२०८३ कार्तिक २९ गते आइतवार / Nov 15 , 2026 , Sunday
२०८३ कार्तिक २९ गते आइतवार

अन्तिम ओभरमा बाजी मार्दै लुम्बिनी क्वालिफायरमा

Nada
२०८३ कार्तिक २८ गते २१:१२
Shares
अन्तिम ओभरमा बाजी मार्दै लुम्बिनी क्वालिफायरमा

काठमाडौं । साविक विजेता लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई ४ विकेटले हराउँदै नेपाल प्रिमियर लिग (एनपीएल) को क्वालिफायरमा स्थान सुरक्षित गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा विराटनगरले दिएको १६७ रनको लक्ष्य लुम्बिनीले १९.५ ओभरमा ६ विकेट गुमाएर पूरा गर्‍यो ।

यो जितसँगै लुम्बिनी लिग चरणको शीर्ष दुईमा रहने निश्चित भएको छ । सात खेलबाट ११ अंक जोडेको लुम्बिनी शीर्ष स्थानमा छ । यसअघि नै प्लेअफमा पुगिसकेको लुम्बिनीको जितले प्रतियोगिताको प्लेअफ समीकरणसमेत पूरा भएको छ ।

लुम्बिनी र सुदूरपश्चिम रोयल्ससँगै काठमाडौं गोर्खाज र चितवन राइनोजले अन्तिम चारमा स्थान बनाएका छन् । पाँच खेलबाट आठ अंक जोडेको काठमाडौं तेस्रो र ६ खेलबाट सात अंकसहित चितवन चौथो स्थानमा छन् । दुवै टोलीले लिगको अन्तिम खेल खेल्नुअघि नै प्लेअफमा पुग्ने पक्का गरेका हुन् ।

सातवटै खेल खेलेको विराटनगर भने ६ अंकसहित पाँचौं स्थानमा रहँदै प्रतियोगिताबाट बाहिरिएको छ । कर्णाली याक्स, जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्स यसअघि नै प्लेअफ दौडबाट बाहिरिसकेका थिए ।

अन्तिम दुई ओभरमा रोमाञ्चक जित

लुम्बिनीलाई जितका लागि अन्तिम दुई ओभरमा ३३ रन आवश्यक थियो । १९औं ओभरमा सन्दीप जोराले विराटनगरका इसुरु उडानालाई दुई छक्का र एक चौका प्रहार गर्दै १७ रन जोडेपछि खेल लुम्बिनीतर्फ मोडियो ।

अन्तिम ओभरमा १६ रन चाहिएको अवस्थामा अली शेखले रुपेश सिंहको पहिलो बलमै छक्का प्रहार गरे । नो बल भएको उक्त बलमा उनले फ्रि हिटको अवसरसमेत पाए र त्यसबाट थप दुई रन लिए ।

ओभरको दोस्रो र तेस्रो बलमा अली र जोराले एक–एक रन लिए । चौथो बलमा ठूलो सट खेल्ने प्रयासमा अली शेख क्याच आउट भए ।

अब दुई बलमा पाँच रन चाहिएको अवस्थामा रुबेन ट्रम्पलम्यान क्रिजमा आए । उनले रुपेश सिंहको पाँचौं बललाई छक्कामा परिणत गर्दै लुम्बिनीलाई रोमाञ्चक जित दिलाए ।

लुम्बिनीको जितमा ओपनर डार्सी सर्ट र आसिफ शेखले समान ४५ रनको योगदान गरे । पहिलो विकेटका लागि यी दुईले ११.५ ओभरमा ८६ रनको साझेदारी गरेका थिए ।

तर, उनीहरू आउट भएपछि लुम्बिनी दबाबमा परेको थियो । निरोशन डिकवेला र दिलीप नाथ शून्य रनमै आउट भए भने कप्तान रोहित पौडेल नौ रन बनाएर रनआउट भए ।

विराटनगरका अपराजित पौडेलले १३औं ओभरमा लगातार दुई विकेट लिएपछि खेलमा विराटनगरले पुनरागमन गरेको थियो ।

त्यसपछि एनपीएलमा डेब्यु गरेका अमेरिकी अलराउन्डर अली शेख र सन्दीप जोराले छैटौं विकेटका लागि ४२ रनको साझेदारी गर्दै लुम्बिनीलाई जितको बाटोमा फर्काए । अलीले १९ बलमा एक चौका र दुई छक्कासहित २७ रन बनाए । जोराले ११ बलमा एक चौका र तीन छक्काको मद्दतमा अविजित २५ रन जोडे ।

विराटनगरका अपराजित पौडेलले दुई विकेट लिए । चरित असलंका र रुपेश सिंहले एक–एक विकेट हात पारे ।

असलंकाको अर्धशतकमा विराटनगरको १६६ रन

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा चार विकेट गुमाएर १६६ रन बनाएको थियो ।

विराटनगरका चरित असलंका सर्वाधिक रन बनाउने खेलाडी रहे । उनले ४३ बलमा एक चौका र छ छक्काको मद्दतमा ६४ रन जोडे । शुभम रञ्जानेले २४ बलमा चार चौकासहित अविजित ३१ रन बनाए ।

ओपनर इमरान शेख २४ रनमा रिटायर्ड हर्ट भए । अर्का ओपनर लोकेश बमले १७ बलमा १५ रन बनाए । शेहान जयसूर्या एक र इसुरु उडाना छ रनमा आउट भए ।

७० रनको अवस्थामा इमरान रिटायर्ड हर्ट भएपछि क्रिजमा आएका रञ्जानेले असलंकासँग मिलेर पाँचौं विकेटका लागि ७५ रनको साझेदारी गरेका थिए ।

लुम्बिनीका किशोर महतो, रुबेन ट्रम्पलम्यान र अभिषेक गौतमले एक–एक विकेट लिए । किशोरले चार ओभरमा २४ र अभिषेकले तीन ओभरमा १५ रन खर्चिए । ट्रम्पलम्यान भने महँगा साबित भए । उनले चार ओभरमा ५२ रन दिए ।

laxmi recruitement

ताजा खबर

सम्बन्धित खबर