२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

एक वर्षमै फल्यो विदेशी स्याउ

ADV
मध्यान्ह
२०८१ भदौ २४ गते १३:०७
एक वर्षमै फल्यो विदेशी स्याउ

बागलुङ :  ढोरपाटन उपत्यकाबाट निसेलढोर जाने बाटोमा पर्ने मस गाउँमा पछिल्लो किसानले प्रविधिको प्रयोग गरी व्यावसायिक स्याउ उत्पादन गर्न थालेका छन् । विदेशबाट स्याउका बिरुवा ल्याएर लगाउन थालेपछि मसमा एकै वर्षमा स्याउ उत्पादन हुन थालेको हो ।

सडकको बायाँपट्टी ठूलो क्षेत्रफलमा लटरम्म फलेका थरिथरी जातका स्याउले भरिएको बगान फलामे तारले घेरिएको छ । वर्षौँअघिदेखि मस गाउँमा रैथाने जातका स्याउखेती गरिँदै आए पनि अपेक्षित उत्पादन हुन नसकेपछि विदेशबाट बिरुवा ल्याएर लगाउन थालिएको हो ।

ढोरपाटन नगरपालिका–९ का होमलाल भुसालसहितको समूहले थालेको व्यावसायिक स्याउखेती अहिले यहाँका अन्य किसानको अध्ययन गर्ने थलोका रुपमा विकास हुँदै गएको छ । मस गाउँसहित ढोरपाटनको नवी, भूजी, स्यालपाखे, काङ, निसेलढोरको कुँडेलगायत ठाउँमा करिब डेढ दशकदेखि स्याउखेती थालिएकामा अहिले उत्पादनमा किसान केन्द्रित हुन दिन थालेका हुन् । 

अहिले गाउँका अन्य किसानले पनि नयाँ प्रविधिको प्रयोग गरि स्याउखेती गर्न थालेका छन् । पछिल्लो समय रैथाने खेती गर्ने किसानले पनि व्यावसायिक खेतीप्रति चासो दिन थालेका हुन् ।

ढोरपाटन–९ का होमलाल भुसालसहित चिरन घर्ती, कमानसिंह बुढा,  झिरमती घर्ती, रुद्र घर्ती र चकेन्द्र घर्तीले सुरु गरेको स्याउ खेतीलाई जिल्लास्थित कृषि ज्ञान केन्द्रले पनि लगानी गरेको छ । उनीहरुले एक वर्ष अघि एक हजार तीन सय बिरुवा इटालीबाट ल्याएर लगाएका थिए । कृषि निर्देशनालयबाट ७५ प्रतिशत अनुदानमा बिरुवा पाउने भएपछि दुई वर्ष अघिदेखि स्याउखेती गर्न जग्गा भाँडामा लिएर सम्याउने काम गरेको होमलालले बताए । 

उनले बिरुवा लगाएको एक वर्षमा करिब रु एक लाख ५० हजारको स्याउ उत्पादन भएको भन्दै अब केही दिनमा टिपेर बजार पठाउने जानकारी दिए । 

कृषि ज्ञान केन्द्रका प्रमुख राजेश्वर सिलवालले मस गाउँमा इटालियन स्याउ उत्पादन हुने राम्रो हावापानी भएकाले किसानलाई प्रोत्साहन गरी व्यावसायिक बनाउन थालिएको बताए ।  कृषि निर्देशनालयले इटालीबाट ल्याएको गोल्डेन, गाला, फूजी र रेड जातको स्याउका बिरुवा सहयोग गरेको भन्दै केन्द्रले स्याउलाई आवश्यक पर्ने प्राविधिक ज्ञान, मल, सिँचाइलगायतमा सहयोग गरेको उनले जानकारी दिए । 


 

ADVADV

सम्बन्धित खबर

Advertise