२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

सहुलियत पसल असोज पहिलो साता खुल्ने, खसी बोका र च्याङग्राको संख्या घट्ने

ADV
छबि सापकोटा
२०८१ भदौ २५ गते २१:२२
सहुलियत पसल असोज पहिलो साता खुल्ने, खसी बोका र च्याङग्राको संख्या घट्ने

काठमाडौं : सरकारले आउँदै गरेको चाडपर्व दशैं–तिहारलाई लक्षित गरी सहुलियत मूल्य पसल असोजको पहिलो सातादेखि सञ्चालन गर्ने भएको छ । सरकारी संस्थान खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनले चाडपर्व लक्षित सुपथ मूल्य पसल असोज ७ गते देखि सञ्चालन गर्ने गरी गृहकार्य शुरु गरेको हो ।

उद्योग, वाणिज्य, तथा आपूर्ति मन्त्रालय अन्तरगत पर्ने खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, साल्ट ट्रेडिङ कर्पोरेसन र कृषि तथा पशुपन्छी विकास मन्त्रालय मातहतको दुग्ध विकास संस्थानको सहकार्यमा सहुलियत पसल सञ्चालन हुने गरेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडकी सुचना अधिकारी सर्मिला न्यौपाने सुवेदीले ४२ जिल्लाका करिब ६० स्थानमा सुपथ पसल सञ्चालनको तयारी भएको बताइन् । ‘सुपथ पसल सञ्चालनको तयारी शुरु गरेको छौं । विशेषगरी दशैंको लागि चाहिने खसी, बोका च्याङग्रा किन्ने तयारी भइरहेको छ, छुट सहुलियत र स्थान तयको विषयमा छलफल मै छौं’, मध्यान्हसँग उनले भनिन् ।

अत्यावश्यक खाद्य वस्तुहरुको बजार मूल्य नियन्त्रण र गुणस्तरीयता कायम गरी सरल, सहज र सर्वसुलभ रुपमा उपभोक्तालाई दैनिक उपभोग्य वस्तु बिक्री गर्ने लक्ष्यका साथ हरेक वर्ष चाडपर्व लक्षित सहुलियत पसल सञ्चालन हुँदै आएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले यो दशैंका लागि १५ सय खसीबोका र  मुस्ताङबाट ३ सय च्यांग्रा ल्याउने तयारी गरेको छ । घटस्थापनाको अघिल्लो दिनसम्म खसीबोका तथा च्यांग्रा ल्याइ सक्ने र बिक्री थाल्ने गरी तयारी भएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले जनाएको छ । कम्पनीले खसीबोका र च्यांङग्रा खरीदका लागि ४ करोड रुपैयाँ बजेट समेत छुट्टाएको छ । कम्पनीले गत वर्ष २ हजार खसीबोका ल्याएको थियो भने ५ सय ४२ च्याङग्रा ल्याएको थियो । जसका लागि ८ करोड रुपैयाँ बराबर बजेट छुट्याइएको थियो । 

गत वर्षको तुलनामा खसीबोका तथा च्याङग्रा बिक्री नहुँदा ठूलो घाटा लागेपछि अहिले कम खरिद गर्न लागेको कम्पनीले जनाएको छ । सुपथ मूल्य पसल चामल, दाल, गहुँ, आटा, पिठो, मैदा,े तेल, चिउरा, गेडागुडी देखि नुन, चिनी लगायतका अति आवश्यक खाद्य बस्तु बिक्रिका लागि राख्ने गरिएको छ । गत वर्ष उपत्यका भित्र निःशुल्क अनलाइन होम डेलिभरी, घुम्ती सेवाबाट विक्री वितरण गर्ने तयारी भइरहेको कम्पनीले जनाएको छ ।

यस्तै साल्ट ट्रेडिङ कर्पोरेसन र खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई सरकारले ५० प्रतिशत भन्सार महसुल छुटमा  ३० हजार मेट्रिकटन चिनी आयात गर्न स्वीकृति दिएको छ । साल्ट ट्रेडिङ र खाद्यलाई १५–१५ हजार मेट्रिकटन चिनी आयात गर्दा लाग्ने भन्सार महसुलमा ५० प्रतिशत छुट दिने निर्णय समेत गरेको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise