२०८३ कार्तिक २२ गते आइतवार / Nov 08 , 2026 , Sunday
२०८३ कार्तिक २२ गते आइतवार

फूल, उज्यालो र सम्बन्धको पर्व

Nada
विश्वनाथ खरेल
२०८३ कार्तिक २२ गते ०६:०५
Shares
फूल, उज्यालो र सम्बन्धको पर्व

नेपाली संस्कृतिमा चाडपर्वको विशेष महत्व छ । यी पर्व मनोरञ्जन र खानपानका माध्यम मात्र होइनन्, हाम्रो सभ्यता, मूल्य–मान्यता, सामाजिक सद्भाव र प्रकृतिप्रतिको कृतज्ञताका प्रतीक पनि हुन् । यस्तै पर्वमध्ये तिहार अर्थात् यमपञ्चक नेपाली जनजीवनमा विशेष स्थान राख्छ । शरद ऋतुको रमणीय वातावरण, पाक्न लागेका धानका बाला र सफा आकाशको पृष्ठभूमिमा मनाइने यो पर्व नेपालमा मात्र होइन, विश्वभर छरिएका नेपालीले पनि उत्साहका साथ मनाउँछन् ।

पाँच दिनसम्म मनाइने तिहारलाई यमपञ्चक भनिन्छ । यसको सम्बन्ध मृत्युका देवता यमराजसँग जोडिएको छ । काग, कुकुर, गाई र गोरुजस्ता जीवजन्तुको पूजा गरिने यस पर्वले प्रकृति, मानिस र पशुपक्षीबीचको अन्योन्याश्रित सम्बन्धलाई उजागर गर्छ । घरआँगन सफा गर्ने, फूलले सजाउने र दीपावली गर्ने परम्पराले तिहारलाई फूल र बत्तीको पर्वका रूपमा पनि चिनाएको छ ।

पाँच दिनका पाँच विशेषता

यमपञ्चकको पहिलो दिन काग तिहार मनाइन्छ । हिन्दु धार्मिक मान्यताअनुसार कागलाई यमराजको सन्देशवाहक मानिन्छ । यस दिन कागका लागि घरको आँगन वा कौसीमा खानेकुरा राखिन्छ । कागलाई भोजन गराउँदा अशुभ समाचार सुन्नु नपरोस् भन्ने कामना गरिन्छ ।

दोस्रो दिन कुकुर तिहार मनाइन्छ । कुकुरलाई मानिसको बफादार साथी र सुरक्षाकर्मीका रूपमा सम्मान गरिन्छ । यस दिन कुकुरलाई माला र टीका लगाइदिएर मीठा खानेकुरा खुवाइन्छ । यस परम्पराले मानिस र पशुबीचको प्रेम, विश्वास र सहअस्तित्वको सन्देश दिन्छ ।

तेस्रो दिन गाई तिहार र लक्ष्मी पूजा मनाइन्छ । बिहान गाईलाई नुहाइदिएर माला लगाउने र मीठो घाँस तथा अन्न खुवाउने चलन छ । हिन्दु धर्ममा गाईलाई पवित्र र सम्मानित जनावर मानिन्छ । साँझ धनकी देवी लक्ष्मीको पूजा गरिन्छ । घरको मूल ढोकादेखि पूजाकोठासम्म लक्ष्मीका पाइला बनाइन्छन् । माटाका दियो, मैनबत्ती र विद्युतीय बत्ती बालेर घर उज्यालो पारिन्छ । यस दिन धन, शान्ति र समृद्धिको कामना गरिन्छ ।

चौथो दिन गोवद्र्धन पूजा र म्हः पूजा गरिन्छ । भगवान् श्रीकृष्णले गोवद्र्धन पर्वत उठाएर गोकुलवासीलाई इन्द्रको प्रकोपबाट जोगाएको पौराणिक कथासँग गोवद्र्धन पूजाको सम्बन्ध छ । यस दिन गाईको गोबरबाट गोवद्र्धन पर्वतको प्रतीक बनाएर पूजा गरिन्छ । कृषि कर्ममा सहयोग गर्ने गोरुको पनि पूजा गरिन्छ । नेवार समुदायमा यसै दिन शरीर अर्थात् आत्माको पूजा गर्ने म्हः पूजा मनाइन्छ । यसले व्यक्तिको अस्तित्व, स्वास्थ्य र दीर्घायुको महत्व दर्शाउँछ ।

पाँचौँ दिन भाइटीका मनाइन्छ । दिदीबहिनीले दाजुभाइको दीर्घायु, सुस्वास्थ्य र प्रगतिको कामना गर्दै सप्तरङ्गी टीका लगाइदिन्छन् । मखमली र सयपत्रीका माला पहि¥याउँछन् । पौराणिक कथाअनुसार यमराज र उनकी बहिनी यमुनाबीचको स्नेह तथा भेटघाटसँग भाइटीकाको परम्परा जोडिएको छ । यस दिन दाजुभाइले पनि दिदीबहिनीलाई उपहार र दक्षिणा दिएर आपसी सम्बन्धलाई अझ प्रगाढ बनाउँछन् ।

फूलको सौन्दर्य र सन्देश

तिहारलाई फूलको पर्व पनि भनिन्छ । यस समयमा सयपत्री, मखमली र गोदावरीजस्ता फूल फुल्ने भएकाले गाउँदेखि सहरसम्म फूलको रौनक देखिन्छ । सयपत्री घर, ढोका र पूजास्थल सजाउन प्रयोग गरिन्छ । यसको पहेँलो र सुन्तला रङले उल्लास र सकारात्मकताको अनुभूति दिन्छ ।

मखमली फूल तिहारको अर्को महत्वपूर्ण प्रतीक हो । लामो समयसम्म नओइलाउने भएकाले यसलाई दाजुभाइ र दिदीबहिनीबीचको अटुट स्नेहसँग जोडिन्छ । दिदीबहिनीले दाजुभाइलाई मखमलीको माला लगाइदिँदा सम्बन्ध पनि फूलझैँ लामो समयसम्म ताजा र जीवन्त रहोस् भन्ने कामना गर्छन् । शरद ऋतुमा फुल्ने गोदावरीले पनि घरआँगनको शोभा बढाउँछ । तिहारमा फूलको बढ्दो मागले स्थानीय किसान र फूल व्यवसायीलाई आम्दानीको अवसरसमेत दिन्छ ।

अन्धकारबाट उज्यालोतर्फ

तिहारको अर्को आकर्षण दीपावली हो । कार्तिक औँसीको अँध्यारो रातमा घरघरमा माटाका दियो, मैनबत्ती र विद्युतीय बत्ती बालिन्छन् । ‘तमसोमा ज्योतिर्गमय’ अर्थात् अन्धकारबाट उज्यालोतर्फ लैजाऊ भन्ने उपनिषद्को सन्देशलाई दीपावलीले प्रतीकात्मक रूपमा प्रस्तुत गर्छ । यसले अज्ञान, निराशा र नकारात्मकता त्यागेर ज्ञान, आशा र सकारात्मकताको बाटोमा अघि बढ्न प्रेरित गर्छ ।

तिहारको सांस्कृतिक रौनक देउसी–भैलोमा पनि देखिन्छ । बालबालिका, युवायुवती र सांस्कृतिक समूह घरघरमा पुगेर गीत गाउँछन्, नाच्छन् र शुभकामना व्यक्त गर्छन् । देउसी–भैलो मनोरञ्जनको माध्यम मात्र होइन, सामूहिकता, आपसी सद्भाव र सांस्कृतिक निरन्तरताको प्रतीक पनि हो ।

तिहार फूल, बत्ती, मिठाई र मनोरञ्जनमा मात्र सीमित पर्व होइन । यसले मानिस, पशुपक्षी र प्रकृतिबीचको सम्बन्धलाई सम्मान गर्न सिकाउँछ । दाजुभाइ र दिदीबहिनीबीचको स्नेह, परिवारको एकता र समाजमा आपसी सद्भाव कायम राख्न प्रेरित गर्छ । आधुनिक जीवनशैली र व्यस्तताबीच पनि तिहारका मौलिक परम्परा र सांस्कृतिक मूल्य जोगाउनु आवश्यक छ । प्रकृतिप्रतिको सम्मान, जीवजन्तुप्रतिको दयाभाव र सम्बन्धप्रतिको आत्मीयता नै तिहारको वास्तविक सन्देश हो ।

laxmi recruitement

सम्बन्धित खबर