२०८३ कार्तिक ३० गते सोमवार / Nov 16 , 2026 , Monday
२०८३ कार्तिक ३० गते सोमवार

देश जोड्दै छठ

Nada
२०८३ कार्तिक ३० गते ०६:१०
Shares
देश जोड्दै छठ

नेपाल विविध भाषा, धर्म, संस्कृति र परम्पराले बनेको देश हो । यही विविधताभित्र आपसी सम्मान, सहअस्तित्व र सद्भावको भावना बलियो बनाउनु राष्ट्रिय एकताको आधार हो । मधेशको मौलिक धार्मिक तथा सांस्कृतिक पहिचान बोकेको छठ पर्व अहिले देशका विभिन्न भूगोल र समुदायमा फैलिँदै जानु यसैको सुन्दर उदाहरण हो । कुनै समय तराई–मधेशमा सीमित छठ अहिले काठमाडौं उपत्यकादेखि पूर्वी पहाड, कर्णाली र सुदूरपश्चिमसम्म मनाउन थालिएको छ । रोजगारी, शिक्षा र अवसरको खोजीमा मधेशबाट पहाड तथा उपत्यकामा पुगेका परिवारले आफ्नो परम्परालाई नयाँ ठाउँमा निरन्तरता दिए । उनीहरूसँगै छठ पनि नयाँ भूगोलमा पुग्यो । त्यसमा स्थानीय समुदायको सहभागिता थपिँदै जाँदा यो कुनै एउटा समुदायको मात्र नभई साझा सांस्कृतिक उत्सव बन्दै गएको छ ।

छठको सबैभन्दा सुन्दर पक्ष यसको खुलापन हो । यसमा जात, धर्म, वर्ग वा समुदायका आधारमा कसैलाई निषेध गरिएको छैन । पूजा गर्न पण्डित वा पुरोहित अनिवार्य छैनन् । सबैले समान रूपमा सहभागी हुन सक्ने यस पर्वले सामाजिक विभाजनभन्दा माथि उठेर एकै ठाउँमा भेला हुन प्रेरित गर्छ । मधेसी समुदायले जोगाउँदै आएको परम्परामा अन्य समुदायको बढ्दो सहभागिता सांस्कृतिक सहअस्तित्वको सकारात्मक अभ्यास हो ।

अस्ताउँदो र उदाउँदो दुवै सूर्यलाई अघ्र्य दिने परम्पराले छठलाई थप अर्थपूर्ण बनाएको छ । यसले उदाउँदो शक्तिको मात्र होइन, अस्ताउँदै गरेको अवस्थाको पनि सम्मान गर्न सिकाउँछ । जीवनको चक्रलाई स्वीकार गर्ने, प्रकृतिप्रति कृतज्ञ हुने र सूर्य, जल तथा पृथ्वीको महत्त्व बुझ्ने सन्देश यस पर्वमा निहित छ ।

छठको विस्तारसँगै स्थानीय बजार, कृषि उत्पादन र परम्परागत हस्तकलाले पनि अवसर पाएका छन् । तर, नदी, पोखरी र जलाशयमा बढ्दो चापसँगै सरसफाइ र संरक्षणमा ध्यान दिनु उत्तिकै आवश्यक छ । आस्थासँगै सार्वजनिक सम्पत्तिको संरक्षण गर्ने जिम्मेवारी पनि जोडिनुपर्छ । छठले दिएको सन्देश भनेको संस्कृति कुनै भूगोल वा समुदायको सीमाभित्र कैद हुँदैन भन्ने नै हो । आपसी सम्मान, सहभागिता र सद्भावले त्यसलाई साझा बनाउन सक्छ । छठले नेपालको विविधताभित्र एकता खोज्न र राष्ट्रिय सद्भाव बलियो बनाउन महत्त्वपूर्ण योगदान दिन सक्छ । किनभने, मधेशबाट सुरु भएर देशभर फैलिएको छठ पर्व नेपाली समाजको सांस्कृतिक एकताको प्रतीक बन्दै गएको छ । यसको विस्तारले भूगोल, जाति र समुदाय फरक भए पनि संस्कृति, सम्मान र सहभागिताले सबैलाई जोड्न सक्छन् भन्ने प्रमाणित गरेको छ । छठको यही साझा भाव राष्ट्रिय एकता र सामाजिक सद्भावको बलियो कडी बन्न सक्छ ।

laxmi recruitement

सम्बन्धित खबर