२०८१ असोज ५ गते शनिवार / Sep 21 , 2024 , Saturday
२०८१ असोज ५ गते शनिवार

पाल्पामा समलिंगी विवाहले पायो कानूनी मान्यता 

ADV
मध्यान्ह
२०८१ भदौ ५ गते १४:५२
पाल्पामा समलिंगी विवाहले पायो कानूनी मान्यता 

पाल्पा : पाल्पाको रामपुर नगरपालिकामा समलिंगी विवाह दर्ता भएको छ । रामपुर वडा नं ९ को कार्यालयमा ३१ वर्षीया चिनाकुमारी नेपाली र ३६ वर्षीया ज्योति सार्कीले समलिंगी विवाह दर्ता गरेसँगै कानूनी रुपमा समलिंगी विवाहले मान्यता पाएको छ । 

रामपुर-९ का स्थानीय पञ्जीकाधिकारी एवं वडा सचिव मो युनुस खानले विवाह दर्ताका लागि चिनाकुमारी र ज्योतिले निवेदन दिएपछि राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको परिपत्रका आधारमा विवाह दर्ता प्रमाणपत्र जारी गरिएको बताए । समलिंगी विवाह दर्ता पहिलो पटक भएकाले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागसँग समन्वय गरेर गत आइतबार विवाह दर्ताको प्रमाणपत्र प्रदान गरिएको वडा सचिव खानले जानकारी दिए ।

चिनाकुमारी रामपुर-९ जब्गादी निवासी र ज्योति नवलपुर (नवलपरासी सुस्तापूर्व) बौदिकाली गाउँपालिका–१ मिथुकरम निवासी हुन् । चिनाकुमारी र ज्योतिले २०७८ असोज २९ गते परम्पराअनुसार पाल्पाको सिद्धबाबा मन्दिरमा विवाह गरेका हुन् । 

वडा कार्यालयमा विवाह दर्ता गरेपछि मात्रै कानुनी रूपमै उनीहरु विवाह बन्धनमा बाँधिएका छन् । उनीहरु दुवै जना महिला हुन् । चिनाकुमारी र ज्योति लामो समयदेखि प्रेम सम्बन्धमा रहेको बुझिएको छ । 

विवाह दर्ताको अस्थायी प्रमाणपत्रमा चिनालाई दुलहा र ज्योतिलाई दुलही उल्लेख गरिएको छ । दुवै जना वैदेशिक रोजगारीका क्रममा कतारमा छन् । उनीहरुले घर आएको समयमा विवाह दर्ता गराएका हुन् ।

ADVADV

सम्बन्धित खबर

Advertise