२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

भुइँमै विद्यार्थी

ADV
कृष्ण तिवारी
२०८१ भदौ १० गते ०६:४०
भुइँमै विद्यार्थी

रौतहट : सरकारले शिक्षा क्षेत्रमा गरेको लगानी भौत्तिक पूर्वाधार, विद्यार्थीका लागि आवश्यक डेस्कबेन्च र शिक्षकको तलबमा खर्च हुने गरेको छ । तर नेपालमा कैयन यस्ता विद्यालय पनि छन्, जहाँ डेस्कबेन्चको अभावमा भुइँमै बसेर विद्यार्थी अध्ययन गर्न बाध्य छन् ।

उदाहरण हो– रौतहटको फतुवा विजयपुर नगरपालिका–१ शितलपुरस्थित दलित प्राथमिक विद्यालय । यो विद्यालयमा डेस्कबेन्च खरिद गर्नका लागि नगरपालिकाले छुट्याएको रकमकै अनियमितता भएको आशंकासमेत स्थानीयले गरेका छन् ।

उक्त विद्यालयमा अध्ययनरत बालबालिकालाई बस्नका लागि फतुवा विजयपुर नगरपालिकाले गत वर्ष ४ लाख बढी रकम विनियोजन गरेको थियो । 

नगरपालिकाका शिक्षा संयोजक राजेश यादवले आइतबार विद्यालयमा अनुगमन निरीक्षण गरेका थिए । त्यसक्रममा विद्यालयमा एउटा पनि बेन्च डेस्क नरहेको र विद्यार्थीहरु भुइँमा बोरा ओछ्याएर पढ्न बाध्य रहेको पाइएको छ ।

शिक्षा संयोजक यादवका अनुसार नगरपालिकाले गत वर्ष बेन्च डेस्क खरिद गर्न उक्त विद्यालयलाई ४ लाखभन्दा बढी रकम उप्लब्ध गराएको थियो ।

एक वर्षदेखि दिवा खाजासमेत नखुवाइ दिवा खाजाको रकम पालिकाबाट बुझेर अनियमितता गरेको आरोप कतिपयले विद्यालयका प्रधानाध्यापक राजेन्द्र हजरामाथि लगाएका छन् ।

लालबकैया नदिको किनारमा १७ वर्ष अघि दलित प्राथमिक विद्यालय स्थापना गरिएको थियो । विद्यालय स्थापना भएको १७ वर्ष बितेपनि अझै विद्यालयको भवन निर्माण हुन सकेको छैन । 

बिना टाटीको टाएल्सको घरमा सञ्चालित उक्त विद्यालयमा विद्यार्थीलाई बस्न डेस्कबेन्च छैन । त्यति मात्र होइन विद्यालयमा शौचालय पनि छैन । शौचालय नहुँदा शिक्षक र विद्यार्थीहरु दिशा पिशाव खुला ठाउँमा गर्न बाध्य छन् । 

कक्षा १ देखि ५ सम्म पढाइ हुने उक्त विद्यालयमा एक सय ८१ जना विद्यार्थी अध्ययनरत रहेका छन् । विद्यालयमा प्रधानाध्यापकसहित चार जना शिक्षक र तीन जना बालविकास शिक्षक रहेका छन् । 

२०७७ सालमा तत्कालीन वडा अध्यक्ष सन्जय साहले उक्त विद्यालयको भवन निर्माण गर्नका लागि नगरपालिकाबाट १६ लाख रुपैयाँ निकासा गराएका थिए । अरु ठाउँमा तीन कठा जग्गा खरिद गरी मधेश प्रदेश सरकारको २५ लाखको लागतमा भवन समेत निर्माण भएको थियो । उक्त जग्गा र भवन विद्यालयलाई हस्तान्तरण नहँदा पनि समस्या भएको स्थानीय विद्यानन्द यादवले बताए । उनका अनुसार उक्त जग्गा र भवन एक प्रतिष्ठानको नाममा हस्तान्तरण भएको छ । 

विद्यालयका लागि जग्गा किन्न र भवन बनाउन सरकारले लाखौं रकम विनियोजन गरेपनि पूर्ववडा अध्यक्ष साहले ठूला नेताको शक्ति र पावरको आडमा विद्यालयलाई उक्त खरिद गरिएको जग्गा र निर्माण गरिएको भवन हस्तान्तरण नगरि कसैको निजी प्रतिष्ठानको नाममा पास गर्नु गैरकानूनी भएको भन्दै सम्बन्धित निकायले कानूनी कारबाहीका लागि कदम चाल्नुपर्ने बताए ।

ADVADV

सम्बन्धित खबर

Advertise