२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

सात महिनादेखि व्यवस्थापन समितिविहीन शिवालयको इन्द्र ज्योति मावि

ADV
कुलेन्द्र शाही
२०८१ भदौ १९ गते १४:५३
सात महिनादेखि व्यवस्थापन समितिविहीन शिवालयको इन्द्र ज्योति मावि

सुर्खेत : जाजरकोटको शिवालय गाउँपालिका ५ र ६ को केन्द्र थालारैकरमा रहेको इन्द्र ज्योति माविमा विद्यालय व्यवस्थापन समिति गठनमा अन्योलता देखिएको छ । विगत लामो समयदेखि विद्यालय समितिविहीन भएको छ । यसअघिका व्यवस्थापन समितिका अध्यक्ष विनोद शाहीको गत फागुन १२ गते कार्यकाल सकिसकेको छ । उनको कार्यअवधि सकिएको ७ महिना बढी भइसक्दा पनि समिति गठनमा विद्यालयले चासो नदेखाएको अभिभावको गुनासो छ । 

विद्यालयका प्रधानाध्यापक शर्मिला रावल शाहीलगायत विद्यालय प्रशासनले समिति गठनमा चासो नदिँदा ७ महिनादेखि विद्यालय समितिविहीन भएको हो । विद्यालयको सञ्चालन, रेखदेख र व्यवस्थापनका लागि कुनै पनि अवस्थामा व्यवस्थापन समिति हुनुपर्ने शिक्षा ऐनको प्रावधानलाई बेवास्ता गरेर लामो समयदेखि विद्यालय चलिरहँदा त्यसले गुणस्तरीय शिक्षण सिकाइ र वृत्तिविकासमा निकै समस्या भइरहेको सरोकारवालाले बताएका छन् ।

गत असार १५ गते अभिभावक भेलामार्फत समिति गठन गर्ने निर्णय गरिएको थियो । यद्यपि भेलामा अध्यक्षको आकांक्षामा धेरै भएकाले समिति गठन हुन सकेन । १५ गतेको भेलाले भदौको पहिलो साता समिति गठन गर्ने निर्णय गरेको थियो । तर भदौ १९ गते भइसक्दा पनि प्रशासनले कुनै चासो नदिँदा समिति गठनमा ढिलाइ भएको अभिभावको भनाइ छ । विद्यालय प्रशासनले आफ्नो पायक पर्ने मान्छेलाई अध्यक्ष राख्ने योजना बनाएको हुँदा पनि समिति गठन हुन नसकेको विद्यालय कर्मचारीहरु नै बताउँछन् । 

विभिन्न बहाना देखाउँदै प्रशासन !

समितिको अध्यक्षमा धेरैले आकांक्षा देखाएको हुँदा गठनमा ढिलाइ भएको जनाइएको छ । विद्यालयका निमित्त प्रअ प्रेम शाहीले अध्यक्षका लागि धेरैले आकांक्षा देखाएको हुँदा विद्यालयमा समिति गठनमा ढिलाइ भएको स्वीकार गरे । ‘२१ जनाभन्दा बढीले अध्यक्ष हुन्छु भन्दै दाबी गरेका छन् । हामी सर्वसहमति गर्ने गरी तयारीमा लागेका छौ,’ उनले भने ‘केही ढिलाइ त भएको हो, अब छिट्टै गठन हुन्छ ।’ 

यस्तै विद्यालयका लेखापाल शेरबहादुर शाहीले पनि विद्यालय व्यवस्थापन समिति गठनमा ढिलाइ भएको सहजै स्वीकार गरे । उनले भदौ २५ गतेसम्म समिति गठन गर्ने गरी तयारी थालिएको जानकारी दिए । लेखापाल शाहीले विद्यालयमा पायक पर्ने मान्छे राख्ने कुरा गलत भएको बताए । आफूहरु प्रक्रियामा रहेकाले केही दिनमै समितिले पूर्णता पाउने उनको भनाइ छ । ‘विद्यालय व्यवस्थापन समिति प्रयोजनका लागि गत असारमा अभिभावक भेला आयोजना गर्‍यौं,’ उनले भने, ‘व्यवस्थापन समिति गठनमा सहमति जुटेन, अब छिट्टै गठन गर्छाैं ।’

यस्तै वडा नम्बर–६ का वडाध्यक्ष धनबहादुर बुढाले व्यवस्थापन समितिको अध्यक्षमा धेरैको दाबी भएको हुँदा समिति गठनमा अन्योता भएको बताए । उनले विद्यालयलाई राजनीतिक नभइ सबैको साझा थलोका रुपमा राख्न आग्रह गरे । उनले समिति गठनका सम्बन्धमा सरोकारवालाहरुसँग छलफल गरी चाँडै प्रक्रिया अगाडि बढाइने बताए । यस्तै शिवालय गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखामा कार्यरत प्राविधिक सहायक ओमबहादुर नेपालीले आफूहरुले व्यवस्थापन समिति गठनका लागि बारम्बार ताकेता गरेपनि विद्यालय प्रशासनले अटेर गरेको बताए । उनले अबको केही दिनमा समिति गठन गर्ने प्रतिबद्धता जनाए ।

यी हुन् अध्यक्षका आकांक्षी

अध्यक्ष पदमा करिब १८ जनाभन्दा बढीले दाबी गरेको छन् । यसअघि नै अध्यक्ष भइसकेकालेसमेत दाबी गरेको हुँदा सर्वसहमति हुन कठिन देखिएको छ । 

विनोद शाही, पर्शुराम शर्मा, शेरबहादुर खत्री यसअघि नै अध्यक्ष भइसकेका छन् । उनीहरुले पुनः अध्यक्षमा दाबी गरको छन् । यस्तै अध्यक्षकै लागि कृष्णबहादुर शाही, भिम बहादुर शाही, सिर्जना रेग्मी शाही, लालबहादुर शाहीलगायतले पनि आकांक्षा देखाएका छन् । 

अध्यक्ष हुनकै लागि छोरीलाई इन्द्र ज्योतिमा भर्ना

अध्यक्ष पदका दाबेदार कृष्ण शाहीले आफ्नो छोरीलाई कोहलपुरदेखि ल्याएर इन्द्र ज्योतिमा भर्ना गराएका छन् । कक्षा १–१० सम्म कोहलपुरमा अध्ययन गराएका उनले यसपटक आफू अध्यक्ष हुनका लागि छोरीलाई इन्द्र ज्योतिमा भर्ना गराएको धेरैको बुझाइ छ ।

विद्यालय व्यवस्थापन समितिको अध्यक्ष हुनका लागि विद्यालयको अभिभावक हुनुपर्ने कानूनी प्रवाधान छ । सोही अनुसार उनले विद्यालयमा आफ्नो छोरीलाई भर्ना गराएको स्थानीयको भनाइ छ ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise