२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

काठमाडौंमा ओमानका विदेशमन्त्री

ADV
२०८१ भदौ ११ गते ०६:५०
काठमाडौंमा ओमानका विदेशमन्त्री

काठमाडौं : ओमानका विदेशमन्त्री सय्यद बद्र बिन हमाद बिन हमूद अल्बुसैदी नेपाल भ्रमणका क्रममा काठमाडौंमा छन् । विदेशमन्त्री अल्बुसैदी नेपालको दुई दिने औपचारिक भ्रमणका लागि सोमबार काठमाडौं आइपुगेका हुन् । 

परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाको निमन्त्रणामा नेपाल आएका ओमानका विदेशमन्त्री अल्बुसैदीले भ्रमणका दौरान दुई विदेश मन्त्रीबीच नेपाल–ओमान सम्बन्ध र अन्य विविध विषयमा द्विपक्षीय भेटवार्ता तथा छलफल गर्नेछन् । 

ओमानका विदेशमन्त्रीले भ्रमणका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग छुट्टाछुट्टै भेट गर्ने कार्यसूची छ । उनी भदौ ११ गते काठमाडौंबाट स्वदेश फर्किने तालिका छ ।

दुई मुलुकबीचको कूटनीतिक सम्बन्ध स्थापना भएपछि पहिलो पटक ओमानबाट उच्च भ्रमण भएको हो । 

नेपाल र ओमानबीच सन् १९७७ को जनवरी २१ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । पश्चिम एसियाको महत्वपूर्ण मुलुक ओमानमा नेपालले सन् २०१३ को सेप्टेम्बर १ मा दूतावास खोलेको थियो । 

ओमान नेपालीहरूका वैदेशिक रोजगारीका लागि पश्चिम एसियामा एउटा महत्वपूर्ण मुलुक हो । सरकारी तथ्याङुक अनुसार ओमानमा हाल करिब २४ हजार नेपाली श्रमिक छन् ।

ओमानका लागि नेपालकी पूर्वराजदूत शर्मिला पराजुलीका अनुसार ओमानसँग नेपालले धेरै कुरामा सहकार्य गर्न सक्छ । ग्रीन इजर्जी र फर्टिलाइजरमा नेपालले सहकार्य गरेर फाइदा लिन सक्छ । ओमानले नेपालको ऊर्जा क्षेत्रमा पनि लगानी गर्ने चाहना व्यक्त गर्दै आएको छ । 

ओमानबाट पहिलो उच्चस्तरीय भ्रमण भएतापनि नेपालबाट यसअघि नै केही महत्वपूर्ण भ्रमण भएका थिए । सन् १९८६ मा राजा वीरेन्द्र शाह र रानी ऐश्वर्या, सन् १९८५ मा परराष्ट्रमन्त्री रणधीर सुब्बा, सन् २०१७ मा उपप्रधान तथा रक्षामन्त्री भीम रावल र सन् २०१७ मा प्रधानमन्त्री शेरबहादुर देउवाले ओमानको औपचारिक भ्रमण गरेका थिए । 

ओमानबाट भएको पहिलो उच्चस्तरीय भ्रमणको समयमा दुई मुलुकबीचको सम्बन्धलाई थप बलियो बनाउनको लागि छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

ओमानबाट नेपाललाई महत्व दिँदै विदेशमन्त्रीस्तरमा भ्रमण भएकोले यसलाई नेपाल सरकारले सदुपयोग गर्न सक्नु पर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् । नेपालले सक्दा ओमानबाट फाइदा लिन सक्ने उनीहरुको राय छ । राष्ट्रपति, प्रधानमन्त्री, परराष्ट्रमन्त्री लगायतका उच्च अधिकारीसँग भेटघाट हुने भएकाले पनि सकारात्मक प्रयासका लागि फाइदा पुग्नेछ । 

ADVADV

सम्बन्धित खबर

Advertise