोलुखुम्बुमा बाढीका कारण भएको क्षतिबारे सरकारको ध्यानाकर्षण

Nada
२०८१ भदौ २ गते १७:१७
Shares
सोलुखुम्बुमा बाढीका कारण भएको क्षतिबारे सरकारको ध्यानाकर्षण

काठमाडौँ : सांसद कृष्णबहादुर रोेकायाले सोलुखुम्बु जिल्लाको खुम्बु पासाङ लाह्मु गाउँपालिका–५ थामेमा बाढीपहिरोका कारण ठूलो जनधनको क्षति भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

ncell

राष्ट्रियसभाको आजको बैठकको आकस्मिक समयमा बोन्दै उनले भने, “साउन ३२ गते दिउँसो करिब ११ः३० बजे आएको बाढीका कारण खुम्बु पासाङ लाह्मु गाउँपालिकामा २०  घर, क्लिनिक, विद्यालयलगायत भवन बगाएको छ, थामेखोलाको उक्त बाढीमा एक जना बेपत्ता भएका छन् अन्य थुप्रै घर पुरिएका छन् ।” उनले बेपत्ता भएका व्यक्तिको खोज तथा उद्धार तत्काल गर्न सरकारसँग आग्रह गरे ।

“हिमताल फुटेको भनिएको छ, हिमताल कसरी फुटे भन्नेबारे अनुसन्धान हुन जरुरी छ । थप ताल फुट्न सक्ने जोखिमका बारेमा सरकार संवेदनशील हुनुपर्छ”, सांसद रोकायाले भने ।

सांसद रुक्मीणी कोइरालाले भनिन्, “कोशी प्रदेशको सोलुखुम्बुमा आएको आकस्मिक पहिरोले थुप्रै घरमा क्षति तथा केही व्यक्ति बेपत्ता भएका छन, दूधकोसीमा बाढी आएको छ, खतरा छ, हिमताल र बाढीको वास्तविक क्षतिको विवरण र आवश्यक क्षतिपूर्तिका लागि सरकारसँग माग गर्दछु, जलवायु परिवर्तनले भएको भन्ने छ यसमा ध्यानाकर्षण होस् ।” 

सांसद गोपीबहादुर सार्की अछामीले सोलुखुम्बुमा गएको बाढीले जनधनको क्षति भएको भन्दै सरकारको ध्यानाकर्षण गराए । “भौगोलिक हिसाबले कमजोर हिमाली क्षेत्रमा मनसुनी वर्षा निरन्तर आइरहेको र यस्ता ठाउँमा अत्यधिक क्षति हुने भएकाले अझै पनि अरू हिमताल जोखिममा छन भनिएको छ, पुनः निर्माण वा पुनःवासको व्यवस्था गर्नतर्फ सरकारले ध्यान दिनुपर्छ,” उनले भने ।

यसअघि आकस्मिक समयमा बोल्दै सांसद जयन्तीदेवी राईलगायत सांसदहरुले पनि खुम्बु पासाङ लाह्मु गाउँपालिका–५ थामेमा बसोबास गर्ने बासिन्दालाई अन्यत्र सार्नुपर्नेमा जोड दिएका थिए । 

ताजा खबर

सम्बन्धित खबर