२०८२ साउन १ गते बिहिवार / Jul 17 , 2025 , Thursday
२०८२ साउन १ गते बिहिवार
Ads

संक्रमणकालीन न्यायलाई टुंगोमा लगिन्छ, द्वन्द्वकालीन घटनाको पुनरावृत्ति हुन दिइँदैन : प्रधानमन्त्री

shivam cement
मध्यान्ह
२०८१ भदौ २१ गते १७:५४
संक्रमणकालीन न्यायलाई टुंगोमा लगिन्छ, द्वन्द्वकालीन घटनाको पुनरावृत्ति हुन दिइँदैन : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले पुनः स्थापित शान्ति प्रक्रियालाई दिगो बनाउँदै द्वन्द्वकालीन घटनाको पुनरावृत्ति हुन नदिनेतर्फ वर्तमान सरकार स्पष्ट रहेको बताएका छन् ।

संक्रणकालीन न्यायसँग सम्बन्धित विषयमा आज नेपाल समाजवादी पार्टीका संयोजक एवम् पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई नेतृत्वको प्रमण्डलको १९ बुँदे ध्यानाकर्षणपत्र बुझ्दै प्रधानमन्त्री ओलीले नेपाली जनतालाई जातीय आधारमा विभाजित गरेर र सामाजिकरुपमा घृणा/द्वेष फैलाएर राष्ट्रिय एकतालाई कमजोर पार्ने प्रयास सफल नहुने स्पष्ट गरेका हुन् ।

“जनताले उहिल्यै फाल्नुपर्ने राजतन्त्र आफ्नो रगतसँग साटेर बल्ल फालेका छन् । संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको छ । यो व्यवस्थालाई सबल तुल्याएर जनताको विकास, समृद्धि र स्थायित्वको चाहना पूरा गर्नुछ । त्यसकारण अहिले कुनै अराजकताले ठाउँ पाउने वा सत्ता समीकरणमा यताउता हुने सम्भावना छैन ।”

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको भेटमा प्रधानमन्त्री ओलीले भने, “कम्तीमा म प्रधानमन्त्री र नेकपा (एमाले)को अध्यक्ष रहुन्जेल अहिले चर्चामा ल्याइए जस्तोा नेपालमा बंगलादेश वा श्रीलंकामा भएका जस्ता घटना हुने स्थिति हुँदैनन् । मेरो अबको २२ महिने कार्यकालभित्र संक्रणकालीन न्यायलाई टुंगोमा लाने गरी काम गरिन्छ ।”

प्रधानमन्त्री ओलीले आफू पहिलेदेखि नै इमान्दाररुपमा शान्ति प्रक्रियालाई अन्तिम निष्कर्षमा लाग्न लागिपरेको र अहिले पनि थप पहल गरेर सत्य निरुपण तथा मेलमिलाप आयोग तथा बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगसम्बन्धी विधेयक पारित गर्दा पीडितलाई केन्द्रमा राखेर राजनीतिक सहमति जुटेको सुनाए ।

आफू सशस्त्र द्वन्द्वकालमा सत्ता पक्ष वा विद्रोही पक्षमा नरहेकाले निष्पक्ष भएर संक्रमणकालीन न्यायलाई टुंगोमा लाने अठोटमा रहेको स्पष्ट गर्दै प्रधानमन्त्री ओलीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विना आशंका यस प्रक्रियामा साथ दिनुपर्ने भनाइ राखे । अध्यक्ष दाहालले हालै प्रतिनिधिसभामा असंसदीय, असभ्य र लाञ्छनायुक्त अभिव्यक्ति दिएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले आफ्नो ध्यान भने जसरी पनि पीडितलाई न्याय दिने र मुलुकमा समृद्धि ल्याउनेमा रहेको बताए ।

संयोजक डा भट्टराईले दुई ठुला दलको सरकार बनेकाले संक्रमणकालीन न्याय टुंगोमा लाने अवसर भएकाले यसमा आफूहरुको साथ रहने अवगत गराए । सो अवसरमा उक्त पार्टीले ती विधेयकहरु पारित भएकामा स्वागत गर्दै आगामी प्रक्रियामा बृहत् सहमतिका साथ सत्यको अन्वेशण गर्न आग्रह गरेको छ । सो पार्टीले आयोगहरु गठन गर्दा राष्ट्रिय\अन्तर्राष्ट्रियरुपमा स्वीकार्य व्यक्तिलाई छनोट गर्न, आयोगमा पीडितको प्रतिनिधि राख्न र परिपूरणका विधि र मापदण्डबारे स्पष्ट हुनुपर्ने लगायत माग राखेको थियो ।

ADV

सम्बन्धित खबर

Advertise