–अच्युतप्रसाद पौडेल ‘चिन्तन’
शिक्षा भन्नु र ज्ञान भन्नु पृथक विषय हो, हिजोआज शिक्षा नै पाउन नसकिएको सन्दर्भमा ज्ञानको विषय त परको छ । ज्ञान त त्यस्तो विषय हो, जुन जानेपछि जान्नुपर्ने बाँकी नै केही रहन्न । गीताले मुक्तिको सोपान नै ज्ञान हो भनेका छन्, जान्नु मात्र नै ज्ञान भने होइन जानेर मान्नु पनि पर्छ ।
मनोवेत्ताहरू भन्छन् शारीरिक चोटभन्दा मानसिक चोट बढी खतरनाक हुन्छ । सबैले भन्छन्, विद्यार्थीहरू राष्ट्रका कर्णधार हुन्, भविष्यका संवाहक हुन्, देश निर्माणमा उनीहरूकै हात हुन्छ । नयाँ पुस्ता बढी संवेदनशील पनि हुन्छ । तर, हाम्रो नयाँ पुस्ता खाडीमा धकेलिएको छ र समग्रमा एक वर्षमा १४ खर्ब रकम तिनीहरूबाट देशले विप्रेषण पाएको तथ्याङ्क सार्वजनिक भएको छ ।
नयाँ पिँढीलाई खुलेर विश्वास गर्नाले आजको थाइलैण्ड साँच्चै थाइलैण्ड भएको छ र त्यहाँ भर्खरै ३७ वर्षीय सिनावात्राले देशको प्रधानमन्त्रीको पद बहाली गरेकी छिन् । पुराना पुस्तालाई खुलेर विश्वास गर्नाले आजको जापान साँच्चैको जापान भएको हो । त्यसो त औपचारिक प्रमाणपत्र प्राप्त गर्न नसके पनि विद्यार्थीका लागि पहिलो पाठशाला भनेको घर नै हो, पहिलो शिक्षक शिक्षिका भन्नु पिता, माता, अग्रज र आफन्त नै हुन् । विद्यार्थीको सुन्दरता भनेकै उनीहरूको इमानदारिता हो, अनुशासन हो, नैतिकता हो । त्यस्तो जनशक्ति तयार भएपछि मात्र हामीले कल्पना गरेको सुशासनको अभ्यास सुहाउँछ लोकतन्त्रमा ।
हाम्रा सुशासनका नाइकेहरूले आफ्ना सन्तानलाई झुट र ठगी गर्न सिकाए । साना नानीहरूलाई झुठ बोल्न आउँदैन, उनीहरूको जीवन सत्ययुगमा बाँचेको हुन्छ र त एउटा साहुले आफ्नो घरमा आएर ढोका ढकढकायो भने, घर मुलीलाई खोजेको महशूस गर्यो भनेर ऊ सिधै भन्छ, “हाम्रा बा त भकारीभित्र लुक्नु भा को छैन !”
कमलो मन मस्तिष्क बोकेका हाम्रा साना नानीहरूको विधि व्यवहारलाई हामीले बुझ्न सकेनौँ । हाम्रा पाठ्यक्रमले बुझ्न सकेनन् । हाम्रा शैक्षिक नीति निर्माताहरूले बुझ्न सकेनन् । हाम्रा विद्यालय, महाविद्यालय, विश्व विद्यालयहरूले बुझ्न सकेनन् र त हामीले ठुलो कष्ट झेलिरहेका छौँ अहिले । घर परिवारले मात्र होइन, देशैले ठुला झड्काहरू व्यहोरिरहेकोे छ । इमानदारिता, नैतिकता, अनुशासनलाई कायम राख्न देशलाई हम्मे–हम्मे परिरहेको छ । कानुनले मात्र कहाँ हुँदो रहेछ त ? विद्यार्थीका लागि पुस्तकको ज्ञान सबै ज्ञान होइन, व्यवहारिक ज्ञान बढी हुनु पर्छ । हामीकहाँ देशप्रति इमानदार हुने जनशक्ति तयार गर्ने शिक्षा नीति भएको भए, सायद टेस्ट पास गर्न नपाई गाउँ छोडेर सहर पस्ने अनि प्लस टूको अभियानमै देश छोडेर बिदेसिने तरखरमा हुन्नथे होलान् हाम्रा स–साना नानीहरू ।
हिजो आज त गीतै यस्तो घन्किएको छ, ‘भिजिट भिसामा ....,भुईँ छोडी उड्ने हो पश्चिम दिशामा ।’ पहिले कोरोनाले देखाइदियो कहाँ कसरी उड्ने हो भनेर । अहिले पनि हाम्रो बजार ठप्प छ, सबैथरि किनेर खाँदा अधिक समस्या छ, उत्पादन छैन, व्यवसाय गर्ने आदत र व्यवहार छैन, सरकारले टिकटक खोल्यो, रुग्ण उद्योग खोलेन, आफ्नो उत्पादन केही छैन हात मुख जोर्ने समस्या छ । शिक्षा यति महँगो छ कि स्कुलबाट शिक्षा बा विद्या बा ज्ञान होइन बस्तुको खरीद–बिक्री हुन्छ र अभिभावकहरू माथि ठुलो पिडा थोपरिएको छ ।
स–साना नानीहरूका आफ्नै समस्याहरू छन् । घर, परिवारप्रतिको सम्बन्ध, उनीहरूको टोकसो, छर छिमेक अनि नातागोताप्रतिकोे नैतिक दायित्व, उपस्थिति साथी भाइप्रतिको उदारता, शिक्षक शिक्षिका प्रतिको व्यवहार, ठुला–ठुला झोला बोक्दै कुद्नु पर्ने समस्या, चार घण्टासम्मको ट्राफिक जाम, बसको उकुस मुकुस वातावरणबाट लखतरान भएर कोठामा बल्ल तल्ल पसेको हैरानी, गृहकार्य, अब त ट्युसनको नाममा पूरै स्कुलतिर, घरधन्दामा पनि सघाउनु पर्ने दायित्व, परीक्षाको तयारी, ठूलाकोे आदेश, सानाप्रतिको दया माया, आफ्नो सरसफाइ, कतिपय अर्थमा खर्चबर्चको जोहो, बल्ल एउटा परीक्षा सकियो अव कुन विषय लिएर कहाँ पढ्ने ? कुन विद्यालय वा कलेज राम्रो ? पढेअनुसारको काम पाइने नपाइने हचुवाको जिन्दगी, वृत्ति विकासमा धक्का लाग्ला कि भन्ने डर, भनौँ आशै आशको र त्रासै त्रासको जीवन, अझ दुर्व्यसनी तिर लागिएला भन्ने त्रास भनौँ सिङ्गो विद्यार्थी जीवन त्रासदीय मनोविज्ञानमै बितेको हुन्छ ।
अभिभावकहरू पनि त्यस्तै मनोविज्ञानको भुँँमरीमै हुन्छन् । कतिपय त ‘हिस्स बूढी, हरिया दाँत’ भन्ने उखानमा चरितार्थ बन्न पुग्छन् पनि । समाज तीव्र आकाङ्क्षी र बढी प्रतिस्पर्धी हुँदैछ । समाजमा एक किसिमको भाग दौड प्रतियोगिता चलेको छ । सम्पत्तिको ठुलो मोह छ, अन्त्यमा साँढे तीन फिटको जमिन नै पर्याप्त हुने ध्रुव सत्यलाई मानिसले बिर्सेको छ, त्रासदी घटनाहरू यत्रतत्र छन्, भनौँ मानिस जन्मँदै समस्या बोकेर जन्मिन्छ र हुर्कँदै, पढ्दै, बढ्दै जाँदा समस्या थपिँदै जान्छन् ।
देशमा व्यवस्था बदलियो, अवस्था उस्तै मात्रै रहेन, बढी ओरालो लाग्यो, भागदौड प्रतियोगिता चल्यो र धनको बढी कदर हुन थाल्यो । पंक्तिकारको एउटा तीतो अनुभव छ, झन्डै साँढे पाँच दशकअघि उसले एसएलसी परीक्षामा सामेल हुँदा काठमाडौँको भृकुटीमण्डपबाट २ लिटर मट्टितेल ग्यालेनमा बोकी कोठामा खाना बनाइ परीक्षामा सामेल हुनु परेको थियो, अहिले धेरै सुविधा छ तर, विद्यार्थीहरू जाँगरिला भएका छैनन् र आफ्नो भित्री कपडा आफू धुन जान्दैनन् अनि दाँत सफा गर्न शनिबार पर्खनु पर्छ । अभिभावकलाई काममा सहयोगको कुरै छैन, स्कूल छोड्न जानुपर्ने, लिन जानुपर्ने कक्षा ९ र १० का विद्यार्थीलाई, यो कस्तो जमाना आएको ।
मानव पुँजी निर्माणको सोपान शिक्षा र स्वास्थ्य नै हो । बाल स्वास्थ्य र कुपोषणमा बढी ध्यान दिन सकिएको छैन । परिवार स्वास्थ्य र सुरक्षित मातृत्वमा बढी ध्यान दिन सकिएन, क्षयरोगीको संख्या वृद्धि हुनु भएन, यौन रोग र एच.आई.भी अनि एड्सजस्ता रोगहरू नियन्त्रणमा रहन जरुरी छ । कुष्ठरोगदेखि नसर्ने उच्च रोगहरूको रोकथाम जरुरी छ । औलो र कालाजार निवारण गर्न जरुरी छ । खाने बानीमा परिवर्तन भएकाले मुख, दाँत, गिजाका समस्या बढेका छन् । विद्यालय शिक्षाका स्वास्थ्य शिक्षाको कमीले गर्दा केटाकेटीहरूको लवाई खुवाई, आँखाको समस्या, मानसिक स्वास्थ्यको समस्या थपिएका छन् । मोबाइल, कम्प्युटर, ल्यापटपले निम्त्याएको स्वास्थ्य समस्या, मनोसामाजिक र मानसिक स्वास्थ्य समस्या थपिँदै आएको छ । केटाकेटीहरू आफन्तसँग रमाउने भन्दा नेट, इन्टरनेटमा रमाउने परिवार, एक्लिएको अवस्था, बूढाबूढीहरूले माया नपाउने अवस्था सिर्जना भएको छ । अकालमा कसैले ज्यान गुमाउन नपरोस् भन्ने मूल्यमान्यतालाई आत्मसात् गरिनु पर्ने थियो ।
समूह, भीड जम्मा हुने स्थान, उद्योग, कलकारखाना, व्यवसाय, ठुला होटेल, रिसोर्ट, सिनेमा हल, विद्यालय, कार्यालय परिसर, राजमार्गलगायत भीड जम्मा हुने क्षेत्रमा अग्रिम स्वास्थ्य सेवाको पहुँच जरुरी छ । विद्यालयहरूमा मनोरञ्जन भन्दै व्यापक ध्वनि प्रदूषण गराइरहेको देखिएको छ । यो घातक कुरा हो । साथै, खानपिन, रहनसहन, जीवनशैलीप्रति पनि आम रूपमा सबैले ध्यान पु¥याउन सक्नु्पर्छ । हाम्रो समाजमा चिच्याहट छ, कुण्ठा छ, ईर्ष्या र वैमनस्यता छ, यसले नष्ट ऊर्जा, नकारात्मक ऊर्जा बढाउँछ र मान्छे छिटो शिथिल हुन्छ । हामीकहाँ बाल मनोविज्ञानका ज्ञाताहरू नै नभएको आभाष हुन्छ ।
मानव पुँजी निर्माण बिना राष्ट्र निर्माणको काम अधुरो रहन्छ । २१औँ शताब्दीको चुनौतीसँग सामना गर्ने दक्ष र स्वस्थ जनशक्तिको अभावमा अल्प विकसित एवम् विकासोन्मुख राष्ट्रहरू अहिले छटपटिएका छन् । संघीय संरचनाको अभ्यासमा रहेको हाम्रो मुलुक पनि असल मानव संसाधन विकासको योजनाको अभावबाट अछुतो छैन । मानव पुँजी निर्माणको आधार भनेको असल स्वास्थ्य अनि त्यसका लागि असल शिक्षा नै हो । असल स्वास्थ्य र गुणस्तरीय शिक्षाको अभावमा हामीकहाँ प्रशस्त मानव संसाधन विकास गरी मानव पुँजी निर्माण गर्न सकिएको छैन । फलस्वरूप सक्षम, कर्तव्यनिष्ठ, अनुशासित र उत्पादनशील जनशक्तिको अभाव झेल्दै आएको हाम्रो मुलुक लामो समयदेखि उच्चतम प्रयास गर्दा पनि समृद्ध र समुन्नत हुन सकेको छैन । यसमा नेतृत्वको दोष छ, सयौँ काण्डहरू लुकाउन खोज्ने राजनैतिक प्रणालीले देशको होनहार सन्ततिको पहिचान गर्न सकेन, गलत प्रयोगमा लगायो र अति भएपछि तिनीहरूले देशै छोडिदिए । बङ्गलादेशका युवाले त सहन सकेनन्, हामीकहाँ पनि युवा एकजुट हुने हो भने नेतृत्वलाई घिच्चाउन सक्छन् ।
जनगणनाअनुसार देशको कूल जनसंख्यामध्ये १८ वर्ष मुनिका बालबालिका एवम् किशोर किशोरीको संख्या ४४ दशमलव ४ प्रतिशत छ । १० देखि १९ वर्ष समूहका बालबालिका २४ दशमलव १९ प्रतिशत छन् । कूल जनसंख्याको ४० दशमलव ३५ प्रतिशत युवाहरू छन् । यी सबै समूहको उचित शिक्षा दीक्षा र असल स्वास्थ्यको वातावरण राज्यले तयार गर्न सकेको छैन । शिक्षित, अशिक्षित वा कम शिक्षित छन् धेरै जनशक्ति विदेश पलायन छ । मुलुकमा साक्षरताको अभियान अझै चलाउनु परेको अवस्था छ र विद्यालयमा ड्रप आउट संख्या बढेको छ । अब त सन्तान वृद्धि नै रोकिने अवस्था छ, भारत, चीनलाई जनसंख्याको पिरलो भएन, तर हामीकहाँ अभिभावकले सन्तान पाल्न नसकेर एउटा मात्रै जन्माउन थाले । अल्छी जनशक्ति आधा हो वा एक चौथाइ वा राज्य र घर परिवारको बोझ मात्रै हो । देशमा नीति नै तय भएन, लूटनीति र झुठ नीतिले देश सक्किने हो, उँभो नलाग्ने हो, कुन सूचक सकारात्मक छ देशमा ?