२०८१ असोज ५ गते शनिवार / Sep 21 , 2024 , Saturday
२०८१ असोज ५ गते शनिवार

तनहुँ दुर्घटना : भारतीय सेनाको जहाजले लग्यो मृतकको शव

ADV
मध्यान्ह
२०८१ भदौ ८ गते १८:५४
तनहुँ दुर्घटना : भारतीय सेनाको जहाजले लग्यो मृतकको शव

भरतपुर : तनहुँको ऐनापहरामा बस दुर्घटनामा परेर मृत्यु भएकाहरूको शव भारत पठाइएको छ । भरतपुर अस्पतालमा शव परीक्षण सकेपछि भारतीय सेनाको जहाजबाट आज अपराह्न भरतपुर विमानस्थलबाट ती शव भारत पठाइएको हो । 

मृतक २७ मध्ये २५ जनाको शव जहाजबाट पठाइएको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए । उनका अनुसार बसका चालक र सहचालकको शव भने स्थलमार्गबाट गोरखपुरतर्फ पठाइएको छ ।

मृतकको शव लिन भारतकी युवा तथा खेलकुद राज्यमन्त्री रक्षानिखिल खड्से भरतपुर आएकी थिइन् । मृतक यात्रुका शव शुक्रबार राति आँबुखैरेनीबाट भरतपुर ल्याइएको प्रजिअ यादवले बताए । उनका अनुसार पशुपतिनाथ दर्शन गर्न जाँदै गरेको भारतीय पर्यटक बोकेको बस शुक्रबार बिहान तनहुँको आबुखैरेनी नजिकै सडकबाट मर्स्याङ्दी नदीमा खस्दा २७ पर्यटकको मृत्यु भएको हो । मृतकमध्ये १५ महिला, ११ पुरुष  र एक जना चार वर्षीया बालिका रहेको उनले बताए । घाइते हुनेमा छ पुरुष र १० महिला छन् ।

प्रहरीका अनुसार बसमा ४३ जना सवार थिए । घाइतेहरूको काठमाडौंमा उपचार भइरहेको छ । मृतक र घाइते भारतको महाराष्ट्रको जलगाउँ जिल्लास्थित भुसावल गाउँका रहेका प्रजिअ यादवले जानकारी दिए । पोखराबाट काठमाडौं जाँदै गरेको युपी ५३ एसटी ७६२३ नम्बरको बस आँबुखैरेनी नजिकैबाट मर्स्याङ्दीमा खसेको थियो । दुर्घटनालगत्तै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले उद्धार गरेका थिए ।

नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालले भारत सरकारका राज्यमन्त्री खड्सेलाई भरतपुर विमानस्थलमा भेटेर सो घटनाप्रति दुःख व्यक्त गरेका थिए ।

ADVADV

सम्बन्धित खबर

Advertise