२०८१ असोज ५ गते शनिवार / Sep 21 , 2024 , Saturday
२०८१ असोज ५ गते शनिवार

नागढुङ्गा पहिरो : सडक एकतर्फी खुल्यो

ADV
मध्यान्ह
२०८१ भदौ ५ गते १७:२९
नागढुङ्गा पहिरो : सडक एकतर्फी खुल्यो

काठमाडौंः काठमाडौंको चन्द्रागिरि नगरपालिका–२ स्थित नागढुङ्गामा खसेको पहिरो हटाएपछि अहिले एकतर्फी सवारी आवागमन खुलाइएको छ । 

प्रहरी वृत्त थानकोटका अनुसार साँझ ५ बजेदेखि सडक एकतर्फी खुलाइएको र अहिले काठमाडौं आउनका लागि नागढुङ्गा तल्लो क्षेत्रमा जाममा रहेका सवारी साधनलाई भित्र्याउन शुरु भएको छ । सवारी साधनको लामो लाइन रहेकाले सहज हुन केही समय लाग्ने जनाइएको छ ।

वर्षा जारी रहँदा पहिरो पन्छाउने र खस्ने क्रम जारी भएकाले आज बिहान १०ः३० बजेदेखि पहिरो खसेर रोकिएको सडक खुलाउन दिनभर समय लागेको हो । जसका कारण काठमाडौँ नौविसे खण्ड प्रभावित भएको थियो । प्रहरी वृत्त थानकोटका प्रमुख प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सुवेदीले पानी थप परेको खण्डमा पुनः पहिरो खसेर अवरोध हुनसक्ने सम्भावना रहेको बताए । तीन वटा एक्स्काभेटरको सहयोगमा पहिरो पन्छाउने कार्य भइरहेको छ ।

‘कतिबेला बन्द हुने हो भन्ने थाहा छैन, त्यसैले अहिले काठमाडौं उपत्यकामा ‘माइकिङ’ गरेरै जानकारी दिएकाले आज सो क्षेत्रमा सकेसम्म यात्रा नगर्न भनिएको छ’, उनले भने । नागढुङ्गा चोकबाट केही सय मिटर पर नागमन्दिर नजिकै पहिरो खसेको हो । जसका कारण काठमाडौँ भित्रिने र बाहिरिने सबै सवारीसाधान दिनभर ठप्प रहेको छ । अहिले पानी पर्न कम भएको छ । 

नागढुङ्गा प्रहरीले काठमाडौंबाट जाने सवारी साधन नागढुङ्गामै रोकेर फर्काइरहेको छ भने आउने सवारी साधान ‘पिप्लामोड’ भन्दा तल नै रोकिएका छन् । काठमाडौँ छिर्ने मुख्य नाका नै बन्द हुँदा यात्रुहरू प्रभावित भएका छन् । 

ADVADV

सम्बन्धित खबर

Advertise