२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

गर्नै नहुने राजनीति

ADV
२०८१ भदौ १९ गते ०६:५५
गर्नै नहुने राजनीति

राजधानी शहर रहेको काठमाडौं महानगरका मेयर बालेन्द्र शाह र सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेका नेता–कार्यकर्ताबीच जुहारी चलिरहेको छ । बालेनका समर्थकहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको फेसबुक पेजमा अनफलो अभियान चलाएका छन् । मेयर बालेन आफै एमाले नेतृत्वविरुद्ध लगातार फेसबुक स्टाटस लेखिरहेका छन् भने यसको जवाफमा एमाले पंक्ति खडा भएको देखिन्छ । बालेन र एमालेबीच दुईवटा विषयमा दोहोरी चलिरहेको छ– राजधानी उपत्यकाभित्रका नदी किनारका बस्तीको समस्या र एमाले नेतृ रेखा शर्माको घरबाट उद्धार गरिएकी बालिका । शर्माको घरमा एक बालिकालाई श्रम शोषण गरेर राखिएको भन्दै मेयर बालेनले कानुनी कारबाहीको माग फेसबुक मार्फत गरिरहेका छन् । यसको प्रतिवादमा एमाले कार्यकर्ता उत्रिएका छन् । 

उपत्यकाभित्र रहेको नदी किनारका बस्तीप्रतिको समस्यामा त बालेन लगभग एक्लिएका छन् । संसद्, सडकदेखि महानगरकै बैठकमा पनि मेयर बालेनको कदमप्रति आपत्ति जनाइएको छ । उपमेयर सुनिता डंगोलले मेयर बालेनले जारी गरेको सूचनाप्रति प्रश्न उठाएकी छन् । मेयर बालेनले भने सर्वोच्च अदालतको आदेशलाई कारण देखाएका छन् । सर्वोच्चले बातावरण संरक्षण अभियान्ताको रिटमा गत ३ पुसमा खोला किनारबाट ४० मिटर परसम्म कुनै संरचना निर्माण नगर्न ओदश दिएको छ । यसअघि २० मिटरको मापदण्ड थियो । तर न्यायाधीशहरु डा. आनन्दमोहन भट्टराई र विनोद शर्माको इजलासले बागमती, विष्णुमति लगायत नदी किनारमा थप २० मिटरको मापदण्ड कार्यान्वयन गर्न आदेश दियो । यही आदेशलाई लिएर गत २९ साउनमा मेयर बालेनले सूचना जारी गरेका थिए । 

आदेशका पूर्ण पाठ आउनासाथ मेयर बालेनले चालेको कदमप्रति राजनीतिक वृत्त नै तरंगित बनेको देखिन्छ । किनकि नदी किनारबाट ४० मिटरको मापदण्ड पालना सजिलो देखिदैन । यो आदेश कार्यान्वयनको संभाव्यता अध्ययन गर्न सरकारले कार्यदल नै बनाएको छ । तर मेयर बालेनले हतार सूचना जारी गरे, प्रतिवादमा एमाले उत्रियो । अर्थात् बालेन र एमाले बीच दोहोरी चलिरहेको दुवै विषय संवेदनशील हो । संवेदनशील विषयलाई हल्का रुपमा लिइनु हुँदैन । तर एमाले र बालेनको पुरानै निषेधको नीतिका कारण यी विषयहरु गिजोलिने खतरा बढेको छ । सहकार्य, संवेदना र सचेततापूर्वक लिनुपर्ने विषयमा राजनीति भइरहेको आमनागरिकमै सन्देश गइरहेको छ । तर यो कोर्स सच्चिन आवश्यक छ ।  

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise