काठमाडौं : आईसीसी टी-२० विश्वकप एसिया छनोटमा नेपाल घरेलु टोली सिंगापुरसँग पराजित भएको छ । आइतबार भएको खेलमा नेपाललाई ८२ रनले पराजित गर्दै सिंगापुर विश्वकप ग्लोबल छनोटमा पुग्न सफल भएको छ । सिंगापुरसँग पराजित भएसँगै अष्ट्रेलियामा अर्को वर्ष आयोजना हुने टी-ट्वान्टी विश्वकप खेल्ने नेपालको सपना सकिएको छ ।
ईण्डियन एसोसियसन क्रिकेट मैदानमा सिंगापुरले दिएको १९२ रनको फराकिलो लक्ष्य पछ्याएको नेपाल १५ ओभरमा अलआउट हुँदै १०९ रनमा समेटियो ।
उत्कृष्ट सुरुवात गरेपनि मध्येक्रमका ब्याट्सम्यान चल्न नसक्दा नेपाल पराजित भयो । नेपालले २७ रन जोड्दा पहिलो विकेटको रुपमा कप्तान पारस खड्कालाई १२ रनमा गुमाएको थियो । ५४ रन जोड्दा नेपालले ज्ञानेन्द्र मल्ललाई ३९ रनमा गुमाएको थियो ।
पारस र ज्ञानेन्द्रपछि नेपालका दिपेन्द्र सिंह ऐरीले २३ तथा सोमपाल कामीले ११ रन बनाए । अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् । नेपाललाई सस्तैमा समेट्न सिंगापुरका सिलाडोरे विजयकुमारले २५ रन खर्चेर ४ विकेट लिए भने भिनोद भास्करणले २ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुरले पुरै २० ओभर खेल्दै ६ विकेट गुमाएर १९१ रन बनाएको थियो । खराब सुरुवात गरेपनि रोहन रंगराजन र टिम डेभिडले सिंगापुरको इनिङ्स उकासेका थिए । मात्र १० रन जोड्दा पहिलो विकेट गुमाएको सिंगापुरका लागि रोहन र टिमले दोस्रो विकेटका लागि ८९ रनको साझेदारी गरेका थिए ।
सिंगापुरको उच्च स्कोरमा टिमले ७७ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै रोहनले ४९ रन जोड्दा मनप्रित सिंहले ४२ रन जोडे ।
नेपालका अविनास बोहराले ४ विकेट लिए । करण केसीले २ विकेट लिए । नेपालका बसन्त रेग्मी महंगा साबित भए । उनले ४ ओभरमा ५४ रन खर्चेर विकेट लिन सकेनन् । यस्तै सन्दीप लामिछानेले ३ ओभरमा ३४ रन खर्चिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies