२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

पर्वमा परिवार खोजिरहेका आँखाहरुसँग तिज

ADV
मध्यान्ह
२०८१ भदौ १२ गते १६:०१
पर्वमा परिवार खोजिरहेका आँखाहरुसँग तिज

काठमाडौं : काठमाडौंको मीनभवनमा रहेको निःसहाय सेवा सदनमा तिजको गीत बज्न थालेपछि त्यहाँ रहेका ज्येष्ठ नागरिकहरु कोही फुरफुर गर्न र कोही टोल्हाउन थाले । 

सधैं जस्तै बिहानको खाना खाने समय उनीहरुका लागि अन्य दिनभन्दा फरक रहेको थियो जहाँ हालै मात्र हरितालिका तिज पर्वलाई ध्यानमा राखेर सार्वजनिक गरिएको ‘यसपालिको तिज रमाइलो’ गीत बजिरहेको थियो ।

गीतकार निर्मलराज पौडेलले यसपटकको तिजलाई भिन्न ढंगले मनाउने सन्दर्भमा बुधबार उक्त सेवा सदनका ज्येष्ठ नागरिकहरुसँग तिज मनाउन पुगेका थिए । त्यस अवसरमा पौडेलले ज्येष्ठ नागरिकलाई आफू र गायिका शान्तिश्री परियारको स्वरबद्ध तिज गीत सुनाउँदै दरमा सामेल भएका थिए । ‘चेलीबेटी ज्यान माया माइतमै हाँसेर, तिज आयो ज्यान माया छमछमी नाचेर’ बोलको गीत सुनेर ज्येष्ठ नागरिकहरुको मुहारमा खुसी छचल्किएको थियो । 

त्यस अवसरमा काठमाडौं महानगर–३१ का वडाध्यक्ष सरोज ढकालले पनि ज्येष्ठ नागरिकहरुका लागि वडाले सक्दो सहयोग गरिरहेको बताए । उनले भने, “निःसहाय सेवा सदनले ज्येष्ठ नागरिकहरुलाई आफ्ना परिवारको अभाव हुन दिइरहेको छैन, यो ज्यादै खुसीको कुरा हो र यहाँको व्यवस्थापन निकै लोभलाग्दो छ ।”

सेवा सदनका सह–प्रशासकीय अधिकृत योगेश अधिकारीका अनुसार सदनमा ६५ देखि १०० वर्षसम्मका ३९ जना ज्येष्ठ नागरिकहरु रहेका छन् । अधिकारीले भने, “यो अवस्थामा उहाँहरुलाई सबैभन्दा खड्किने कुरा भनेकै परिवार रहेछ । हामीले सक्दो गरिरहेका हुन्छौँ तर पनि नौलो मान्छे र केटाकेटी देख्नेबित्तिकै टोल्हाउने, झ्यामिने गर्नुहुन्छ । आँखाबाट बरर आँसु झार्नुहुन्छ ।”

गीतकार पौडेलको शब्द र चर्चित गायिका शान्तीश्री परियार र संगीतकार मोहित मुनालको सृजनामा ‘यसपालिको तिज रमाइलो’ नामक गीत केही समयअघि सार्वजनिक भएको थियो ।

ADVADV

सम्बन्धित खबर

Advertise