२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

पाँचथरमा बम विस्फोट : दाजुबहिनीको मृत्यु

ADV
मध्यान्ह
२०८१ भदौ १४ गते १०:३६
पाँचथरमा बम विस्फोट : दाजुबहिनीको मृत्यु

पाँचथर : फालेलुङ गाउँपालिका–५ डाँडागाउँमा बिहीबार बम विस्फोट हुँदा घाइते भएका दुई बालबालिकाको मृत्यु भएको छ । विस्फोटमा घाइते भएका फालेलुङ–५ डाँडागाउँका दिलीप साँवाका ११ वर्षीय छोरा दीपसन साँवा र दुई वर्षीया छोरी प्रिन्साको उपचारका लागि झापा लैजाने क्रममा गए राति मृत्यु भएको हो । 

शरीरका विभिन्न भागमा चोट लागेका उनीहरूको जिल्ला अस्पताल फिदिममा उपचार सम्भव नभएपछि चिकित्सकले झापाको विर्तामोड ‘रेफर’ गरेका थिए । बहिनीको बिहीबार बेलुकी इलाम पुर्याउँदै गर्दा तथा दाजु दीपसनको आज बिहान विर्तामोडको बिएण्डसी अस्पतालमा मृत्यु भएको पाँचथर जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

विस्फोटमा घाइते स्थानीय ज्ञानबहादुर राईका छोरा ११ वर्षीय पवन राईको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । अर्का घाइते स्थानीय दीपक राईका सात वर्षीय छोरा पवन स्थानीय स्वास्थ्यचौकीमा उपचारपछि घर फर्केका छन् ।

घटनास्थलमा अर्को पनि शङ्कास्पद वस्तु फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रमुख हेमन्त भण्डारी क्षेत्रीले जानकारी दिए । घटनाबारे अनुसन्धान गर्न तथा विस्फोटक वस्तु निस्तेज पार्न रणशेर गण फिदिमबाट नेपाली सेनाको टोली घटनास्थल पुगेर अनुसन्धान थालेको छ । 

शङ्कास्पद वस्तु फालेलुङ–५ डाँडागाउँका आइतराज केरुङको घरमा विस्फोट भएको जनाइएको छ । यद्यपि अहिले उक्त घरमा ज्ञानबहादुर राईको परिवार बस्दै आएको प्रहरीले जनाएको छ । 

बिहीबार दिउँसो  ती बालबालिका खेल्ने क्रममा विस्फोट भएको थियो । प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी टोलीले घटनास्थलमा अनुसन्धान जारी राखेको प्रमुख क्षेत्रीले जानकारी दिए । 

ADVADV

सम्बन्धित खबर

Advertise