२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

भारी भयो नेतृत्व !

ADV
२०८१ भदौ ७ गते ०६:३५
भारी भयो नेतृत्व !

महामन्त्री विश्वप्रकाश शर्माले ल्याएको प्रस्ताव नेपाली कांग्रेसका नेताहरुलाई टाउको दुखाइको विषय बनेको छ । जारी केन्द्रीय कार्य समिति बैठकमा महामन्त्री शर्माले एक्जिट पोलिसी सम्बन्धी प्रस्ताव ल्याएका छन् । महामन्त्री शर्माले एक पटक राष्ट्रपति, दुई पटक प्रधानमन्त्री, तीन पटक मन्त्री र चार पटक सांसदको प्रस्ताव गरेका छन् । यो प्रस्ताव अस्वीकार गरेर जाँदा कांग्रेस रुपान्तरणको पक्षमा नरहेको सार्वजनिक सन्देश जानेछ । तर स्वीकार्दा सभापति शेरबहादुर देउवा आफै अप्ठ्यारोमा पर्नेछन् । किनकि सभापति देउवा पाँचौं पटक प्रधानमन्त्री भइसकेका छन् । छैटौं पटक प्रधानमन्त्रीको सहमति नेकपा एमालेसँग भइसकेको छ । केपी शर्मा ओली प्रधानमन्त्रीबाट हटेपछि देउवाले सरकारको नेतृत्व गर्ने सात बुँदे सहमति भइसकेको छ । 

सभापति देउवा मात्र नभएर अरु पदाधिकारी र नेताहरुलाई पनि महामन्त्री शर्माको प्रस्तावले समस्या पार्नेछ । देउवा बाहेक प्रधानमन्त्री भएका नेता कांग्रेसमा नभए पनि तीन पटक मन्त्री र चार पटक सांसद भइसकेका थुप्रै नेताहरु छन् । अर्का महामन्त्री गगन थापा नै चार पटक सांसद भइसकेका नेता हुन् । त्यसैले शर्माको प्रस्ताव पारित भए महामन्त्री थापा पनि सांसद हुन पाउने छैनन् । तर शर्माको प्रस्ताव अस्वीकृत गर्दा नेताहरु जिवित रहेसम्म पदका निम्ति लड्छन् भन्ने भाष्यलाई बल पुग्नेछ । अरु दलहरुमा पनि कांग्रेस भन्दा भिन्न अवस्था नरहेकाले पनि महामन्त्री शर्माको प्रस्ताव अर्थपूर्ण बन्ने देखिन्छ । 

९ वर्षपछि प्रतिपक्षी भूमिकामा पुगेको माओवादी केन्द्रभित्र उपमहासचिव जनार्दन शर्माले पुष्पकमल दाहाल प्रचण्डलाई अध्यक्ष छोड्न लिखित प्रस्ताव गरेका छन् । तीन पटक प्रधानमन्त्री भइसकेका र ३६ वर्षदेखि पार्टी नेतृत्वमा रहेका प्रचण्डलाई शर्माको प्रस्ताव चर्को परिरहेको छ । भर्खरै दशौं महाधिवेशन गरेको एकीकृत समाजवादीभित्र नेतृत्वबाट पूर्व प्रधानमन्त्रीहरु माधवकुमार नेपाल र झलनाथ खनाल हटाउने प्रयत्न देखिएको थियो । यद्यपि खनालको साथ पाउँदा नेपालले अध्यक्ष पद जोगाउन सके । सरकारको नेतृत्व गरिरहेको एमालेभित्र पनि ओलीको नेतृत्वप्रति प्रश्न उठिरहेकै छ । ७० वर्षे उमेर हद हटाउँदै अध्यक्ष दोहोरिएका ओलीलाई अर्को महाधिवेशनबाट पद जोगाउन सजिलो देखिदैन । यसरी सबैजसो पार्टीहरुमा पुराना नेतृत्व छन्, र उनीहरुप्रति सार्वजनिक दृष्टिकोण राम्रो बन्न सकिरहेको छैन । तर उमेरले सात दशक पार गरेका नेताहरु पद छोड्न मानिरहेका छैनन् । यसले निम्त्याउन सक्ने खतराबारे सचेत समेत देखिदैनन् । यो आफैमा डरलाग्दो परिस्थिति हो, र यसबारे छलफल आवश्यक छ । 

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise