२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

सन्धिखर्कमा निःशुल्क आँखा शिविर : पहिलो दिन ४८ जनाको शल्यक्रिया

ADV
सुर्य प्रसाद भुसाल
२०८१ भदौ २५ गते २१:३७
सन्धिखर्कमा निःशुल्क आँखा शिविर : पहिलो दिन ४८ जनाको शल्यक्रिया

अर्घाखाँची : अर्घाखाँची सदरमुकाम सन्धिखर्कमा २ दिने आँखाको  मोतिबिन्दु सम्बन्धी निःशुल्क शल्यक्रिया शिविर शुरु भएको छ । अर्घाखाँची दिगो विकास केन्द्र र रोटरी क्लव अफ महाराजगञ्ज काठमाडौंको आयोजनामा सन्धिखर्कमा शिविरको आयोजना गरिएको हो । 

शिविरमा मोतिबिन्दु लगायत आँखाका  अन्य  रोगका बिरामीहरुले आँखाको परीक्षण गराउन पाउँदा खुसी भएको बताएका छन् । 

पछिल्लो समय अर्घाखाँचीमा आँखाको मोतिबिन्दुका बिरामीको संख्या बढ्दै गएकाले यसको रोकथाम र उपचारका लागि सबै पक्ष जिम्मेवार हुने समय आएकोले सन्धिखर्क नगरपालिका नगर प्रमुख कृष्ण प्रसाद श्रेष्ठले बताए । 

नगरपालिकाले नागरिकसँग जोडिने हरेक किसिमका सेवा प्रवाहको लागि समन्वय गरेर काम गर्न तयार रहेकोले नगरपालिकाका हरेक ठाउँमा शिविर राखेर उपचार गर्न आयोजक संस्थाका प्रमुख प्रतिनिधिलाई नगर प्रमुख श्रेष्ठले अनुरोध गरेका थिए ।

कार्यक्रममा बोल्दै नगरप्रमुख श्रेष्ठले आगामी शिविरमा उपचारबाट बञ्चित भएका व्यक्तिलाई पहिलो प्राथमिकतामा राखेर नगरभित्र रहेका नागरिकलाई उपचारको पहुँचमा ल्याउने नगरपालिकाले तयारी गरेको जिकिर गरे । 

राष्ट्रिय योजना आयोगका बोर्ड सदस्य डाक्टर जयबहादुर टन्डनले काठमाडौं  बसेर पनि विगत ४ वर्षदेखि अर्घाखाँची  जिल्लाका ग्रामीण तहसम्म स्वास्थ्य शिविर गर्दै आएको  र देशका हरेक ठाउँमा रहेको  नागरिकहरुलाई स्वास्थ्य शिविरमार्फत सहयोग उपलब्ध गराएको  जानकारी दिए । 

यसअघि छत्रदेव गाउँपालिका,मालारानी गाउँपालिकामा विशेषज्ञ डाक्टर सहितको शिविर आयोजना गरेको उनले बताए । जुन शिविरबाट जो उपचारको लागि सदरमुकाम सन्धिखर्कसम्म पनि आउन नसकेका बिरामीले पनि सेवा लिएको उनको भनाइ छ ।

‘जिल्लाबाट बुटवल, काठमाडौं लगायतका क्षेत्रमा आँखाको शल्यक्रिया गर्न जाँदा बिरामीको ३५ हजारदेखि ४० हजार खर्च हुने गरेको पाइएको छ । यहाँ हामीले निःशुल्क शिविर गरेका छौं’ उनले भने, ‘यसबाट बिरामी खुशी भएका छन् ।’

यो अभियानबाट ५ वर्षमा ५ सय बढीलाई सेवा दिने उद्देश्य रहेको दिगो विकास केन्द्र अर्घाखाँचीका उपाध्यक्ष डा.मुक्तीराम श्रेष्ठले बताए । दिगो विकास केन्द्र अर्घाखाँचीले जिल्लाका विभिन्न स्वास्थ्य चौकीमा आवश्यक उपकरण पनि प्रदान गर्दै आएको छ । जो आर्थिक अवस्था कमजोर भएकै कारण उपचार गराउन सकेका हुँदैन् । त्यस्ता बिरामीलाई प्राथमिकतामा राखेर उपचार गरेको डा.श्रेष्ठको भनाइ छ ।

निमित्त प्रमुख जिल्ला अधिकारी मेघनाध पाध्यले बाहिरी वातावरण नदेख्नेहरुले यो अभियान अन्तर्गत उपचार पाएपछि देख्न पाउँदा फरकपनको महसुस हुने बताए ।

जिल्ला आँखा अस्पतालका प्रमुख सागर घिमिरेले विगत ४ वर्षदेखि यो संस्थाको समन्वयमा निःशुल्क सेवा प्रदान गर्दै आएको बताए । नेपाल नेत्र ज्योति संघ अर्घाखाँचीका अध्यक्ष दलबहादुर केसीले पहिला अर्घाखाँचीमा आँखाको शल्यक्रिया सेवा नहुँदा जिल्ला बाहिर जानुपर्ने बाध्यता रहेको बताए । 

यो शिविरबाट १ सय बढीलाई सेवा दिने लक्ष्य रहेको छ । शिविरमा नेपाल ग्लोबल मेडिकल फाउण्डेसन अस्ट्रेला र दिल कुमारी केसी मेमोरियल फाउण्डेसन काठमाडौंको आर्थिक सहयोग र जिल्ला आँखा अस्पताल अर्घाखाँचीको प्राविधिक सहयोग रहेको छ । सन्धिखर्क नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष माधव श्रेष्ठ,समाजसेवी जगन्नाथ भुसाल, राजेन्द्र केसी लगायतको सहभागीता रहेको कार्यक्रम नेत्र प्रसाद भुसालको सञ्चालनमा उद्घाटन सम्पन्न भएको हो ।

ADVADV

सम्बन्धित खबर

Advertise