२०८३ कार्तिक ३० गते सोमवार / Nov 16 , 2026 , Monday
२०८३ कार्तिक ३० गते सोमवार

लिखित परीक्षाबिनै फास्ट ट्र्याकबाट प्राध्यापक नियुक्ति गर्दै त्रिवि

Nada
२०८३ कार्तिक ३० गते ०६:२०
Shares
लिखित परीक्षाबिनै फास्ट ट्र्याकबाट प्राध्यापक नियुक्ति गर्दै त्रिवि

काठमाडौं : त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले अनुसन्धान र शैक्षिक उपलब्धिलाई आधार बनाएर फास्ट ट्र्याकबाट प्राध्यापक नियुक्त गर्ने प्रक्रिया अघि बढाएको छ । यस प्रक्रियामा लिखित परीक्षा हुने छैन । तर, उम्मेदवारका लागि विद्यावारिधि (पिएचडी), अनुसन्धान र शोधपत्र प्रकाशन अनिवार्य गरिएको छ ।

त्रिवि सेवा आयोगले २०८२ जेठमा प्राध्यापक, सहप्राध्यापक र उपप्राध्यापक गरी १३० पदका लागि विज्ञापन खुलाएको थियो । त्यसमध्ये १०० पदमा त्रिविको आफ्नै खर्च र ३० पदमा विश्वविद्यालय अनुदान आयोगको खर्चमा नियुक्ति गर्ने योजना छ ।

विश्वविद्यालयमा पदाधिकारी नियुक्तिमा भएको ढिलाइ र फास्ट ट्र्र्याकबाट प्राध्यापक नियुक्त गर्न लागिएको भन्दै विरोध भएपछि प्रक्रिया रोकिएको थियो । अहिले विश्वविद्यालयका पदाधिकारीले पूर्णता पाएसँगै नियुक्ति प्रक्रिया पुनः अघि बढाइएको छ ।

त्रिवि सेवा आयोगका अनुसार, यो प्रक्रिया पनि खुला प्रतिस्पर्धामै आधारित हुनेछ । आयोगका कार्यालय प्रमुख विष्णुप्रसाद अर्यालले चार जनाको नाम नियुक्तिका लागि सिफारिस भइसकेको र बाँकी उम्मेदवारको मूल्यांकन भइरहेको जानकारी दिए ।

विदेशमा कार्यरत नेपाली प्राज्ञिक तथा अनुसन्धानकर्तालाई स्वदेश फर्काएर विश्वविद्यालयको शैक्षिक गुणस्तर बढाउने उद्देश्यले यस्तो व्यवस्था गरिएको त्रिविको भनाइ छ । यस प्रक्रियामा लिखित परीक्षा नलिए पनि उम्मेदवारको शैक्षिक योग्यता, अनुसन्धान, प्रकाशित कृति र अन्तर्वार्तालाई मुख्य आधार बनाइनेछ । उम्मेदवारले पिएचडी गरेको हुनुपर्नेछ भने प्रतिष्ठित जर्नलमा अनुसन्धानमूलक लेख प्रकाशित गरेको हुनुपर्नेछ । अन्तर्वार्तामा विदेशी विषयविज्ञलाई समेत सहभागी गराइने त्रिविले जनाएको छ ।

त्रिविले ‘अनुसन्धानात्मक विशिष्टताको आधारमा खुला प्रतियोगिताद्वारा शिक्षकहरूको नियुक्तिको सिफारिस सम्बन्धी विनियम, २०८२’ मार्फत छनोटका मापदण्ड तय गरेको छ । नियुक्तिको सिफारिसका लागि कुल २०० अंक निर्धारण गरिएको छ । त्यसमा अनुसन्धान तथा कृति प्रकाशनका लागि १५०, शिक्षण अनुभवका लागि १०, शोध निर्देशनका लागि २० र अन्तर्वार्ताका लागि २० अंक छुट्याइएको छ ।

निर्धारित पूर्णांकमा प्राध्यापक पदका उम्मेदवारले कम्तीमा ७० प्रतिशत, सहप्राध्यापकले ६५ प्रतिशत र उपप्राध्यापकले ६० प्रतिशत अंक प्राप्त गर्नुपर्नेछ । तोकिएको न्यूनतम अंक नल्याउने उम्मेदवार नियुक्तिका लागि सिफारिस हुने छैनन् ।

त्रिविले यसअघि पनि परीक्षणका रूपमा फास्ट ट्र्याकबाट प्राध्यापक नियुक्त गरेको थियो । २०७३ असोजमा पहिलोपटक पाँच जना प्राध्यापक र पाँच जना सहप्राध्यापक नियुक्त गरिएको थियो । त्यसैगरी, २०७६ पुसमा पाँच जना प्राध्यापक र २६ जना सहायक प्राध्यापकलाई यही प्रक्रियाबाट नियुक्त गरिएको थियो ।

त्रिविका अधिकारीहरूका अनुसार अनुसन्धान र शैक्षिक उपलब्धिका आधारमा खुला प्रतिस्पर्धाबाट प्राध्यापक नियुक्त गर्ने अभ्यास अन्य देशका विश्वविद्यालयमा पनि छ । विदेशमा पिएचडी गरेर अनुसन्धान तथा प्राज्ञिक क्षेत्रमा काम गरिरहेका नेपालीलाई स्वदेशकै विश्वविद्यालयमा काम गर्ने अवसर दिन यो व्यवस्था ल्याइएको त्रिविको भनाइ छ ।

laxmi recruitement

सम्बन्धित खबर