
काठमाडौं : विदेशी कामदारको अभाव झेलिरहेको दक्षिण कोरियाले आप्रवासी कामदारलाई भिसा नीतिमा लचकता अपनाएर आकर्षित गर्ने रणनीति लिएको छ ।
सुरुमा ई–९ भिसा लिएर कोरियामा काम गर्न जाने विदेशी श्रमिकहरूलाई केही वर्ष काम गरेपछि ई–७–४ वा ई–७–४आर जस्ता भिसा प्राप्त गर्न सहज हुने नीति लिइएको छ । आवश्यक योग्यता पूरा गर्नेहरूले सजिलै उक्त भिसा पाइरहेका छन् । उक्त भिसा पाएपछि उनीहरूले श्रीमती र बालबच्चालाई समेत कोरिया लैजान पाउँछन् । यसले विदेशी श्रमिकहरूलाई कोरियाको रोजगारीमा जोडिइरहन प्रेरणा प्रदान गरेको छ ।
दक्षिण कोरियाले जनसंख्या घटिरहेका क्षेत्रमा भिसा परिवर्तन सहज बनाउने क्रमलाई तीव्रता दिएको छ ।
कोरियामा अध्यागमनसम्बन्धी प्रशासनिक काम गर्ने कार्यालयहरूले ई–९ भिसा भएका विदेशी श्रमिकलाई जनसंख्या घटिरहेका क्षेत्रका कम्पनीहरूमा काम गर्न ई–७–४आर जस्ता भिसा प्राप्त गर्न सहयोग गर्दै आएका छन् । भिसा परिवर्तन गर्न चार महिनासम्म समय लाग्ने गरेको छ । यस विषयमा भने विदेशी श्रमिकहरूले आलोचना गरेका छन् । चार महिना काम नगर्दा आर्थिक रूपमा ठुलो नोक्सानी हुने उनीहरूको भनाइ छ ।
नेपालबाट इपिएस प्रणालीमार्फत कोरिया गएर लगभग १० वर्ष काम गरिसकेका श्रमिकहरूले ई–७–४आर भिसामा परिवर्तन गर्ने गरेका छन् ।