२०८१ असोज ५ गते शनिवार / Sep 21 , 2024 , Saturday
२०८१ असोज ५ गते शनिवार

ट्रान्सर्फमरमा समस्या आएपछि विद्युत् उत्पादन बन्द

ADV
मध्यान्ह
२०८१ भदौ ६ गते १२:३४
ट्रान्सर्फमरमा समस्या आएपछि विद्युत् उत्पादन बन्द

भजनीः कैलालीको जानकी गाउँपालिका–९ कटाक्षेमा निर्माण भएको जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन बन्द भएको छ । राष्ट्रिय गौरवको आयोजना रानी जमरा कुलरिया सिँचाइ आयोजनामार्फत निर्माण भएको जलविद्युत् ट्रान्सफर्मरमा समस्या आएपछि एक महिनादेखि बन्द अवस्थामा रहेको हो ।

विद्युत् गृहको ३३ केभी पिटी ट्रान्सफर्मर जलेपछि विद्युत् उत्पादन एक महिनादेखि बन्द छ । जलेको सामान नेपाल बाहिरबाट ल्याउनुपर्ने हुँदा पुनः सञ्चालन गर्न समय लागेको बताइएको छ । ‘नेपालमा सामान पाइएन । भारतमा पनि उत्पादन गरेरै ल्याउनुपर्ने भएको हुँदा समय लागेको हो । पहिलेको पुरानो सामानको स्याम्पल पठाएपछि मात्रै सामान बन्यो । अब एक हप्ताभित्र सामान पुग्ने भनिएको छ । सामान जडान गरेर पुनः विद्युत् उत्पादनलाई निरन्तरता दिन्छौँ’, तुन्दी निर्माण कम्पनीका उदयराज पोख्रेलले भने ।

पाँचपटकसम्म म्याद थप गरेर काम सम्पन्न गरेको निर्माण कम्पनीले अझै पनि क्षमता अनुसारको विद्युत् उत्पादन गर्न सकेको छैन ।  चार दशमलव ७१ मेगावाट विद्युत् उत्पादन क्षमता भए पनि अहिले तीन दशमलव १४ मेगावाट विद्युत् उत्पादन हुँदै आएको थियो । तीनवटा युनिटबाट विद्युत् उत्पादन गर्न सकिने भए पनि दुईवटा युनिटबाट मात्रै विद्युत् उत्पादन हुँदै आएको रानी जमरा कुलरिया सिँचाइ आयोजनाका सूचना अधिकारी नवीन पौडेलले जानकारी दिए ।

‘पूर्णरुपमा अझै विद्युत् उत्पादन हुन सकेको छैन । क्षमताअनुसार विद्युत् उत्पादन भएपछि मात्रै त्यसको स्वामित्व सिँचाइ आयोजनाले ग्रहण गर्छ’, सूचना अधिकारी पौडेल भन्छन्, ‘आउने पुससम्म निर्माण कम्पनीको सम्झौता अनुसारको समय छ । त्यो अवधिसम्म सबै काम सम्पन्न गरेर हस्तान्तरण गर्ने भनेको छ ।’ सो क्षेत्रबाट उत्पादन भएको विद्युत् २०८० फागुनमा राष्ट्रिय प्रसारण लाइनमा जोडिएको थियो । ३३ केभी लम्की सब स्टेसनबाट राष्ट्रिय प्रसारण लाइनमा जोडिएको निर्माण कम्पनीका साइट इन्चार्ज पोख्रेल बताउँछन् । 

ADVADV

सम्बन्धित खबर

Advertise