२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

अनुदान नपाएपछि कैलालीमा उखु खेती घट्दै

Nada
२०८१ भदौ २२ गते १४:३३
Shares
अनुदान नपाएपछि कैलालीमा उखु खेती घट्दै

कैलाली : नगदे बालीका रूपमा खेती हुँदै आएको उखु बारीको क्षेत्र विस्तार हुन सकेको छैन । उखु खेतीमा संलग्न किसानलाई बिउ, मललगायत आवश्यक सामग्रीमा अनुदानका कार्यक्रम नहुँदा उखु खेती विस्तार हुन नसकेको हो ।

ncell

उत्पादित उखुको बजार अभाव भएकाले किसानको आकर्षण घट्दै गएको कृषि ज्ञान केन्द्र कैलालीले जनाएको छ । प्रदेश सरकारले जिल्लामा उखु खेतीमा संलग्न किसानलाई हालसम्म कुनै अनुदानका कार्यक्रम उपलब्ध नगराएको किसान बताउँछन् ।

विगतमा उखु खेती गर्दै आएका किसानले बिस्तारै अन्य खेती गर्न थालेका छन् । ज्ञान केन्द्रका अनुसार जिल्लामा २५ वर्षअघि सात सय हेक्टर क्षेत्रफलमा विस्तार भएको उखु खेतीको क्षेत्रफल घटेर दुई सय २५ हेक्टरमा पुगेको छ ।

केन्द्रका सूचना अधिकारी श्याम जोशीले जिल्लामा आव २०७८/७९ मा दुई सय २४ हेक्टरमा उखु खेती गरिएकामा उत्पादन आठ हजार तीन सय सात मेट्रिक टन, आव २०७९/८० मा दुई सय २४ हेक्टर खेती भएकामा नौ हजार चार सय ५० मेट्रिक टन उत्पादन भएको जानकारी दिए। उखु खेती गर्ने किसानलाई कृषि औजार, उपकरण, बिउलगायत अन्य अनुदानका कार्यक्रम उपलब्ध गराउन सके किसानको आकर्षण बढ्ने सूचना अधिकारी जोशीले बताए।

उखु खेती प्रवर्द्धन गर्न किसानलाई अनुदान रकमसँगै खेती गर्ने तरिका, आवश्यक औजार, उन्नत जातका बिउ र लगाउने विधिका बारेमा ज्ञान र सीप उपलब्ध गराउनुपर्ने घोडाघोडी नगरपालिका-४ का उखु किसान गणेश शाहीले बताए। उनले उखु खेतीमा बजारको अभाव भएकाले किसानले लागत अनुसार आम्दानी लिन नसकेपछि किसानको सङ्ख्या घट्दै गएको बताए।

विसं २०५४ मा चुहामा वासुलिङ सुगर मिल सञ्चालनमा आएपछि जिल्लामा उखु खेती गर्ने किसानको सङ्ख्या बढेको थियो । सो मिल बन्द भएसँगै यहाँका किसानले क्रमशः उखु खेती गर्न छोड्दै गएका हुन् ।

सुदूरपश्चिम प्रदेश भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको आव २०७९/८० को तथ्यांक अनुसार प्रदेशभर छ हजार एक सय ९७ हेक्टर क्षेत्रफलमा उखु खेती गरिँदै आएकामा तीन लाख ५९ हजार तीन सय २१ मेट्रिक टन उत्पादन भएको छ ।

प्रदेशमा सबैभन्दा बढी कञ्चनपुरमा पाँच हजार छ सय २५ हेक्टरमा खेती गरिँदै आएकामा तीन लाख ४३ हजार एक सय २५ मेट्रिक टन उत्पादन भएको तथ्यांकले देखाएको छ । कञ्चनपुर र कैलालीपछि बैतडीमा दुई सय ६० हेक्टरमा चार हजार एक सय ९० मेट्रिक टन उत्पादन भएको थियो । कञ्चनपुरमा उखु खेती विस्तारका लागि अनुदानका विभिन्न कार्यक्रम सञ्चालन गरिँदै आइएको छ ।

ताजा खबर

सम्बन्धित खबर