
प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणले नेपाल–भारत सम्बन्धमा नयाँ संवाद र सहकार्यको ढोका खोलेको छ । लामो समयदेखि रोकिएका केही विषयमा सहमति जुट्नु र नयाँ परियोजनामा साझेदारी अघि बढ्नु भ्रमणका सकारात्मक पक्ष हुन् । तर, पुराना राजनीतिक तथा कूटनीतिक मुद्दा यथावत् रहनुले भ्रमणको उपलब्धिलाई कार्यान्वयन र परिणामका आधारमा मूल्यांकन गर्नुपर्ने देखाएको छ ।
भ्रमणको सबैभन्दा महत्त्वपूर्ण उपलब्धिमध्ये भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि भारततर्फबाट हवाई रुट खुलाउने सहमति हो । सन् २००९ देखि नेपालले माग गर्दै आएको काठमाडौं–भैरहवा–लखनऊ ‘बी३४५’ हवाई मार्गलाई दुईतर्फी बनाउने सहमतिले नेपालको हवाई कनेक्टिभिटी विस्तारमा महत्त्वपूर्ण आधार तयार गरेको छ । यसबाट अन्तर्राष्ट्रिय उडानको दूरी, समय र इन्धन खर्च घट्ने तथा भैरहवा विमानस्थलको व्यावसायिक सम्भावना बढ्ने अपेक्षा छ । तर, सहमतिलाई कार्यान्वयनमा लैजाने प्राविधिक प्रक्रिया प्रस्ट भइसकेको छैन । त्यस्तै, रसुवा–भोटेकोशी बाढीपछिको पुनर्निर्माण र पूर्वाधार विकासका लागि भारतले २ खर्ब ४० अर्ब रुपैयाँबराबरको विकास सहायता उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ । यसमध्ये ५६ अर्ब रुपैयाँ अनुदान र १ खर्ब ८४ अर्ब रुपैयाँ ऊर्जा क्षेत्रका लागि सहुलियतपूर्ण ऋण हो । विपद्पछिको पुनर्निर्माण, ऊर्जा, रेल, सडक, पेट्रोलियम पाइपलाइन र पारवहनका क्षेत्रमा भएका सहमतिले आर्थिक सहकार्य विस्तारको सम्भावना देखाएका छन् । अयोध्या–जनकपुर रेल सेवा, काण्डला बन्दरगाहसम्मको पहुँच र तल्लो अरुण आयोजनाको शिलान्यास पनि महत्त्वपूर्ण उपलब्धि हुन् ।
समझदारी धेरै हुँदैमा सम्बन्धका सबै समस्या समाधान भएका मान्न सकिँदैन । सीमा विवाद, इपिजी प्रतिवेदन, सन् १९५० को सन्धि पुनरावलोकन र बढ्दो व्यापार घाटाजस्ता विषयमा अपेक्षित प्रगति हुन सकेन । विदेश सचिवलाई सीमा समस्याबारे अध्ययन गर्न निर्देशन दिनु संवादको सुरुवात मान्न सकिए पनि यी विषयमा स्पष्ट समयसीमा र राजनीतिक प्रतिबद्धता आवश्यक छ ।
नेपालका लागि भारत सबैभन्दा महत्त्वपूर्ण व्यापारिक तथा पारवहन साझेदारमध्ये एक हो । त्यसैले सम्बन्धलाई भावनात्मक निकटतामा मात्र सीमित नराखी आर्थिक लाभ, राष्ट्रिय हित र समानताका आधारमा अघि बढाउनुपर्छ । भारतीय सहयोगले नेपालको विकासमा योगदान दिन सक्छ, तर त्यसका लागि परियोजना छनोट, ऋणको उपयोग र प्रतिफलको सुनिश्चितता नेपालकै प्राथमिकताअनुसार हुनुपर्छ । प्रधानमन्त्री शाहले समझदारीको प्रतिफल किसानको खेत, युवाको रोजगारी र उद्यमीका अवसरमा देखिनुपर्ने बताएका छन् । अब सरकारले यही प्रतिबद्धतालाई व्यवहारमा उतार्नुपर्छ ।