२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

डेंगु सङ्क्रमण तीव्र, जोगिने कसरी ?

ADV
मध्यान्ह
२०८१ भदौ २५ गते १०:३३
डेंगु सङ्क्रमण तीव्र, जोगिने कसरी ?

गण्डकी  : गण्डकी प्रदेशमा डेंगु सङ्क्रमण तीव्र भइरहेका बेला उक्त रोगको सङ्क्रमणबाट जोगिन विशेष सावधानी अपनाउन चिकित्सकले सुझाएका छन् । सङ्क्रमण जटिल बनेर मानिसको मृत्युसमेत हुनसक्ने भएकाले उक्त रोग सार्ने लामखुट्टेको टोकाइबाट बच्नु नै डेंगुबाट बच्ने उत्तम उपाय भएको उनीहरूको भनाइ छ ।

धौलागिरि उपप्रादेशिक अस्पतालका प्रमुख चिकित्सक रविरञ्जन प्रधानले डेंगु सङ्क्रमण हुँदैमा आत्तिइहाल्नु नपर्ने बताए। डेंगु सङ्क्रमणपछि बान्ता भइरहने, नाकबाट रगत आउने, कालो दिसा हुने, थकानजस्ता लक्षण देखिए चिकित्सकको विशेष निगरानीमा उपचार गर्नुपर्ने उनको भनाइ छ । डेंगु भएमा आराम गर्ने, पानीलगायत झोलिलो प्रशस्त पदार्थ पिउने र जथाभावी औषधि सेवन गर्न नहुने प्रमुख चिकित्सक प्रधानले बताए ।

गर्भवती र बालबालिकामा डेंगुको सङ्क्रमण भएमा स्वास्थ्यमा जटिलता निम्तनसक्ने उनको भनाइ छ । “अधिकांश सङ्क्रमित सामान्य उपचारपछि निको हुन्छन्, कतिपयमा डेंगुले जटिलता ल्याउन सक्छ, सामान्य रोग हो भन्ने सोचेर लापरबाही गरेमा ज्यानै जोखिममा पर्न सक्छ”, उनले भने ।

डेंगु सार्ने ‘एडिस एजिप्टाइ’ जातको पोथी लामखुट्टे जमेको सफा पानीमा बस्ने हुँदा घर, कार्यालय र सार्वजनिकस्थलमा पानी जम्न दिन नहुने उनको भनाइ छ । डेंगुको भाइरस फैलाउने लामखुट्टे खाल्डाखुल्डी, टायर, भाँडाकुँडा, ड्रम आदिमा जम्मा भएको सफा पानीमा बस्ने हुँदा तिनलाई खाली गन्नुपर्ने प्रमुख चिकित्सक प्रधानले बताए ।

हिमालपारिको जिल्ला मुस्ताङबाहेक प्रदेशका सबै जिल्लामा डेंगुको सङ्क्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । निर्देशनालयको तथ्याङ्कअनुसार गत पुसयता पाँच हजारभन्दा बढीमा डेंगुको सङ्क्रमण पुष्टि भएको छ । डेंगु सङ्क्रमणबाट कास्कीमा दुई र तनहुँमा एक जनाको मृत्यु भएको छ । तनहुँ, कास्कीलगायत जिल्ला डेंगु सङ्क्रमणबाट बढी प्रभावित छन् ।

पछिल्लो तीन महिनामा डेंगु सङ्क्रमणको दरलाई हेर्दा आगामी दिनमा सङ्क्रमणको जोखिम थप तीव्र हुने देखिएको जिल्ला स्वास्थ्य कार्यालय कास्कीका प्रमुख रामबहादुर नेपालीले बताए । उनका अनुसार असारदेखि कात्तिकसम्म डेंगुको सङ्क्रमण बढी फैलने गर्छ । समयमा जोखिम न्यूनीकरण र नियन्त्रण गर्न नसके डेंगुले महामारीको रूप लिन सक्ने प्रमुख नेपालीले बताए ।

“डेंगुलाई सामान्य रूपले नसोचौँ, यसका अप्रिय उदाहरण हामीसँग छन्”, उनले भने, “डेंगु भइसकेपछि अचाक्ली पीडा हुन्छ, उपचार र हेरचाह पुगेन भने स्वास्थ्य अवस्था जटिल बन्दै गएर बिरामीको मृत्युसमेत हुनसक्छ ।”

डेंगु रोकथाम र नियन्त्रणका लागि सबै पक्ष सचेत र जिम्मेवार हुनुपर्ने प्रमुख नेपालीको भनाइ छ । यस रोगबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नु सबैभन्दा उत्तम उपाय भएको प्रमुख नेपालीले बताए । चार प्रकारको भाइरसबाट मानिसमा डेंगु सङ्क्रमण हुने गरेको उनले बताए । उक्त लामखुट्टे जम्मा भएको सफा पानीमा फुल पार्ने र लार्भा जन्माउने गरेको उनको भनाइ छ । यो लामखुट्टेले दिनमा मात्र टोक्ने गरेको उनले बताए।

सङ्क्रमण बढ्दै जान थालेपछि स्वास्थ्य मन्त्रालय, मातहतका स्वास्थ्य कार्यालय, स्थानीय तहलगायत निकायले लामखुट्टेको बासस्थान नष्ट गर्ने अभियान सञ्चालन गरिरहेका छन् । डेंगु फैलाउने उक्त लामखुट्टेको जीवनचक्र खल्बल्याउन ‘खोज र नष्ट गर’ अभियान सञ्चालन गरिएको हो । कास्कीको पोखरा महानगरपालिकासहित यहाँका स्थानीय तह समुदायमा सरसफाइ सचेतनासहित डेंगु रोकथाममा जुटेका हुन् ।

ADVADV

सम्बन्धित खबर

Advertise