२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

हरितालिका तिज पर्व मनाइँदै

ADV
मध्यान्ह
२०८१ भदौ २१ गते ०६:५५
हरितालिका तिज पर्व मनाइँदै

काठमाडौं : नेपाली महिलाहरुले आज हरितालिका तीज पर्व मनाउँदैछन् । हरित अर्थात् हरण गरिएकी र आलिका अर्थात् शखीद्वारा, यसअर्थमा शखीद्वारा हरण गरिएकी हिमालय पर्वतकी पुत्री पार्वतीले महावेद स्वामी पाउनका लागि गरेको व्रतलाई हरितालिका तिज भनिएको धार्मिक विश्वास छ ।

हिमालय पर्वतले विष्णुलाई कन्यदान दिन लागेको थाहा पाएर शखीहरूले पार्वतीलाई कसैले नदेख्ने ठाउँमा लुकाएर राखेको र सोही स्थानमा पार्वतीले निर्जला व्रत बसेको हुनाले यसलाई हरितालिका व्रत भन्ने गरिएको स्कन्द पुराणमा उल्लेख गरिएको छ ।

विवाहित महिलाले पतिको दिर्घायु तथा अविवाहितले शुयोग्य बर पाउनका लागि अघिल्लो दिन राति अवेर दर खाएर भोलिपल्ट तिजको दिन निराहार ब्रत बसेर शिवको पुजा गर्ने परम्परा रहेको छ ।

भाद्र शुक्ल द्वितीयाका दिन हिजो राति दर खाई आज तृतीयाका दिनदेखि शुरु हुने तीज पर्व पञ्चमीको दिन अरूनधत्तीसहित सप्तऋषिको पूजा गरेपछि सम्पन्न हुन्छ ।  दिनभरि पानी पनि नखाई निर्जल वा निराहार बस्ने व्रत भएकाले एक दिनअघि नाचगान रमाइलो गरी राति दरका रूपमा मीठा परिकार खाने गरिन्छ ।

हरितालिका तीजको दिन आज बिहानैदेखि देशभरका शिवालय तथा मन्दिरहरुमा ब्रतालुको भीड लागेको छ ।

यसैबीच तिज पर्वका अवसरमा पशुपतिनाथ मन्दिर दर्शन गर्न आउने भक्तजनका लागि सहज बनाउन चार स्थानबाट लामको व्यवस्था गरिएको छ ।  पशुपति क्षेत्र विकास कोषका अनुसार लाम व्यवस्थापन, स्वयंसेवक परिचालन, स्वास्थ्य शिविर एवं निःशुल्क पानी वितरण गरिएको छ ।  चार वटै सुरक्षा निकायले पशुपति क्षेत्रमा सुरक्षा दिएका छन् । 

यस वर्षको हरितालिका तिज पर्वका अवसरमा पशुपतिनाथको दर्शनमा आउने वर्तालु भक्तजनका लागि सहज बनाउन चार स्थानबाट लामको व्यवस्था गरिएको कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए ।

कोटेश्वर–तीनकुने–सिनामंगल क्षेत्रबाट आउने भक्तजनका लागि तिलगंगा पर्यटक टिकट काउन्टर क्षेत्रबाट प्रवेश गरी राममन्दिर–आर्यघाट क्षेत्र हुँदै पूर्वी ढोकाबाट पशुपतिनाथ मन्दिर प्रवेश गर्नेगरी पहिलो लामको व्यवस्था गरिएको छ । 

यो मार्गबाट छिरेका भक्तजन पूर्वी ढोकाबाट बाहिरिने छन् । यो मार्गबाट प्रवेश गर्ने भक्तजनको जुत्ता चप्पल आर्यघाट जाने वाग्मती नदीमाथिका दुई पुल पार गरेपछिको मध्यक्षेत्रमा राख्ने गरी व्यवस्था मिलाइएको छ । 

दोस्रो लाम मित्रपार्क क्षेत्रबाट प्रवेश गर्न पाउने गरी व्यवस्था गरिएको छ । यहाँबाट प्रवेश गर्ने भक्तजनको जुत्ता चप्पल शंकराचार्य मठअघिको क्षेत्रमा राख्ने व्यवस्था गरिएको कोषका प्रवक्ता अधिकारीले जानकारी दिए । तेस्रो लाम गौशाला–पिंगलस्थान–पञ्चदेवल क्षेत्रबाट अघि बढ्ने व्यवस्था मिलाइएको छ । यहाँबाट प्रवेश गर्ने भक्तजनको जुत्ता चप्पल बज्रघर अघिको भागमा राखिनेछ । 

चौथो लाम गुह्येश्वरी–उमाकुण्ड–कैलाश दक्षिण भाग हुँदै पशुपतिनाथ मन्दिरमा प्रवेश गर्नेछ । यो मार्गबाट प्रवेश गर्ने भक्तजनको जुत्ता चप्पल गुरु मन्दिर अघिको खुला भागमा राखिनेछ । 

बाहिर चार लाम भएपनि मूल मन्दिरभित्र प्रवेश गरेपछि प्रत्येक ढोकाबाट प्रवेश गर्नेका लागि दुईदेखि तीन वटासम्म लामको व्यवस्था गरिएको कोषका प्रवक्ता अधिकारीले जानकारी दिए । 

उनका अनुसार तिजका अवसरमा पशुपतिनाथ दर्शन गर्न आउने भक्तजनको लाम व्यवस्थापन गर्न कोषले अधिकृतस्तरका कर्मचारीलाई विशेष जिम्मेवारीसहित परिचालन गरेको छ । 

तिजका अवसरमा आज बिहान ३ बजेदेखि नै पशुपतिनाथका चारै ढोका खोलिएको कोष, संस्कृति संरक्षण महाशाखाका निमित्त प्रमुख ईश्वरमान भण्डारीले बताए । उनका अनुसार बिहानैदेखि भक्तजनलाई सहज रुपमा दर्शन गराउने व्यवस्थापन मिलाइएको छ । तिजका अवसरमा मूल मन्दिर क्षेत्रभित्र महिला प्रहरीमात्र खटाइएको छ । 

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise