–समर्पण भट्टराई
आजसम्मका संघर्ष, आन्दोलन, बलिदान सबै अर्थहीन भए । कहीँ कहीँ कुनै न कुनै मोडमा कोही सम्झौतामा त कोही आत्मसमर्पणमा सकिए । अबको संघर्ष कि मृत्यु कि मुक्ति यही अन्तिम निष्कर्षका साथ अगाडि बढाउन पर्छ । बारम्बारको धोका सम्झौता र आत्मसमर्पण अनि अवसरवादी नेतृत्वको कारण नेपाल र नेपाली दुवै आजित भएको छन् ।
यसको अर्थ यो होइन कि अबको संघर्षमा जनताले सहयोग गर्दैनन्, जनता सधैँ रूपान्तरण र न्यायको पक्षमा हुन्छन् । आज समाज एक प्रकारको निराशामा गएको छ, जताततै भ्रष्टाचार, दलाली, लुटपाट, महँगी, हत्याहिंसा, बलात्कार, बेरोजगारी सबै समस्याबाट आजित छन् । सबै तिरबाट निराशा नै निराशा छाएको छ । काङ्ग्रेस, एमाले, माओवादी विभिन्न दलहरू अहिले आएका नयाँहरूको पनि हविगत देखेर अब चाहिँ केही हुन्न रहेछ, कसैले केही नगर्ने रहेछन् भने जस्तो भएको छ । शान्तिपूर्ण अवस्थाबाट यो अवस्थाको अन्त्य असम्भव छ ।
राज्य सिङ्गो दलाली र माफियाको चङ्गुलभित्र छ । यो दलाल संसदीय व्यवस्था नेपालमा मात्रै होइन, विश्वव्यापीरूपमा असफल साबित भैसकेको छ । अब यो अवस्थामा यो व्यवस्थाभित्र सुधार खोज्ने प्रयास आगो लागेको घरमा आफू कोठाभित्र चुकुल लाएर बसेर सुरक्षित गर्नु जस्तै मुर्खता सिवाय अरू केही हुन सक्दैन । तसर्थ, व्यवस्थाको अन्त्य र वैज्ञानिक समाजवाद अथवा नेपाली विशेषताको समाजवाद नै एक मात्रै अन्तिम विकल्प हुन आउँछ ।
व्यवस्था होइन, अवस्था फेरौं र फेर्छौँ भन्नुको कुनै खास अर्थ छैन । अवस्था फेर्न सम्भावना छैन । वडा कार्यालयदेखि राष्ट्रपति कार्यालयसम्म दलाली र भ्रष्टाचारबाट अछुतो नरहेको यो स्थितिमा अवस्था फेर्छु भन्नू पनि गैर राजनीतिक तर्क हो तसर्थ, वैज्ञानिक समाजवाद अथवा नेपाली विशेषताको समाजवादको निम्ति सबै एकजुट हुन आवश्यक छ । संसदीय अथवा संसदवादी दलहरूको सहकार्यबाट हामी समाजवाद पुग्न सकिन्न । उनीहरू त्यसको निम्ति कुनै पनि हालतमा तयार छैनन् । तसर्थ, उनीहरूसँगको सहकार्य पनि एक प्रकारको धोका साबित हुने निश्चित छ ।
गैरसंसदवादीहरूको संयुक्त मोर्चा निर्माणसँगै आवश्यकताअनुसार शान्तिपूर्ण र सशस्त्र दुवै संघर्षलाई साथै अगाडि नबढाउँदासम्म हामी समाजवादमा पुग्न सक्दैनौ । यो नै अन्तिम सत्य हो । तसर्थ, सम्पूर्ण राष्ट्रवादी र समाजवादीहरूको सहकार्य एकता र मोर्चा बन्दी अनि संघर्ष नै आजको हाम्रो मुख्य जिम्मेवारी र कार्यभार हो । यसको निम्ति गैर संसदीय दलहरूले गम्भीरतापूर्वक सोच्नपर्छ । आदर्श सबैको समाजवादी हुने व्यवहारमा आफूभन्दा बाँकी सबै खराब देख्ने र ठान्ने मानसिकताले कसैलाई निष्कर्षमा पु¥याउँदैन । त्यसैले फेरि टुटफुट र विसर्जनमा मात्रै हो । यसर्थ, क्रान्ति र समाजवाद चाहने सबै शक्ति एक ठाउँमा उभिएर, बहस र समीक्षा गर्न तयार किन नहुने ? यो प्रश्न यति बेला हामी सबैमाथि खडा भएको छ ।