२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

‘मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन संशोधन गरिने’

ADV
मध्यान्ह
२०८१ भदौ १९ गते १५:०६
‘मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन संशोधन गरिने’

काठमाडौँ, १९ भदौः महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन यथाशीघ्र संशोधन गरी समयसापेक्ष बनाइने बताएका छन् ।

मानव बेचबिखन तथा ओसारपसार विरुद्धको १८औँ राष्ट्रिय दिवसका अवसरमा महिला, कानुन र विकास मञ्चले आज यहाँ आयोजना गरेको छलफलमा मन्त्री साहले प्रक्रिया पूरा गरेर ऐन संशोधन गरिने बताए । उनले विसं २०८१ मा ऐन संशोधन गरिसक्ने गरी प्रक्रिया अघि बढाउने प्रतिबद्धता व्यक्त गरे ।

“कानुन बनाएर वा संशोधन गरेर मात्र पुग्दैन, यसको कार्यान्वयन पनि हुनुपर्छ । कार्यान्वयनका लागि सबैको सहयोग आवश्यक पर्छ, अहिले पनि नागरिकको शारीरिक शोषण भइरहेका छन्, यो लज्जास्पद विषय हो । तसर्थ कानुन संशोधनमार्फत् यस्ता विषयको सम्बोधन हुन्छ”, मन्त्री साहले भने ।

मञ्चका कार्यकारी निर्देशक सबिन श्रेष्ठले मानव बेचबिखन विशेषगरी महिला तथा बालबालिकाको बेचबिखनलाई रोक्ने, दबाउने र सजाय गर्ने परिपूरक उपलेख, २००० (पार्लेमो प्रोटोकल) कार्यान्वयनका लागि मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ लाई संशोधन गर्नुपर्नेमा जोड दिए । 

पार्लेमो प्रोटोकल नेपालले सन् २०२० जुन १६ मा अनुमोदन गरेको थियो । नेपालले पार्लेमो प्रोटोकल अनुमोदन गरेको चार वर्ष बितिसक्दा पनि मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ मा संशोधन हुन सकेको छैन ।

कार्यक्रममा मञ्चका अध्यक्ष गीता अर्याल, अधिवक्ताद्वय रोजिना श्रेष्ठ र विनोदचन्द्र देवकोटालगायतले अन्तर्राष्ट्रियस्तरमा जनाएको प्रतिबद्धता पूरा गर्न पनि यथाशीघ्र मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ संशोधन हुनुपर्नेमा जोड दिए ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise