२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

समृद्धिका लागि राष्ट्रिय एकता अपरिहार्य छ : नेता सिटौला

Nada
२०८१ भदौ ६ गते १६:००
Shares
समृद्धिका लागि राष्ट्रिय एकता अपरिहार्य छ : नेता सिटौला

काठमाडौंः नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले राजनीतिक परिवर्तनमा एक भएका राजनीतिक दल अब मुलुक र जनताको समृद्धिका लागि राष्ट्रिय एकता अपरिहार्य रहेको बताएका छन्। 

ncell

राष्ट्रियसभाको आजको बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ माथिको दफावार छलफलका क्रममा नेता सिटौलाले वर्तमान अवस्थामा फेरि राष्ट्रिय एकताको अपरिहार्यता रहेको बताए ।

‘नेपाललाई विश्व मञ्चमा प्रतिस्पर्धी मुलुकका रुपमा चिनाउन राष्ट्रिय एकताको आवश्यकता रहेको छ । राष्ट्रिय एकतालाई सुदृढ पार्ने राजनीतिक दलले नै हो’, राष्ट्रियसभामा कांग्रेस संसदीय दलका नेता सिटौलाले भने, ‘यसतर्फ सबै राजनीतिक दलले गम्भीर भएर सोच्नुपर्छ ।’ राजनीतिक दलहरुले गरेको सङ्कल्प पूरा गर्ने प्रतिबद्धता आवश्यकता भएको उल्लेख गर्दै उनले राजनीतिक परितर्वनमा सरिक हुने सबै राजनीतिक दल मिलेर जनताको राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक परिवर्तनको चाहना पूरा गरौँ भने ।

‘फेरि एकपटक मुलुकले राजनीतिक दलहरुका बीचमा वृहत समझदारी र एकता खोजेको छ, मैले राजनीतिक दलमा जुन विश्वास देखेको थिएँ, त्यो विश्वास टुटेको छ, सिङ्गो मुलुक अविश्वासको खाडलमा छ । विश्वासको सङ्कट छ’, नेता सिटौलाले भने, ‘फेरि एकपटक सैद्धान्तिक र नीतिगत रुपले एक ठाउँमा आएर साझा दृष्टिकोणअनुसार अगाडि बढ्ने सङ्कल्प गरौँ ।’
 
द्वन्द्व पीडितलाई न्याय दिन हरसम्भव प्रयास गर्न सबैको ध्यान जानुपर्नेमा जोड दिँदै नेता सिटौलाले सङ्क्रमणकालीन न्यायलाई निरुपण गर्न गठित आयोगको कामकारबाहीलाई प्रभावकारी बनाइनुपर्ने बताए । ‘अब द्वन्द्वपीडितलाई न्याय पाइन्छ भन्ने विश्वास दिलाउन सक्नुपर्छ, न्याय दिनसक्ने गरी आयोगलाई पूर्णता दिनुपर्छ’, उनले भने ।

बाह्रबुँदे सम्झौताबाट शुरु भएको राजनीतिक ‘कोर्स’का आधारमा तत्कालीन अवस्थामा विस्तृत शान्ति सम्झौता र अन्तरिम संविधानमार्फत नै नेपालको आगामी राजनीतिक परिदृश्य कोरिएको उनले स्मरण गरे । विसं २००७ को क्रान्तिमा उठेको संविधानसभाद्वारा संविधान जारी गर्ने माग माओवादी आन्दोलनबाट पूरा भएको उल्लेख गर्दै उनले राजनीतिक दलले गरेको प्रतिबद्धताबाट दायाँबायाँ हुन नहुने बताए ।

ताजा खबर

सम्बन्धित खबर