२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

निगलपानी क्षेत्रमा केन्द्रीय विद्युत् लाइन जोडियो

ADV
मध्यान्ह
२०८१ भदौ २४ गते ११:३८
निगलपानी क्षेत्रमा केन्द्रीय विद्युत् लाइन जोडियो

बागलुङ : नेपाल विद्युत् प्राधिकरणले बाढी प्रभावित क्षेत्रमा केन्द्रीय लाइन पुर्‍याएको छ । बडिगाड गाउँपालिका-१० मा बाढीले लघु जलविद्युत् बगाउँदा अन्धकारमा बस्दै आएका स्थानीयको सहजताका लागि केन्द्रीय लाइन पुर्‍याएको हो । 

गत साउन २२ गते आएको बाढीले क्षति पुर्‍याएको बडिगाड -१० दर्लिङ, निगलपानीलगायत क्षेत्रमा केन्द्रीय विद्युत् पुर्‍याएको विद्युत् प्राधिकरणका कार्यालय प्रमुख इन्जिनियर पवन पौडेलले जानकारी दिए। गत बुधबारदेखि अस्थायी कार्यालय सञ्चालन गरी एक सय ८२ मिटर वितरण गरिएको उनको भनाइ छ ।

यस क्षेत्रमा पहिले लघु जलविद्युत् आयोजनाबाट विद्युत् प्रयोग गर्दै आएकामा बाढीले पूर्ण रूपमा बगाएपछि सयौँ घरपरिवार अन्धकारमा थिए । बाढीले गाउँको धेरै स्थानमा क्षति पुर्‍याएको हुँदा गुल्मीको मुसिकोट, मालिका गाउँपालिका हुँदै दर्लिङमा लाइन जोडिएको प्रमुख पौडेलको भनाइ छ ।

गाउँमै पुगेर मिटर वितरण गरेको केन्द्रले अतिविपन्न परिवारलाई निःशुल्क मिटरबक्स प्रदान गरेको उनको भनाइ छ । करिब आठ सय घरपरिवारमध्ये तीन सय ५० घरमा सेवा पुगेको र अन्य घरमा पोल मर्मतसम्भार गरिरहेको हुँदा दसैँ अगाडि लाइन पुर्‍याउने पौडेल बताउँछन्।

बडिगाड गाउँपालिका-१० का अध्यक्ष वीरेन्द्र बुढामगरले एक महिनादेखि अन्धकारमा हरेका दर्लिङवासी केन्द्रीय लाइन आएपछि उज्यालो पाएको बताए। बाढीले गाउँमा धनजनसहित भौतिक पूर्वाधारमा क्षति पुर्‍याएको उनको भनाइ छ । बाढीमा परी ११ जनाको मृत्यु भएको थियो भने एक जनाको अवस्था अझै अज्ञात छ ।

ADVADV

सम्बन्धित खबर

Advertise