२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

सुर्खेतमा यातायात व्यवसायीबीच विवाद, दिनहुँ यात्रु खोसाखोस

ADV
कुलेन्द्र शाही
२०८१ भदौ ११ गते १४:२५
सुर्खेतमा यातायात व्यवसायीबीच विवाद, दिनहुँ यात्रु खोसाखोस

सुर्खेत : सुर्खेत बसपार्कमा यातायात व्यवसायीबीच नै विवाद हुँदा लामो समयदेखि यात्रु तानातानको स्थिति सिर्जना भइरहेको छ । गत फागुन २४ गते यात्रु खोसाखोस गर्ने क्रममा बस व्यवसायीबीच विवाद हुँदा एक जना बस व्यवसायीका कर्मचारी घाइते भएको थिए । व्यवसायीबीच हात हालाहाल हुँदा प्रहरीले त्यतिबेला एक जनालाई नियन्त्रणमा लिएको थियो ।

उक्त घटनापछि प्रहरीले यातायात व्यवसायीलाई यात्रु खोसाखोस नगर्न सुझाव दिँदै सुरक्षामा कडाइ गरेको दाबी गर्दै आएको थियो । तर बसपार्कमा अहिले पनि यात्रु तानातानको प्रक्रिया निरन्तर चलिरहेको छ ।

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरबाट दैनिक सयौं सार्वजनिक यातायात विभिन्न जिल्लाका लागि छुट्ने गर्छन् । यातायात व्यवसायीबीच स्वच्छ प्रतिस्पर्धाभन्दा बसपार्क पुग्ने यात्रुहरू तानातान गर्दा यात्रुहरूलाई नै सास्ती भएको छ । यहाँ विशेष तीन यातायात प्रा.लि.बीच विवाद हुँदा यात्रुहरूले सास्ती खेप्नु परेको छ । ८ वटा यातायात प्रा.लि. मिलाएर संयुक्तरूपमा गाडीहरू बसपार्कबाट छुटाउने गरिएको छ । यता हिल्सा पब्लिक र भिजिट कर्णालीले भने एक्लै सवारी छुटाउँदै आएका छन् ।

आइतबार बिहान हिल्सा पब्लिक, भिजिट कर्णाली र संयुक्त यातायात व्यवसायीका कर्मचारीबीच यात्रु कसले चढाउने भन्ने विषयमा विवाद हुँदा संयुक्त यातायात व्यवसायीहरूले केहीबेर सडकमा गाडी तेर्साएर हडताल नै गरे । यहाँ संयुक्तले हिल्सा र भिजिटलाई विभिन्न आरोप लगाउँदै पन्छिन खोज्ने गरेको छ भने हिल्सा र भिजिटले उनीहरूलाई आरोप लगाउँदा दैनिकजसो बसपार्कमा विवाद सिर्जना भइरहेको छ । 

वीरेन्द्रनगरमा रहेको एउटा मात्रै बसपार्कमा यस्ता घटना दिनहुँ देखिरहन्छन् । विशेषतः गाडीका सहचालकहरू अटोलाई रोकेर समेत यात्रुहरूलाई तानातान गर्छन् । यातायात व्यवसायीहरुले वीरेन्द्रनगरको एक चोकबाट अर्को चोक जानका लागि अटोमा बसेका यात्रुहरूलाई समेत रोकेर तानातान गर्दै सास्ती दिने गरेको गुनासो यात्रु र अटो चालकको छ ।

यात्रु कता जाने हो थाहा नभएपनि तानातान गर्ने गरेको यात्रुहरूको गुनासो छ । लामो दुरीको यात्रा गर्ने यात्रुले मात्रै होइन, पैदल हिँड्ने यात्रुले पनि वीरेन्द्रनगर बसपार्कमा हिँड्दा ठूलै झन्झट व्यहोर्नु परिरहेको हुन्छ । बसपार्क नजिकबाट एक जना मान्छे हिँड्दा पनि उसलाई तान्न पाँच जना भन्दा धेरै पुग्ने गरेको बसपार्क नजिक व्यवसाय सञ्चालन गरेर बस्नेहरू बताउँछन् । यता सुर्खेत देउती नागरिक यातायात प्रा.लि.का सचिव रमेश खड्काले बसपार्कमा दैनिक जसो यात्रुहरू खोसाखोस हुने गरेको स्वीकार गरे । ‘यात्रु खोसाखोस भएको सही हो । यो विवाद सिर्जना गराउने हिल्सा र भिजिट हुन्,’ उनले भने, ‘हामीले संयुक्तरूपमा आउनुहोस् सबैलाई सहज हुन्छ भन्दा उहाँहरू मान्नुहुन्न, त्यसले गर्दा बसपार्कमा दिनहुँ किचलो भइरहेको हुन्छ ।’ 

उनले भिजिट र हिल्सा संयुक्तमा समावेश नभएमा संयुक्त यातायात पनि टुटफुट हुने चेतावनी दिए । ‘उहाँहरू मान्नुहुन्न भने हामी पनि टुटफुट हुन्छौं । त्यसपछि झन् यात्रुलाई सास्ती हुन्छ । यात्रु खोसाखोस हुन्छ,’ सचिव खड्काले भने ।

यता, भिजिट कर्णाली यातायात प्रा.लि.का अध्यक्ष प्रकाश कुमार शाहीले आफूहरू संयुक्तमा गाभिन सम्भव नभएको बताउँछन् । ‘हामी नयाँ भयौं, सेवा सुविधा राम्रो दियौं । यात्रुहरू हाम्रोमा आउन थाले त्यही संयुक्तलाई मन परेन,’ उनले भने, ‘उहाँहरू संयुक्तमा आउने बराबर गर्ने भन्नुहुन्छ । हामी त्यो मान्दैनौं । हामीले स्वतन्त्ररूपमा व्यवसाय गर्न पाउनुपर्छ ।’ 

यस्तै हिल्सा पब्लिक यातायात प्रा.लि.का अध्यक्ष उपेन्द्र शाहीले स्वतन्त्ररूपमा व्यवसाय गर्न संयुक्तले बाधा पुर्‍याएको बताए । उनले भने, ‘संयुक्तको नाममा जुन सिन्डिकेट लाद्ने काम भइरहेको छ, यो गलत हो । अहिलेको समयमा सबैले व्यवसाय गरिखान पाउनुपर्छ, त्यसैले हामी स्वतन्त्ररूपमा चल्न पाउनुपर्छ भन्दै यात्रुहरूलाई सेवा दिइरहेका छौं ।’

यता जिल्ला प्रहरी कार्यालय सुर्खेतले भने बसपार्कमा यात्रु खोसाखोस नभएको दाबी गरेको छ । बसपार्कमा यात्रु खोसाखोस नभइ उनीहरूबीच आफ्नै विवाद हुने गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक रुपेश खड्काले जानकारी दिए । ‘यात्रु खोसाखोस भएको भन्ने सामान्य हो । हामीले दैनिकरूपमा प्रहरी खटाएकै छौं । उहाँहरू आफैं विवाद सिर्जना गर्नुहुन्छ,’ उपरीक्षक खड्काले भने, ‘यदि यात्रु खोसाखोस भएको रहेछ भने पनि हामी सुरक्षामा कडाइ गर्छौं ।’

ADVADV

सम्बन्धित खबर

Advertise