२०८३ मंसिर ११ गते शुक्रवार / Nov 27 , 2026 , Friday
२०८३ मंसिर ११ गते शुक्रवार

भोटेकोशीमा भेटिएन सरकार

Nada
२०८३ मंसिर ११ गते ०६:१०
Shares
भोटेकोशीमा भेटिएन सरकार

भोटेकोशी र त्रिशूली नदीमा विनाशकारी बाढी आएको तीन महिना बित्न लाग्दा पनि बेपत्ता नागरिकको खोजी र मृतकको पहिचान हुन सकेको छैन । बाढीले आफन्त गुमाएका परिवारको पीडा अझै उस्तै छ । कसैलाई आफ्ना परिवारका सदस्य जीवितै भेटिने आशा छ भने कसैले मृत्यु भएको स्वीकार गरिसके पनि अन्तिम संस्कारका लागि शव पाउन सकेका छैनन् । यस्तो अवस्थामा राज्यले छिटो काम गर्न नसक्दा पीडित परिवारको पीडा झन् बढेको छ । प्राकृतिक विपत्ति मानिसको वशमा हुँदैन, पूर्वसावधानी अपनाउन सकिए पनि यसलाई रोक्न सधैं सम्भव हुँदैन । तर, विपत्तिपछि पीडित नागरिकलाई राहत दिने, बेपत्ताको खोजी गर्ने र मृतकको पहिचान गरी परिवारलाई शव बुझाउने काम राज्यको जिम्मेवारी हो । बाढीमा मृत्यु भएका एक हजार ४५७ जना र बेपत्ता सूचीमा रहेका हजारौं नागरिक केवल सरकारी तथ्यांकमा मात्र सीमित रहनु विडम्बना हो । आफन्त गुमाएकाहरूले लामो समयदेखि अनिश्चितता र पीडा भोगिरहेका छन् ।

सरकारले शवबाट एक हजार ४४५ वटा नमुना संकलन गरेको छ भने बेपत्ता व्यक्तिका परिवारका २ हजार १११ जनाको रगतको नमुना लिएको छ । परीक्षणका क्रममा १९५ वटा शवका नमुना परिवारका सदस्यको डिएनएसँग मिलेका छन् । यो सकारात्मक कुरा हो । तर, नमुना मिलिसक्दा पनि शवको अन्तिम पहिचान हुन नसक्नु चिन्ताको विषय हो । एउटै परिवारका धेरै सदस्य बेपत्ता भएका कारण पहिचान गर्न कठिन भएको सरकारी भनाइ छ । तर, यस्तो कठिनाइ देखाएर काममा ढिलाइ गरिरहन मिल्दैन । शवको सही पहिचान हुनु आवश्यक छ । हतारमा गलत व्यक्तिको परिवारलाई शव बुझाउँदा अर्को समस्या आउन सक्छ । त्यसैले डिएनए परीक्षणसँगै अन्य प्रमाण पनि हेर्नुपर्छ । तर, यो काम कहिलेसम्म पूरा हुन्छ भन्ने जानकारी परिवारले पाउनुपर्छ । सरकारले पहिचानको काम कुन अवस्थामा पुगेको छ र बाँकी काम कहिलेसम्म सकिन्छ भन्ने कुरा नियमित रूपमा सार्वजनिक गर्नुपर्छ । 

बेपत्ता व्यक्तिको विवरणमा दाबी गर्न सात दिनको समय दिइएको छ । यो पनि आफैंमा पर्याप्त छैन । कतिपय परिवार दुर्गम क्षेत्रमा छन् । कतिपयका आफन्त विदेशमा छन् । सबैले छोटो समयमा सूचना पाएर आवश्यक प्रमाण जुटाउन सक्दैनन् । त्यसैले सरकारले सूचना गाउँगाउँसम्म पु¥याउनुपर्छ र विवरण सच्याउन चाहने परिवारलाई आवश्यक सहयोग गर्नुपर्छ । भारत, चीन र दक्षिण कोरियाले प्राविधिक सहयोग गरिरहेका छन् । नेपालका प्रयोगशालाले पनि परीक्षणको काम अघि बढाएका छन् । अब सरकारले उपलब्ध जनशक्ति, उपकरण र स्रोतको राम्रो उपयोग गरेर पहिचानको काम छिटो टुंग्याउनुपर्छ । नेपालमा सरकारी निकायबीच समन्वय नहुने प्रवृत्ति छ । परिणाममा जनताले समयमा सेवा प्राप्त गर्न सकिरहेका छैनन् । यस्तै प्रवृतिविरुद्ध जनताले परिवर्तन खोजेका छन् । यो बुझियोस् र राज्य हुनुको अनुभूति दिलाइओस् । सरकारी निकायबीच तालमेल मिलाओस् र पीडितको पीडामा मल्हम लगाइओस् ।

laxmi recruitement

सम्बन्धित खबर